सिबिडिसी आएपछि बैंकहरुले नयाँ–नयाँ भुक्तानीका उपकरणहरु थप गर्न सक्छन् : निर्देशक धुँजु

सिबिडिसी आएपछि बैंकहरुले नयाँ–नयाँ भुक्तानीका उपकरणहरु थप गर्न सक्छन् : निर्देशक धुँजु


काठमाडौं– नेपाल राष्ट्र बैंकका निर्देशक कृष्णराम धुँजुले सिबिडिसी आएपछि बैंकहरुले नयाँ– नयाँ भुक्तानीका उपकरणहरु थप गर्न सक्ने बताएका छन्। नेशनल बैंकिङ्ग डिस्कोर्स २०२४ को चौथो सत्र ‘नेपालमा डिजिटल इकोसिस्टम वर्तमान परिदृश्य र क्रस बोर्डर पेमेन्टका चुनौती’ लाई सम्बोधन गर्दै उनले कागजी मुद्रामा गर्न नसक्ने कामहरु सिबिडिसी आएपछि सहजै गर्न सकिने बताएका हुन्।

उनले सिबिडिसी भनेको नेपालको लागि निकै नयाँ विषय भएको बताएका छन्। उनकाअनुसार सिबिडिसी केन्द्रीय बैंकले कागजी मुद्रा निकालेकाे छ । त्यसको डिजिटल स्वरुप मात्रै हो। सिबिडिसी आइसकेपछि पेमेन्ट इकोसिस्टममा नयाँ फाइनल सेटलमेन्ट एसेस्ट थपिने उनको बुझाइ छ। उनले यो आएपछि अहिलेको पेमेन्ट सिस्टममा के हुन्छ भन्ने कुरा सबैलाई कौतुहलताको विषय भएकाे बताउँदै सिबिडिसी जारी गर्दा विद्यमान नीतिका संरचनाहरुलाई केही हानी गर्न नहुने र अहिलेको संरचना जसरी चलिरहेको छ त्यसरी नै सिबिडिसी आउनुपर्छ भन्ने मान्यता रहेको उल्लेख गरे।

उनले यो सिस्टम आउँदा ई–बैंकिङ्ग, मोबाइल बैंकिङ्ग लगायतका अरु नचल्ने हुन् कि भन्ने कुरा नभएको पनि जानकारी दिएका छन्। निर्देशक धुँजुले अहिले भएका भुक्तानीका उपकरणहरु सँगसँगै सिबिडिसी सञ्चालनमा आउने र यसले अन्य भुक्तानीका उपकरणहरुलाई एउटा ओभरलेस सर्भिसको रुपमा विकास गर्न सहयोग गर्ने बताए । उनले यसको उद्धेश्य भनेको नयाँ सेवाहरुको आविष्कार गर्नु रहेको उनले बताए । २००७ देखि नीजि क्रिप्टो करेन्सीहरुको विकास हुँदै जाँदा सर्वसाधरणले त्यसलाई रुचाएसँगै डिजिटल भुक्तानीहरु पनि बढ्दै गएका थिए। उनले विशेषगरी कोभिड आएपछि डिजिटल भुक्तानीको डिमान्ड ह्वात्तै बढेको जानकारी दिए ।

उनले केन्द्रिय बैंकको भूमिका देशको अर्थतन्त्रलाई दिशा दिनु पनि रहेको बताए। त्यो दिशा दिने समयमा एक महत्वपूर्ण कुरा भनेको पैसाको आपूर्ति रहेको उल्लेख गरे। निर्देशक धुँजुले हाम्रो छिमेकी मूलुक भारत र चिनले पनि सिबिडिसीको प्रयोग गरेको भन्दै महत्व दर्साउने बताए। उनले २०२२ मा नेपाल राष्ट्र बैंकले सिबिडिसी कारे गरेको अध्ययनले भुक्तानी प्रणलीमा ठूलो फड्को मार्न सक्ने देखाएसँगै यसको कुरा अघि बढाइएको बताए। उनले हालको राष्ट्र बैंक ऐनले कागजी मुद्रालाई मात्रै कानूनी अधिकार दिएको कारण सिबिडिसी प्रयोगमा सहजता ल्याउन राष्ट्र बैंक ऐन र बाफिया संशोधनको लागि प्रस्ताव गरिसकेको पनि बताए । उनले सिबिडिसी ल्याउनैका लागि ल्याउने र रहरले ल्याउन लागेको नभएको बताएका छन्।

उनले सिबिडिसी लागू भएपछि पनि नेपाल राष्ट्र बैंकले हालको झै इस्यु गरेर बैंकहरुलाई दिने बताए। उनले त्यो करेन्सीलाई व्यक्तिसम्म पुर्याउने काम बैंक तथा फिन्टेकहरुको हुने उनले उल्लेख गरे।