काठमाडौं– नेपाल राष्ट्र बैंकले शुक्रबार चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिको समीक्षा गरेको छ। राष्ट्र बैंककाे मौद्रिक नीतिको समीक्षासँगै केन्द्रीय बैंकले लिएको नीतिले अर्थतन्त्र चलायमान हुने दावी गरिएकाे छ।
वार्षिक मौद्रिक नीतिमा लिइएको सजगतापूर्वक लचिलो कार्यदिशालाई तेस्रो त्रैमासिक समीक्षामा पनि निरन्तरता दिएको राष्ट्र बैंकले विभिन्न नयाँ व्यवस्था लागू गरेको छ। राष्ट्र बैंकले घरजग्गा खरिद प्रयोजनमा लचिलो नीति लिएको छ। केन्द्रीय बैंकले घरजग्गाको ऋणमा सहजिकरण गर्दै हालको ५० प्रतिशतको सिमालाई बढाएर ७० पुर्याएको हो।
केन्द्रीय बैंकले घरजग्गा कारोबारमा देखिएको शिथिलताका कारणले आन्तरिक मागमा अपेक्षित विस्तार हुन नसकेको उल्लेख गर्दै घरजग्गा कारोबारमा जोड दिएको हो। राष्ट्र बैंकले घरजग्गा कारोबारमा देखिएको समस्याले नेपालको समग्र आर्थिक वृद्धिदर कम नै रहने देखिएको भन्दै यस्तो नीति लिएको हो ।
नेपाल घरजग्गा व्यवसायी तथा आवास विकास समितिका अध्यक्ष भेसराज लोहनीले आफूहरूले मौद्रिक नीतिको व्यवस्थालाई स्वागतयोग्य रूपमा लिएको बताएका छन्। उनले यो व्यवस्थाले घरजग्गा किन्नेहरूलाई सहयोग गर्ने आशा राखेको बताउँदै अप्रत्यक्ष रूपमा भने रियल स्टेट व्यवसायीहरूलाई पनि सहयोग गर्ने बताएका छन्। ‘यो विषय एकदमै स्वागतयोग्य छ तर यतिले मात्रै पुग्दैन’ उनले भने।
त्यस्तै, नेपाल राष्ट्र बैंकले बैंकहरूको पुँजी कोष थप सुदृढ गर्न सहजीकरण गर्ने भएको छ। पर्याप्त लगानीयोग्य रकम भएर पनि कर्जा दिन नसकेका बैंकहरूलाई राष्ट्र बैंकले वैकल्पिक औजार मार्फत पुँजी थप गर्ने बाटो खोल्ने भएको हो। राष्ट्र बैंकले पूँजीकोष व्यवस्थापनको वैकल्पिक औजार प्रयोगमा सहजीकरण गर्ने बताएको हो।
साथै, राष्ट्र बैंकले हायर पर्चेज प्रकृतिका सवारी साधन कर्जाको जोखिम भार पनि घटाएको छ। केन्द्रीय बैंकले १२५ प्रतिशत रहेको जोखिम भार १०० प्रतिशत कायम गरेको हो । ‘बैंक तथा वित्तीय संस्थाले प्रवाह गर्ने विद्यमान १२५ प्रतिशत जोखिम भार रहेका हायर पर्चेज प्रकृतिका सवारी साधन कर्जाको जोखिम भार घटाई १०० प्रतिशत कायम गरिनेछ’ मौद्रिक नीतिमा उल्लेख छ।
नाडा अटोमोवाइल एशोसिएशन अफ नेपालका सभापति समेत रहेका अटो व्यवसायी अनुप बरालले बैंकहरुले आफु सुरक्षित भएर हायर पर्चेजमा लगानी गर्छन् कि भन्ने आशमा रहेको बताए। उनले आफूहरूले विगतदेखि नै ७५ प्रतिशतको जोखिम भार माग गर्दै आएको समेत बताएका छन् । ‘बैंकहरुले १२५ प्रतिशतको जोखिम भार हुँदा लगानी गर्न हच्किरहेको अवस्था थियो’ उनी भन्छन्, ‘१०० प्रतिशत जोखिम भार बनाउँदा बैंकहरुले आफूलाई हायर पर्चेजमा लगानी गर्ने वातावरण बन्छ ।’ उनले बैंकहरुले राष्ट्र बैंकको नियम मान्नै पर्ने भएकाले १२५ प्रतिशतको जोखिम भार हुँदा खुलेर लगानी नगरेको र २५ प्रतिशत घटेसँगै बैंकहरु पनि सहज भएर हायर पर्चेज कर्जा लगानीमा गर्छन् भन्ने आशा रहेको बताए। त्यस्तै,मौद्रिक नीतिमा बैंक तथा वित्तीय संस्थाहरुको १ वर्ष अवधि व्यतीत भईसकेका लगानी मध्येबाट एक आर्थिक वर्षमा आफ्नो प्राथमिक पुँजीको २० प्रतिशतसम्म बिक्री गर्न पाउने व्यवस्था मिलाइने उल्लेख छ ।
राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरु प्रसाद पौडेलले नेपाल राष्ट्र बैंकले पुँजीकोषको दबाबमा रहेका बैंकहरुलाई केही राहत दिने गरी नीति लिएको बताएका छन्। उनले मौद्रिक नीतिको समीक्षा गर्दै केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाहरुको पुँजी कोष थप सुदृढ गर्ने सम्बन्धमा अतिरिक्त उपकरणहरु प्रयोगमा ल्याउन आवश्यक सहजीकरण गरिने नीति लिएको बताए।
त्यस्तै, नेपाल राष्ट्र बैंकले असल वर्गमा वर्गीकरण भएका कर्जाहरुको लागि नोक्सानी व्यवस्था १.२० प्रतिशत कायम गरेको छ । राष्ट्र बैंकले असल कर्जाको प्रोभिजन ०.०५ प्रतिशतले घटाउँदा हालसम्म कुल ४५ खर्ब २० अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका वाणिज्य बैंकहरुको नाफा २ अर्ब २६ करोड रुपैयाँ थपिन्छ ।
‘बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित असल वर्गमा वर्गीकरण भएका कर्जाहरुकोलागि गर्नुपर्ने विद्यमान कर्जा नोक्सानी व्यवस्था १.२५ प्रतिशतबाट घटाई १.२० प्रतिशत कायम गरिनेछ ।’ मौद्रिक नीतिमा भनिएको छ।
साथै, राष्ट्र बैंकले आन्तरिक तथा बाह्य आर्थिक स्थिति र परिदृश्य समेतका आधारमा विद्यमान ५.५ प्रतिशतको बैंकले नीतिगत दर, ब्याजदर करिडोर अन्तर्गतको ३.० प्रतिशतको निक्षेप संकलन दर र ७.० प्रतिशतको बैंक दरलाई यथावत् राखिएको जनाएको छ । केन्द्रीय बैंकले विद्यमान अनिवार्य नगद अनुपात र वैधानिक तरलता अनुपातसम्बन्धी व्यवस्थालाई यथावत् राखेको छ भने ब्याजदर करिडोरलाई प्रभावकारी बनाउन स्थायी निक्षेप सुविधा प्रदान गर्ने व्यवस्थामा आवश्यक पुनरावलोकन गरिने उल्लेख गरेको छ। मौद्रिक नीतिको समीक्षाले अर्थतन्त्र चलायमान भएर जाने कुरामा राष्ट्रबैंकका साथै सरोकारवालाका समेत आशावादी देखिन्छन्।
प्रतिक्रिया