काठमाडौं– पछिल्लो समय नेपालका बैंक तथा वित्तीय क्षेत्रमा प्रविधिको प्रयोग बढ्दै गएको छ । प्रविधिको प्रयोगले बैंक तथा वित्तीय क्षेत्रमा कारोबार गर्नेहरूलाई सहज हुँदै गएको छ भने केही चुनौतीहरू पनि देखा पर्दै आएका छन् । लघुवित्त बहसको यो शृङ्खलामा हामीले लघुवित्त क्षेत्रमा प्रविधिको प्रयोग के कस्तो छ ? लघुवित्त संस्था पछिल्लो समय किन धेरै विवादित भए ? लगायतका विषयमा लघुवित्त क्षेत्रका विज्ञ एवम् स्वावलम्बन लघुवित्त वित्तीय संस्थाकी निर्देशक उमा जोशी बोहरासँग कुराकानी गरेका छौँ । प्रस्तुत छ उनै बोहरासँग बैंकिङ्ग समाचारका लागि रोजिना काप्रीले गरेको कुराकानीको सम्पादित अंश :
दूर दराजका पिछडिएका वर्गसम्मका मानिसहरूलाई वित्तीय पहुँच पुर्याउने, वित्तीय क्षेत्रसँग जोड्ने, महिला सशक्तीकरण लगायतका उद्देश्यले खोलिएको लघुवित्त संस्थाहरू आज यती धेरै विवादित किन ?
लघुवित्त संस्था भनेको त्यस्तो वर्गलाई लक्षित गरिएको हो जुन वर्ग बैंकिङ्ग पहुँचमा जान ज्ञानको अभाव छ, बैंकिङ्ग शिक्षा छैन, धितो राख्न कुनै सम्पत्ति छैनन् । दुर दराजका लक्षित वर्गलाई नेपाल राष्ट्र बैंकले लघुवित्त संस्थामा आबद्ध गरेर वित्तीय पहुँच पुर्याएर आर्थिक अभिवृद्धिका माध्यमबाट सामाजिक न्यायको प्रत्याभूति गराउँदै आर्थिक अवस्था सुधार गर्ने गरि कार्य गर्न निर्देशन पनि दिएको छ ।
लामो समयदेखि तपाई वित्तीय साक्षरताका कार्यक्रम सञ्चालन गर्दै आउनुभएको छ । तर अहिले लघुवित्त क्षेत्रमा देखिएको जुन समस्या छ त्यसलाई हेर्दा त लघुवित्तका सदस्यहरूमा वित्तीय साक्षरताको कमी हो कि भन्ने नि देखिन्छ नि ?
राष्ट्र बैंकले वित्तीय पहुँच भएपछि सर्वसाधारणले कुनै पनि बैंकिङ्ग सेवा लिन्छन् भने त्यहाँ वित्तीय साक्षरता कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने छ । बचत के हो ? कर्जा लिएर के गर्ने ? बचत कसरी प्रयोग गर्ने, कर्जा लिएर कसरी आर्थिक अवस्था सुधार गर्न सकिन्छ भनेर दिइने शिक्षाको कमी भने भएकै छ । केही सुधार वित्तीय क्षेत्रमा भए तापनि दूर दराजमा रहेका लक्षित वर्गहरूमा भने वित्तीय शिक्षाको कमी भएको देखिन्छ । त्यसको लागि नेपाल राष्ट्र बैंक, सरोकारवाला निकाय र लघुवित्त संस्थाले यसमा ध्यान दिन पनि जरुरी छ ।
लघुवित्त संस्था मर्जरमा गइरहेका छन् तर कतिपय लघुवित्त संस्था मर्जरमा गएर काम गर्ने क्रममा विवादहरू आइरहेको छ भन्ने कुराले त लघुवित्तमा मर्जर गर्न पनि एक किसिमको डर हुने भयो नि होइन ?
केही समयअघि एक सय जति लघुवित्तले लाइसेन्स पाए । धेरै सङ्ख्या भएपछि एक आपसमा अस्वस्थ प्रतिस्पर्धा भए त्यस कारण गर्दा राष्ट्र बैंकले सङ्ख्या घटाएर स्वस्थ प्रतिस्पर्धा गर्नुपर्छ भनेर मर्जरको कार्यक्रम सुरु गरेको हो । मर्जरपछि बनेका संस्थामा समस्या देखियो भनेर जुन कुरा मिडियाहरूमा सार्वजनिक भइरहेका छन् । मर्जरले नै समस्या सुरु भयो भनेर भन्न सक्ने आधारहरू छैन । के मर्जर नभएका लघुवित्त संस्थामा कुनै समस्या नै छैन त ? फरक परिवेशबाट आएका कर्मचारीहरू फरक पोजिसन हुनसक्छ, तलब फरक हुनसक्छ उनीहरूलाई कसरी एक बनाउने भनेर अध्ययन पनि त गर्नुपर्छ । अध्ययन गर्न समय लाग्छ नि मर्ज हुनुभन्दा पहिले नै अध्ययन गर्ने कुरा आउँदैन । मर्जर ले नै समस्या आए मर्जरले नै लघुवित्त संस्था विवादित भए भन्ने कुरामा म सहमत छैन ।
नेपालका अन्य वित्तीय क्षेत्रमा प्रविधिको प्रयोग क्रमशः बढिरहेको छ । तर लघुवित्त संस्थामा खासै प्रविधिको प्रयोग नभएको पाइन्छ नि ?
लघुवित्तका सदस्यहरू अलिकति शैक्षिक रूपमा केही कमजोर र वित्तीय साक्षरता कम भएको कारणले गर्दा विगतमा विद्युतीय बैंकिङ्गको कारोबार निकै कम भएको हो तर पछिल्लो समय लघुवित्त संस्थाहरूले पनि विद्युतीय कारोबारलाई जोड दिएको छ। अहिलेको अवस्थालाई हेर्ने हो भने त केन्द्र बैठक बस्ने कुरादेखि बचत कति छ, किस्ता कति दिने, कति दिइयो भन्ने सबै कुरा समयमै विद्युतीय माध्यमबाट प्राप्त गर्न थालिसकेका छन् ।
घुवित्त क्षेत्रका समस्या समाधान गर्न अब नेपाल राष्ट्र बैंकले कस्तो नीति लिनुपर्ला ?
लघुवित्त वित्तीय संस्थालाई हामीले प्रमोट गर्ने हो भने लघुवित्त संस्थामा के समस्या छन् ? त्यो समस्या कसको तर्फबाट भइरहेको छ त्यसलाई केलाउनुपर्छ । केही समयअघि नेपाल राष्ट्र बैंकको नेतृत्वको लघुवित्त संस्थाको अध्ययन समितिले दिएका सुझावहरूलाई क्रमशः लागू गर्दै आएका छन् । आगामी दिनमा पनि यस्ता किसिमका अध्ययन हुने अध्ययनको लागि अध्ययन नभई त्यहाँ भएका प्रमुख कुरालाई लिएर सतर्कताका साथ अवलम्बन गर्दै जाने हो भने लघुवित्तको समस्या ठुलो छैन र समाधान गर्न पनि गाह्रो छैन ।
प्रतिक्रिया