काठमाडौं– नेपालमा वैदेशिक मुद्रा भित्र्याउने र राजश्वको मुख्य स्रोत भएकाले पर्यटन क्षेत्रलाई नेपालको प्रमुख उद्योगको रुपमा हेरिन्छ। पर्वतारोहण, विविध धार्मिक स्थलहरु, सांस्कृतिक, भौगोलिक लगायतका दृष्टिकोणले पनि नेपाल उत्कृष्ट पर्यटकीय गन्तव्य हो भन्ने कुरामा दुई मत छैन। तर यही पर्यटन उद्योगलाई सन् २०१९ देखि चीनबाट फैलिइएको कोरोना महामारीले २/३ वर्षसम्म प्रत्यक्ष प्रभाव पार्याे । त्यसको प्रभावबाट पर्यटन क्षेत्र अझैँ मुक्त हुन् सकेकाे छैन।
नेपाली वर्ष २०८० वैशाखदेखि फागुनसम्म भित्रिएका ९ लाख ६३ हजार ७ सय पर्यटकले यो क्षेत्रलाई चलायमान बनाउन केही हदसम्म सहयोग गरेका छन्। नेपाल पर्यटन बोर्डको तथ्यांकअनुसार १० लाखको हाराहारीमा रहेका पर्यटकमध्ये वैशाख, जेठ र असार महिनामा दुई लाख २८ हजार २०३ जना पर्यटक भित्रिएका छन्। त्यस्तै ,साउनमा ६६ हजार २५५ जना, भदौमा ६३ हजार ९४२ जना, असोजमा १ लाख ८० हजार ४० जना, कात्तिकमा १ लाख १३ हजार १५२ जना, मंसिरमा १ लाख ५८४, पुषमा ८० हजार १३५, माघमा ८२ हजार १९२ जना र फागुनमा १ लाख ११ हजार २२० जना पर्यटक भित्रिएका थिए।
पर्यटन बोर्डका निर्देशक मणिराम लामिछानेका अनुसार भित्रिएका पर्यटकहरुमध्ये सबैभन्दा बढी बंगलादेश, भारत र अमेरिकाका रहेका छन्। उनकाअनुसार पछिल्लो समय चीनबाट भित्रिएका पर्यटकहरुको संख्यामा पनि वृद्धि भएको छ।
निर्देशक लामिछानेले भने, ‘कोरानाले थला परेको पर्यटन क्षेत्र छोटो समयमै पुरानो लयमा फर्किएको छ। पछिल्लो समयको पर्यटक आवागमनको संख्यामा वृद्धि देखिएको छ। साथै चिनियाँ पर्यटकहरुको संख्यामा पनि उलेख्य सुधार आएको छ।’
पर्यटन व्यवसायीको नजरमा २०८०
‘नीतिगत त्रुटि र पर्यटकीय पूर्वाधारको अभावका कारणले पर्यटन क्षेत्रले सोचे अनुप प्रगति हात पार्न सकेन’
होटल संघ नेपाल (हान) का अध्यक्ष विनायक शाहले २०८० साल पर्यटक आवागमनको हिसाबले सुधारोन्मुख रहे पनि सरकारले पूर्वाधार सञ्चालन नगर्दा अपेक्षाकृत प्रगति हाँसिल गर्न नसकिएको बताएका छन् । उनले पर्यटक आवागमनको सङ्ख्या र होटलहरुको क्षमता दुवैमा वृद्धि भएपनि सकारले पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याउन नसक्दा क्षमता र सम्भावना हुँदाहुँदै पनि पर्यटन क्षेत्र चुकेको उल्लेख गरे ।
अध्यक्ष शाहले भने, ‘एकातिर हेर्दा २०८० वर्ष भरि नै उत्साहित रहने धेरै आधारहरू सिर्जना भयो । तर हामीले हाम्रो क्षमतालाई यतिमै सीमित गर्न मिल्दैन । सरकारी तथ्यांकलाई हेर्ने हो भने पनि २२ वटा पाँचतारे होटलहरुले स्वीकृति पाइसकेका छन् । अन्य १८ र २० हरु प्रक्रियामा छन्। अबको दुई वर्षमा ४० को हाराहारीमा पाँचतारे होटल पुग्नेछ। हाम्रो क्षमताभन्दा कम पर्यटक आउँदा पनि सरकार खुसी देखिन्छ। तर सरकार यतिमा मात्र सीमित हुनुहुँदैन। ’
शाहले थपे,‘ होटल व्यवसायीहरू अहिले ३०/३५ लाखसम्मको सङ्ख्यामा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सक्ने क्षमतामा छन्। यसमा लागि निजी क्षेत्रले लगानी गरिसेको छ। हामीले अन्तर्राष्ट्रिय मापदण्ड अनुसार सेवा दिन सक्ने क्षमतामा वृद्धि गरिरहेको अहिलेको अवस्थामा १० लाख पर्यटक आउँदैमा खुसी भैहाल्ने स्थिति भने छैन। यसलाई थप विस्तार गर्न आवश्यक छ।’
होटलहरुको क्षमता एक तिहाइ मात्र उपयोग भइरहेको उनको भनाइ छ। ‘आर्थिक सम्वृद्धिमा जति मात्रामा हामीलाई सहयोग पुग्नु पर्ने हो, त्यति पुगेको छैन। यस्ता समस्या देखिनु नपर्ने हो तर हामीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मात्र चलाएर १० लाख पर्यटक भित्र्याएका छौँ। हामीसँग अन्य अन्तर्राष्ट्रिय विमानस्थलहरु पनि तयार छन्। त्यसमा हामीले उडान भर्न सकेका छैनौँ। एयरपोर्ट सञ्चालनमा ल्याउन सरकारले गृहकार्य पनि गरेको देखिँदैन। यसमा समिति गठन गर्ने अध्ययन गर्ने लगायतका कार्य पनि भइरहेको छैन’, सरकारप्रति शाहले आक्रोश पोखे।
उनले भने, ‘हाम्रो लगानीको आधार होटल हुन्। पोखरा, भैरहवा विमानस्थल तयार हुनुका साथै पोखरा, चितवन, लुम्बिनी जोड्ने बाटोघाटो पनि स्तर उन्नति भइरहेको छ। यसलाई आधार बनाएर हामी निजी क्षेत्रमा लगानी गरेका हौँ ।तर सरकारले विमानस्थल पनि चलाउन सकेन। पोखरा जाने बाटोमा अझैँ १२ घण्टा लाग्छ ।
चितवन जाने बाटोमा केही सुधार छैन। चितवनबाट पोखरा जाने बाटोको स्थिति अझै लथालिङ्ग छ। निजी क्षेत्रले आफ्नो क्षेत्रबाट सकेको मिहिनेत गरिरहेको छ। तर पूर्वाधार क्षेत्रबाट जति मात्रामा सहयोग पुग्नु पर्ने हो। त्यो नहुँदा पर्यटन क्षेत्रमा अपेक्षाकृत क्षमताअनुरूप उपलब्धि हासिलमा समस्या देखिएको छ।’कोरोनाको असरबाट सुधारोन्मुख हुनु सकारात्मक भए पनि पूर्वाधारको कमीले सोचेअनुरूप सफलता हाँसिल गर्न नसकिएको शाहको भनाइ छ।
‘पर्वतारोहण क्षेत्रको सुधारको लागि सरकार सकारात्मक ‘
कोरोना महामारीपछि तहसनहस बनेको पर्यटन क्षेत्रलाई सुधार्न सरकारले सकारात्मक भूमिका खेलेको नेपाल पर्वतारोहण संघका अध्यक्ष निमा शेर्पाले बताए । उनले भने, ‘२०८० मा पर्यटन बोर्ड, विभाग, मन्त्रालयहरूले पर्वतीय पर्यटन सुधारका लागि सकारात्मक भूमिका खेल्यो ।’ अध्यक्ष शेर्पाले ट्राभल एजेन्सीहरू र एयरलाइन्स टिकटमा लगाइएका भ्याट लगायतका कारण पर्यटक भित्र्याउन अझैँ पनि समस्या रहेको उल्लेख गरे ।
उनले भने, ‘सरकारले पर्वतीय क्षेत्रको सुधारमा देखाएको चासोले हामीलाई थप ऊर्जा थपेको छ ।’ यस वर्ष पर्यटक आवागमन सङ्ख्या बढेकाले सकारात्मक सुधारहरू देखिएको शेर्पाले बताए । अध्यक्ष शेर्पाले भने, ‘पर्यटक आवागमनमा वृद्धि हुनुका साथै पर्वतारोहण क्षेत्रसँग सम्बन्धित केही नीतिगत सुधार पनि भए । पुरै लयमा फर्कन त समय लाग्छ । पर्यटन क्षेत्रका नियम कानून निमार्ण गर्न सरकार लागि परिरेको देखिएको छ। वर्तमान सरकार नीति नियमका साथै नयाँ हिमालहरू, चुलीहरू आरोहणका लागि खुल्ला गर्नेतर्फ अग्रसर पनि बनेको छ ।’
साथै यस वर्ष सिन्धुपाल्चोकको जुगल गाउँपालिकाका ५ हिमालहरू आरोहणका लागि खुल्ला गरिनु पनि पर्वतारोहणको क्षेत्रमा प्रभावकारी कदम भएको शेर्पाले बताए। पर्वतीय पर्यटन नेपालको पर्यटनको मुख्य हिस्सा भएकाले सरकारले यसलाई प्राथमिकतामा राख्नु आवश्यक भएको अध्यक्ष शेर्पाले बताए । साथै पर्यटन बोर्ड, विभाग र मन्त्रालय, पर्वतारोहण संघ लगायत पर्यटन क्षेत्रमा क्रियाशील रहेका उद्योगहरूबीच सकारात्मक सम्बन्ध रहेकाले २०८१ सालमा थप उत्साह थपिने आशा गरेको पनि उनले बताए ।
‘पर्यटन व्यवसायीका लागि आशाको किरण ’
ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष भविश्वर शर्माले २०८० सालमा पर्यटन क्षेत्र विगतका वर्षको तुलनामा अपेक्षा गरेको भन्दा राम्रो उपलब्धि हासिल गरेको बताए। उनले भने,‘कोरोना महामारी पछि थला परेको पर्यटन क्षेत्रलाई चलायमान गराउन यस वर्षले महत्त्वपूर्ण भूमिका खेल्यो। बजारहरू बिस्तारै चलायमान हुन थाल्यो। पर्यटन क्षेत्रमा आशाको किरण जगाउन सफल भयो। पर्यटन क्षेत्रबाट पलायन हुन थालेकाहरूलाई अब यही क्षेत्रमा केही गर्न सकिन्छ भन्ने आधार तयार गर्न सकिने जस्तो बनायो। तर बजारको अस्वस्थ प्रतिस्पर्धाले गर्दा सोचेअनुरुप प्रगति भने हासिल गर्न सकेन।’
शर्माले थपे,‘हामी अझैँ कोरोना अगाडिको लयमा फर्कन भने पर्यटन क्षेत्र सफल हुन सकेको छैन। सहज र लगानीयोग्य वातावरण पर्यटन क्षेत्रमा अझैँ सिर्जना हुन सकेको देखिँदैन । ठमेल र दरबारमार्ग क्षेत्रलाई २४ सै घण्टा सञ्चालनमा ल्याउने नीति पनि लिएउ ।’
‘यस वर्षका लागि उपलब्धिमूलक रह्यो, तर विगतको घाटाको क्षर्तिपूर्ति दिलाउन सकेन ’
ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान) का अध्यक्ष निलहरि बास्तोलाले २०८० सालमा पर्यटन क्षेत्रले सम्भावना हुँदाहुँदै पनि अपेक्षाकृत प्रगति हाँसिल गर्न नसकेकाे बताएका छन्। उनले भने, ‘एक वर्षलाई मात्र हेर्ने हो भने उपलब्धिमूलक नै रह्यो तर विगतका वर्षहरूको घाटाको क्षतिपूर्ति दिलाउन भने सकेन । सरकारले, बैकिङ्ग क्षेत्रले पर्यटन क्षेत्र पुरानै लयमा फर्किसक्यो भने पनि हामी विगतका वर्षको घाटाले गर्दा आर्थिक भारमा नै छौँ। हामीले अपेक्षा गरेअनुरूप पर्यटक त भित्रिए तर पूर्वाधारहरूमा देखिएको कमीकमजोरीहरू भने खड्किरहे । पर्यटन क्षेत्रमा राज्यको जति मात्रामा उपस्थिति हुनुपर्थ्यो नीतिगत रूपमा त्यो देखिएन ।’
उनले थपे, ‘पदयात्रा पर्यटनको क्षेत्रमा पनि अहिलेसम्मको इन्क्वाइरीलाई आधार मान्दा सकारात्मक नै देखिएको छ । तर सोचेअनुरूप भने भएको छैन । हवाई भाडा महङ्गो भएकाले युरोपिएन पर्यटकहरुको सङ्ख्या बढको छैन । एशियन पर्यटकहरूकै आवागमन बढी छ । विगतमा हवाइ भाडाहरुमा भ्याट थिएन । ’
पर्यटकहरूलाई टिकटमा सहजीकरण गर्नुको सट्टामा भाडा दरमा वृद्धि भइरहेको उनको भनाइ छ। भाडा दरमा वृद्धि हुँदा पर्यटक आवागमनमा असर परेकाे उनकाे भनाइर्श । उनी भन्छन्,‘सरकारले भ्याट लगाइदिँदा व्यवसायीलाई पनि समस्या परेको छ । विदेशबाट पर्यटकहरू आउँदा जति पैसा आउँछ हामीले त्यसको भ्याट तिर्नुपर्छ। यहाँ भ्याट दाबी गर्न समस्या छ। काठमाडौंका होटलहरुमा समस्या नभए पनि गाउँ–गाउँका होटलहरु भ्याटमा बिल आउँदैन। त्यसैले हामीले करको दायरा बढाउ, दर नबढाउन भनेका हौँ । अर्थमन्त्रालयले हाम्रो मागको सुनुवाई गरेन। जसले गर्दा व्यवसायी मर्कामा परेका र पर्यटन व्यवसायी/पर्यटन क्षेत्रलाई वृद्धि गर्न कठिनाइ छ ।’
प्रतिक्रिया