नवनियुक्त अर्थमन्त्रीलाई लिएर के भन्छन् पुँजीबजारका लगानीकर्ता र विश्लेषक ?

नवनियुक्त अर्थमन्त्रीलाई लिएर के भन्छन् पुँजीबजारका लगानीकर्ता र विश्लेषक ?

निशा देउजा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– सत्ताको फेरबदलसँगै अर्थमन्त्री को बन्ला ? भन्ने जिज्ञासा नेकपा माओवादीका उपमहासचिव वर्षमान पुन अर्थमन्त्रीमा नियुक्त भएसँगै मेटिएको छ । पुनले बुधबार पदभार ग्रहण गरेसँगै वर्तमान अर्थतन्त्रको संकट हटाउने प्रतिबद्धता जनाइसेका छन् । तर नवनियुक्त अर्थमन्त्रीको कार्यकालमा अर्थतन्त्रले कस्तो आकार पाउँला भन्ने विषयको आम मानिसमा चासो र चिन्ता बढेको देखिन्छ ।

अर्थमन्त्रीमा पुन नियुक्त भएसँगै अर्थतन्त्रका अन्य क्षेत्रको तुलनामा निरास पुँजी बजारमा प्रत्यक्ष प्रभाव परेको देखिन्छ । उदाहरण स्वरुप सोमबार सत्ता गठबन्धनमा आएको फेरबलदसँगै एमाले उपाध्यक्ष विष्णु पौडेल अर्थमन्त्री बन्ने हल्लाले शेयर बजारमा तीन पटकसम्म सकारात्मक ‘सर्किट ब्रेक’ लाग्यो । तर त्यसको भोलिपल्ट मंगलबार शेयर बजारमा ७० अंकको गिरावट देखियो । आम लगानीकर्तामा एमालेका पौडेल आउँछन् भन्ने अपेक्षा अनुरूप सुरुवाती चरणमा बढेको बजारले अर्थमन्त्री पुनको आगमनलाई त्यति रुचाएको भने देखिएन । यद्यपि पुनको विगतको अर्थमन्त्रीको कार्यकालको शेयर बजारलाई सकारात्मक रुपममा नै लिन सकिन्छ ।

अर्थमन्त्रीमा पुन आएपछि यसो भन्छन् लगानीकर्ता

नेपाल पुँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेल अर्थमन्त्री पुनले लगानीकर्तामा माओवादीहरु शेयर बजारका लागि उपयुक्त छैनन् भन्ने भ्रम चिर्नुपर्ने बताउँछिन् । उनले लामो समयदेखि कोमामा रहेको शेयर बजारलाई स्थायित्व प्रदान गर्नु नवनियुक्त अर्थमन्त्रीको मुख्य जिम्मेवारी रहेको बताइन् । साथै अध्यक्ष पोखरेलले अर्थमन्त्रीको कार्यकाललाई लिएर लगानीकर्ताहरु सकारात्मक रहेको बताइन्। ‘हामी लगानीकर्ताहरु साना समस्या लिएर अर्थमन्त्रालय धाउनु पर्ने समस्या हट्ने विश्वास लिएका छौँ’, उनले भनिन्, ‘बजार आज घट्यो, भोलि बढ्यो भन्दापनि दीर्धकालीन रुपमा बजारले कस्तो आकार लिन्छ भन्ने कुरा महत्वपूर्ण हुन्छ ।’ अर्थमन्त्रीले लिने नीति कस्तो हुन्छ भन्ने कुराले शेयर बजारको भविष्य निर्धारण गर्ने उनको भनाइ छ।

त्यस्तै, उनले अर्थमन्त्रीले शेयर बजारका लागि तत्कालै चाल्नुपर्ने कदमहरु पनि सुल्झाएकी छिन् । उनी भन्छिन्, ‘लगानीकर्ताहरुलाई विस्थापित गरेर, दुईचार लाखले बजार टिकाउँछ भन्ने भ्रम हटाउन आवश्यक छ । १५ र २० को क्यापलाई तत्काल खारेज गर्नुपर्ने र शेयर बजार अर्थतन्त्रको मियो भएकाले यसमा ध्यान दिन आवश्यक छ । उनले थपिन्, ‘बजेटमा अल्पकालीन र दीर्धकालीन लगानीकर्ताहरु छुट्याइन पर्यो । धितोपत्र बोर्डमा सही नेतृत्व चयनको लागि पहल हुनुपर्यो र ब्रोकर्स कमिसन लगायतका पक्षमा सुधार ल्याउनका लागि पहल गर्नुपर्छ ।’

‘अर्थमन्त्रीले नीतिगत सुधार गर्नुपर्छ’

त्यसैगरी, शेयर बजारका लगानीकर्ता तिलक कोइरालाले अर्थमन्त्रीलाई लिएर आफु सकारात्मक रहेको बताएका छन् । उनले पुनको अघिल्लो कार्यकालको शेयर बजारलाई लिने हो भने सकारात्मक हुन सक्ने बताएका हुन् । अर्थमन्त्रीले तत्कालै शेयर बजारमा लगानीकर्ताको मनोबललाई बढाउने कदम चाल्ने आशा लिएको उनले बताए । साथै पुँजीबजारमा लगानीकर्ताको मनोबल बढाउने पक्षमा ध्यान दिन आवश्यक रहेको बताउँदै अर्थमन्त्रीले निरुत्साहित बनाउने, बाधा सिर्जना गराउने र लगानीकर्तामाथिको जोखिम घटाउनेमा विशेष ध्यान दिन आवश्यक रहेको उल्लेख गरे ।

‘अर्थमन्त्रीको आगमन शेयर बजारलाई सकारात्मक बन्न सक्छ’
त्यस्तै वित्त विश्लेषक मुक्ति अर्यालले गर्भनरबाट पनि अहिलेका अर्थमन्त्रीलाई सफल बनाउनुपर्छ भन्ने अभिव्यक्ति आएकाले अर्थतन्त्रका अन्य क्षेत्रका साथै पुँजीबजारमा पनि फाइदा पुग्ने बताए । अर्थमन्त्री पुनलाई मुख्य चुनौती भनेको नीतिगत सुधार र कार्यान्वयनमा देखिने उनले बताए । उनले पनि आगामी बजेटमा पुँजी बजारलाई समेट्न आवश्यक रहेको बताउँदै स्टक एसन्चेन्ज परिवर्तन, नीति नियम बलियो बनाउने लगायतका पक्षमा ध्यान दिन आवश्यक रहेको उल्लेख गरे । उनले हाल लगानीकर्ताहरु आत्तिहाल्नुपर्ने नरहेको बताए ।

कस्तो थियो विगतमा पुन अर्थमन्त्री हुँदा शेयर बजार ?

यसअघि वर्षमान पुन वि.सं. २०६८ भदौ १८ गते अर्थमन्त्री भएका थिए । उनी नियुक्त भएको भोलिपल्ट देखि नै शेयर बजार घटेर २९८.६९ अंकमा कायम भयो । उनी नियुक्त भएसँगै बजार लगातार ८ महिनासम्म ओरालो नै लागिरह्यो । पुन बाहिरिँदै गर्दा भने बजार केही अंकले बढेको थियो । उनको कार्यकालमा समग्र सूचक २०६.८८ अंकमा कायम थियो ।

यसरी अर्थमन्त्रीको आगमनलाई लिएर पुँजीबजारका विश्लेषक र लगानीकर्ताहरुले धारणा राखिरहँदा अर्थमन्त्रीको जिम्मेवारी भने संकटमा रहेका अर्थतन्त्र र अर्थतन्त्रको मुख्य पाटोको रुपमा हेरिएको पुँजीबजारलाई लयमा ल्याउनु छ ।