विदेशी मुद्राको सञ्चिति ४० खर्ब नाघ्यो, साढे १७ महिनाको आयात धान्न पुग्ने


काठमाडौं –  नेपालमा विदेशी विनिमय सञ्चिति बढेर ४० खर्ब ६५ अर्ब ७८ करोड रुपैयाँ पुगेको छ। नेपाल राष्ट्र बैंककाे तथ्यांकअनुसार २०८३ भदौ मसान्तसम्मको उक्त सञ्चितिले २०.९ महिनाको वस्तु आयात र १७.८ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुनेछ।

गत असार मसान्तमा ३८ खर्ब ९७ अर्ब ६७ करोड रुपैयाँ रहेको सञ्चिति दुई महिनामा ४.३ प्रतिशतले बढेको हो। अमेरिकी डलरमा सञ्चिति ४.६ प्रतिशतले वृद्धि भई २६ अर्ब ४८ करोड पुगेको छ।

कुल सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा ३६ खर्ब १० अर्ब ७६ करोड रुपैयाँ र बैंक तथा वित्तीय संस्थामा ४ खर्ब ५५ अर्ब १ करोड रुपैयाँ रहेको छ।भदौ मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादनसँगको अनुपात ६१.६ प्रतिशत र कुल आयातसँगको अनुपात १४८.५ प्रतिशत पुगेको केन्द्रीय बैंकले जनाएको छ।