दुई महिनामा भित्रियो ४ खर्ब ३६ अर्ब रेमिट्यान्स


काठमाडौं – चालु आर्थिक वर्ष २०८३/८४ को दुई महिनामा विप्रेषण आप्रवाह (रेमिट्यान्स) २३.९ प्रतिशतले वृद्धि भई ४ खर्ब ३६ अर्ब ३६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ३३.१ प्रतिशतले बढेको थियो । २०८३ भदौ महिनामा रेमिट्यान्स २ खर्ब २१ अर्ब ३१ करोड रहेको छ । अघिल्लो वर्षको सोही महिनामा १ खर्ब ७४ अर्ब ६७ करोड रेमिट्यान्स भित्रिएको थियो ।

समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह १३.५ प्रतिशतले वृद्धि भई २ अर्ब ८५ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह २७.६ प्रतिशतले बढेको थियो । साथै, समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) ४ खर्ब ६९ अर्ब ४४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ३ खर्ब ८४ अर्ब ८८ करोड रहेको थियो । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या ७८ हजार ३२० र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या ५२ हजार १६३ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या क्रमशः ९० हजार १९८ र ४५ हजार ८८४ रहेको थियो ।