आईपीओ निष्काशनको अनुमति माग गर्दै पाँच कम्पनीले दिए बोर्डमा आवेदन


काठमाडौं – असोज महिनामा पाँचवटा कम्पनीले आईपीओ निष्काशनका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन) मा आवेदन दिएका छन्। यस महिनामा हाइड्रोपावर क्षेत्रतर्फका चार कम्पनी र होटल एण्ड टुरिजम तर्फको १ कम्पनीले आईपीओ निष्काशनका लागि आवेदन दिएका हुन्।

आईपीओ निष्काशनका लागि आवेदन दिने कम्पनीमा हाइड्रोपावर तर्फ सशा इन्जिनियरिङ हाइड्रोपावर, पिस इनर्जी कम्पनी लिमिटेड, युनिटेक हाइड्रोपावर कम्पनी र मुनलाइट हाइड्रोपावर कम्पनी रहेका छन्। त्यस्तै, होटल एण्ड टुरिजम क्षेत्रतर्फ होटल सिराइचुली रहेको छ।

जसमा सशा इन्जिनियरिङ हाइड्रोपावर ३१ लाख कित्ता आईपीओ निष्काशन गर्न आवेदन दिएको छ। कम्पनीको आईपीओको निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल लिमिटेड रहेको छ। यता पिस इनर्जीले ३२ लाख कित्ता आईपीओ निष्काशन गर्न बोर्डसँग अनुमति मागेको छ। कम्पनीको बिक्री प्रबन्धकमा माछापुच्छ्रे क्यापिटल लिमिटेड रहेको छ।

यसैगरी, युनिटेक हाइड्रोपावर कम्पनीले १९ लाख ७० हजार कित्ता आईपीओ निष्काशन गर्न आवेदन दिएको छ। यसको बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ। त्यस्तै, मुनलाइट हाइड्रोपावर कम्पनीले ९२ लाख ४१ हजार ४२६ कित्ता आईपीओ निष्काशन गर्न आवेदन दिएको छ। कम्पनीको बिक्री प्रबन्धक पनि लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ। जसमा होटल सिराइचुलीले १५ लाख कित्ता आईपीओ निष्काशन गर्न अनुमति मागेको हो। कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ।