काठमाडौं – बरुण हाइड्रोपावरले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। कम्पनीले हाल कायम चुक्ता पुँजीको ४.७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.२५ प्रतिशत नगद लाभांश गरी कुल ५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।
कम्पनीको असोज २६ गते बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरूलाई सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो। कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुनेछ। साथै, कम्पनीले सो लाभांश प्रस्ताव पारित गर्न २३ औं वार्षिक साधारण सभा बोलाएको छ। कम्पनीले कार्तिक २० गते स्मार्ट दरबार, शंखपार्क, काठमाडौंमा बिहान साढे ९ बजे सो सभा बोलाएको हो।
कम्पनीले ४.७५ प्रतिशत बोनस शेयर वितरण पछि कायम हुने चुक्ता पुँजीको १ः१ को अनुपातमा शतप्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव पारित गर्नेछ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले कार्तिक ११ गते बुकक्लोज गर्ने भएको छ। यस अनुसार कार्तिक १० गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरूले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।






About Us
प्रतिक्रिया