वाणिज्य बैंकहरूले एक वर्षमा कमाए झन्डै ७० अर्ब, कुनको नाफा कति ?


काठमाडौं – गत आर्थिक वर्ष २०८२-८३ मा वाणिज्य बैंकहरूले झन्डै ७० अर्ब नाफा आर्जन गरेका छन्। बैंकहरूले गत आर्थिक वर्षमा कुल ६९ अर्ब ८८ करोड नाफा आर्जन गरेका हुन् । जुन नाफा अघिल्लो आर्थिक वर्ष २०८१-८२ को तुलनामा बढी हो। अघिल्लो आर्थिक वर्षमा बैंकहरूले ५२ अर्ब ८१ करोड रुपैयाँ नाफा आर्जन गरेका थिए।

गत आर्थिक वर्षको अवधिमा सबैभन्दा धेरै नाफा कमाउनेको पहिलो सूचीमा नबिल बैंक रहेको छ। बैंकले गत आर्थिक वर्षमा ७ अर्ब ९० करोड रुपैयाँ नाफा आर्जन गरेको हो। यस्तै, बढी नाफा कमाउनेको दोस्रो नम्बरमा कुमारी बैंक रहेको छ। बैंकले गत आर्थिक वर्षको अन्तिमसम्ममा ७ अर्ब ३८ करोड खुद नाफा आर्जन गरेको हो।

तेस्रोमा ग्लोबल आइएमई बैंकले ६ अर्ब २२ करोड नाफा आर्जन गरेको छ। साथै एभरेस्ट बैंकले गत आर्थिक वर्षको अन्त्यसम्ममा ५ अर्ब ६ करोड नाफा आर्जन गरेको छ भने राष्ट्रिय वाणिज्य बैंकले ४ अर्ब ५५ करोड नाफा आर्जन गरेको छ।

यस्तै, नेपाल बैंकले ४ अर्ब ५० करोड, प्राइम कमर्सियल बैंकले ४ अर्ब ११ करोड एनएमबि बैंकले ४ अर्ब १ करोड सानिमा बैंकले ३ अर्ब ५५ करोड सिद्धार्थ बैंकले ३ अर्ब५१ करोड लक्ष्मी सनराइज बैंकले ३ अर्ब १३ करोड नाफा आर्जन गरेको छ।

साथै, स्ट्यान्डर्ड चार्टर्डले २ अर्ब ८५ करोड, नेपाल इन्भेस्टमेन्ट मेघा बैंकले २ अर्ब ७४ करोड, कृषि विकास बैंकले २ अर्ब ६३ करोड, माछापुच्छ्रे बैंकले २ अर्ब ११ करोड, सिटिजन्स बैंकले २ अर्ब ९ करोड, नेपाल एसबीआई बैंकले २ अर्ब ४ करोड हिमालयन बैंकले १ अर्ब ४८ करोड नाफा आर्जन गरेको छ। गत आर्थिक वर्षको अवधिमा एनआईसि एशिया बैंकले १८ करोड नाफा आर्जन गरेको छ ।

अधिकांश बैंकको नाफामा सुधार आउँदा प्रभु बैंक भने २४ करोड घाटामा छ ।