विद्यार्थीलाई शेयर बजार सिकाउँदै नेप्से, ‘भिजिट नेप्से’मा सहभागी हुन १५ दिनभित्र आवेदन दिनुपर्ने


काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले विद्यार्थीलाई पुँजी बजारबारे व्यवहारिक जानकारी दिने उद्देश्यले सञ्चालन गर्दै आएको ‘भिजिट नेप्से’ कार्यक्रमलाई आर्थिक वर्ष २०८३र८४ मा पनि निरन्तरता दिने भएको छ। नेप्सेले विद्यार्थीलाई आफ्नो कार्यालयको अवलोकन भ्रमण गराउँदै शेयर बजार, यसको सञ्चालन प्रक्रिया तथा पुँजी बजारसम्बन्धी जानकारी दिने उद्देश्यले कार्यक्रम सञ्चालन गर्दै आएको हो।

विद्यालय तथा क्याम्पसका विद्यार्थीलाई लक्षित गरिएको कार्यक्रममा नेप्सेको कार्य प्रणालीबारे जानकारी लिनुका साथै सम्बन्धित विषयमा अन्तर्क्रिया गर्ने अवसरसमेत दिइनेछ। नेप्सेले साउन २६ गते सूचना जारी गर्दै आफ्ना विद्यार्थीलाई ‘भिजिट नेप्से’ कार्यक्रममा सहभागी गराउन इच्छुक विद्यालय तथा क्याम्पसलाई आवेदन दिन आग्रह गरेको छ।

इच्छुक शैक्षिक संस्थाले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र नेप्सेको इमेलमा आवेदन पठाउनुपर्नेछ। आवेदनका लागि इमेलमार्फत दर्ता गर्न सकिने नेप्सेले जनाएको छ। आवेदनमा विद्यालय वा क्याम्पसको नाम र ठेगाना, कार्यक्रममा सहभागी हुने अनुमानित विद्यार्थी संख्या, सहभागिताका लागि प्रस्तावित मिति, विद्यार्थी अध्ययनरत कक्षा वा तह तथा सम्पर्क व्यक्तिको नाम र सम्पर्क नम्बर उल्लेख गर्नुपर्नेछ।

विद्यार्थीलाई शेयर बजारसँग जोड्ने प्रयास
पुँजी बजारमा नयाँ लगानीकर्ता भित्रिने क्रम बढिरहेका बेला विद्यार्थी तहबाटै शेयर बजारसम्बन्धी आधारभूत ज्ञान दिन ‘भिजिट नेप्से’ कार्यक्रमलाई महत्त्वपूर्ण मानिएको छ। विद्यालय तथा क्याम्पस तहका विद्यार्थीलाई शेयर बजार कसरी सञ्चालन हुन्छ, नेप्सेको भूमिका के हो र पुँजी बजारको अर्थतन्त्रमा कस्तो योगदान हुन्छ भन्ने विषयमा प्रत्यक्ष जानकारी दिने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको नेप्सेले जनाएको छ।

नेप्सेका अनुसार विद्यार्थीलाई पाठ्यपुस्तकमा सीमित ज्ञानभन्दा बाहिर लगेर नेपालको पुँजी बजारको वास्तविक सञ्चालन प्रक्रिया बुझाउने कार्यक्रमको उद्देश्य हो। कार्यालय अवलोकन तथा अन्तर्क्रियामार्फत विद्यार्थीले पुँजी बजारका विभिन्न पक्षबारे प्रत्यक्ष जानकारी लिन सक्नेछन्। पुँजी बजारमा लगानी गर्ने नयाँ पुस्ताको संख्या बढिरहेका बेला विद्यार्थीलाई लक्षित यस्तो कार्यक्रमले भविष्यका लगानीकर्तालाई बजारबारे आधारभूत ज्ञान दिन सहयोग पुग्ने अपेक्षा गरिएको छ।