काठमाडौं– नेपाल प्रहरीले कमिसनको लोभमा बैंक खाता अरुलाई नदिन आग्रह गरेको छ । पछिल्लो समय साइबर ठगीका घटनामा वृद्धि भएसँगै अपराधबाट कमाएको रकम विभिन्न व्यक्तिका बैंक खातामार्फत निकाल्ने प्रवृत्ति बढ्दै गएको प्रहरीले जनाएको छ ।
प्रहरीकाअनुसार साइबर अपराधमा संलग्न व्यक्तिहरूले अपरिचित नागरिकलाई बैंक खाता प्रयोग गर्न दिनुहोस् वा खाता प्रयोग गरेबापत आकर्षक कमिसन दिन्छौं’ भन्ने प्रलोभन देखाएर बैंक खाताको विवरण माग्ने गरेका छन्। यस्ता प्रस्तावहरूमा विश्वास गर्दा बैंक खातावालासमेत कानुनी अनुसन्धान र कारबाहीको दायरामा पर्न सक्ने प्रहरीले जनाएको छ ।
अधिकांश अवस्थामा साइबर ठगहरूले अपराधबाट आर्जित रकम विभिन्न व्यक्तिका बैंक खातामा जम्मा गरी त्यसपछि नगद झिक्ने वा अन्य खातामा स्थानान्तरण गर्ने गरेका छन्। यस प्रक्रियामा प्रयोग भएका खाताका वास्तविक धनीहरू पनि अनुसन्धानको घेरामा पर्ने जोखिम रहन्छ।
त्यस्तै, ठगहरुले थोरै कमिसनको लोभमा परेर केही व्यक्तिले आफ्नो बैंक खाता साइबर ठगलाई प्रयोग गर्न दिने, वा अपरिचित व्यक्तिका लागि आफ्नै नाममा बैंक खाता खोलिदिने गरेको पाइएको छ। यस्तो कार्यले आर्थिक अपराधमा अप्रत्यक्ष संलग्नता देखिन सक्ने भएकाले कानुनी समस्या निम्तिने प्रहरीले जनाएको छ ।
प्रहरीले आफ्नो बैंक खाता व्यक्तिगत सम्पत्ति भएकाले कुनै पनि अवस्थामा अरूलाई प्रयोग गर्न नदिन, बैंक खाताको विवरण, एटीएम कार्ड, पिन, पासवर्ड वा ओटीपी कसैसँग पनि शेयर नगर्न समेत आग्रह गरेको छ।







About Us
प्रतिक्रिया