दर्ता नभएका क्रसर बन्द गर्न निर्देशन


म्याग्दी – म्याग्दीको रघुगङ्गा गाउँपालिकाले दर्ता प्रक्रिया पूरा नगरी अवैध रुपमा सञ्चालनमा रहेका क्रसर उद्योग हटाउन सार्वजनिक सूचना मार्फत निर्देशन दिएको छ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुलराज पौडेलले कानुनी प्रक्रिया पूरा नगरी सञ्चालनमा रहेका क्रसर उद्योगलाई एक महिनाभित्र हटाउन निर्देशन दिइएको बताए।

पालिकाले जलविद्युत् र विकास आयोजनाका लागि अनुमति लिएका बाहेक अरु क्रसर उद्योगले नदीजन्य वस्तुको उत्खननमा संलग्न रहेको पाइएमा कानुनी कारबाहीको दायरामा ल्याउने जनाएको छ।

यही असार ११ गतेको मितिले लागू हुने गरी एक महिनाभित्र क्रसर उद्योग र उपकरण सामग्री नहटाएमा कारबाही गरिने प्रमुख प्रशासकीय अधिकृत पौडेलले बताए।

रघुगङ्गा गाउँपालिकाभित्र हाल पाँच वटा क्रसर उद्योग सञ्चालनमा रहेका अध्यक्ष भवबहादुर भण्डारीले बताए। उनले भने,‘राहुघाट जलविद्युत् आयोजनाको चमेरे र बाँध निर्माणस्थलको तथा मोना हाइड्रोपावर र चितवन इनर्जीले घ्याँसीखर्कमा रहेको क्रसर उद्योगले प्रक्रिया पूरा गरेका छन।’

अवैध क्रसरले नदीजन्य वस्तुको चोरी निकासी गरेर राजस्वमा पनि हानी पु¥याएकाले बन्द गराउन गाउँपालिकाले अग्रसरता लिएको अध्यक्ष भण्डारीले दावी गरे।