हिरासतभित्रै धम्की दिएको आरोपमा गृहमन्त्री गुरुङविरुद्ध मानव अधिकार आयोगमा उजुरी


काठमाडौं – गृहमन्त्री सुधन गुरुङविरुद्ध राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दर्ता भएको छ। सोमबार राष्ट्रिय मानव अधिकार आयोगमा गृहमन्त्री गुरुङविरूद्ध उजुरी परेको हो। 

हिरासत कक्षभित्रै मानसिक दबाब, ज्यान मार्ने धम्की तथा गम्भीर मानव अधिकार हनन गरिएको हुँदा यथाशीघ्र स्थलगत अनुगमन तथा तत्काल छानबिन गरी मानव अधिकार सुनिश्चित गर्न भन्दै आयोगमा उजुरी परेको हो।

अजय सोडारी, प्रकाश बम र सुजन पौडेलले २०८३ असार ८ गते सोमबार आयोगको केन्द्रीय कार्यालय पुगेर उजुरी दर्ता गराएका हुन्।  उनीहरू २०८३ जेठ १९ गते लैनचौरस्थित भारतीय दूतावासअगाडि भएको प्रदर्शनका क्रममा पक्राउ परेका थिए। उजुरीमा उल्लेख अनुसार, पक्राउपछि सोह्रखुट्टे प्रहरी वृत्तमा लगिएको करिब आधा घण्टापछि गुरुङले थुनुवाकक्षमै प्रवेश गरी धम्की दिएको दाबी गरिएको छ।

उजुरीमा संविधानले सुनिश्चित गरेको सम्मानपूर्वक बाँच्न पाउने अधिकार, न्यायसम्बन्धी अधिकार र यातनाविरुद्धको अधिकार उल्लंघन भएको उल्लेख छ।

त्यस्तै, पद र शक्तिको दुरुपयोग गरी हिरासतभित्रै पुगेर ज्यान मार्ने धम्की दिने र मानसिक यातना दिने गृहमन्त्री गुरुङ र निजको टोलीमाथि फौजदारी कसुर र मानव अधिकार उल्लंघनको मुद्दा चलाउन तथा अनधिकृत व्यक्तिलाई संवेदनशील क्षेत्रमा प्रवेश गराउने जिम्मेवार प्रहरी कर्मचारीहरूलाई तत्काल विभागीय कारबाही गर्न सम्बन्धित निकायलाई तत्काल निर्देशन जारी गर्न माग गरिएको छ।