काठमाडौं – दुबई–पोखरा नियमित उडान सञ्चालनसम्बन्धी फ्लाई दुबईको प्रस्तावित योजनालाई प्रभावकारी रूपमा अघि बढाउने उद्देश्यले नेपाली महावाणिज्यदूत हरि ओडारीले फ्लाई दुबईका प्रमुख वाणिज्य अधिकृत हमाद ओबैदल्ला तथा उडान सञ्चालन प्रमुख क्याप्टेन अहमद बिन हुजैमसँग औपचारिक भेटवार्ता गरेका छन्।
भेटवार्ताका क्रममा नेपाल–यूएईबीचको हवाई सम्पर्क विस्तार, यात्रुहरूलाई प्रदान गरिने सेवाको गुणस्तर, नयाँ गन्तव्यमा यात्रु आवागमन अभिवृद्धिका सम्भावना, पोखराको पर्यटन क्षमता तथा प्रस्तावित हवाई मार्गको दीगो र प्रभावकारी सञ्चालनलगायत विषयमा विस्तृत छलफल भएको थियो।
फ्लाई दुबईको वरिष्ठ व्यवस्थापनले दुबई–पोखरा नियमित उडान सञ्चालन गर्ने घोषणाप्रति सर्वसाधारणबाट उत्साहजनक र सकारात्मक प्रतिक्रिया प्राप्त भएको जानकारी दिएको थियो। उक्त उडानले पोखरालाई अन्तर्राष्ट्रिय हवाई सञ्जालसँग थप प्रभावकारी रूपमा जोड्दै पर्यटन प्रवर्द्धन, लगानी आकर्षण तथा आर्थिक गतिविधि विस्तारमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।
भेटका क्रममा दुवै पक्षले नेपाल र संयुक्त अरब इमिरेट्स (यूएई) बीचको हवाई तथा पर्यटन सहकार्यलाई अझ सुदृढ र परिणाममुखी बनाउन निरन्तर समन्वय तथा सहकार्य आवश्यक रहेकोमा जोड दिएका थिए। साथै, प्रस्तावित उडान सेवाले दुवै देशका नागरिक, पर्यटन व्यवसायी तथा व्यावसायिक समुदायलाई पारस्परिक रूपमा लाभान्वित गर्ने विश्वास व्यक्त गरिएको थियो।
फ्लाई दुबईले सन् २०२६ को सेप्टेम्बरदेखि दुबई–पोखरा नियमित उडान सञ्चालन गर्ने योजना सार्वजनिक गरिसकेको छ। उक्त पहललाई नेपाल–यूएई सम्बन्ध थप सुदृढ बनाउने तथा पोखराको पर्यटन क्षेत्रको अन्तर्राष्ट्रिय पहुँच विस्तार गर्ने महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।






About Us
प्रतिक्रिया