काठमाडौं – नेपाल राष्ट्र राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको संस्थापक शेयर खरिद वा नामसारी गर्दा वास्तविक धनी तथा हिताधिकारीको पहिचान सुनिश्चित गर्न कडा व्यवस्था लागू गरेको छ। केन्द्रीय बैंकले एक सर्कुलर नै जारी गरेर एक पटक वा पटक पटक गरी चुक्ता पूँजीको कुल पाँच प्रतिशत वा कुल २५ लाखभन्दा बढी कायम हुने गरी संस्थापक शेयर खरिद वा नामसारी गर्दा सोको वास्तविक धनी वा हिताधिकारी व्यक्तिको विवरण अनिवार्य लिनुपर्ने व्यवस्था गरेको हो ।
अबदेखि सम्बन्धित व्यवसाय सम्बन्धी प्रचलित कानून बमोजिमको मापदण्ड पालना गरेको स्वघोषणा, सम्बन्धित व्यक्तिको नाम, थर, ठेगाना, पारिवारिक विवरण, वास्तविक धनी तथा हिताधिकारीको विवरण समेत माग्नुपर्ने भएको छ । नेपाल वा विदेशमा कुनै कसूरमा संलग्न भए वा नभएको स्वघोषणा लिनुुपर्नेछ । यदि संलग्न भएको भए सोको विस्तृत विवरण र वर्तमान अवस्था, कुनै प्रकारको मुद्दा मामिला, अनुसन्धान, वैकल्पिक विवाद समाधानको प्रक्रिया वा न्यायिक वा प्रशासनिक कारबाहीको प्रक्रियामा रहे वा नरहेको स्वघोषणा आवश्यक पर्ने केन्द्रीय बैंकले जनाएको छ ।
यस्तै, स्वदेश वा विदेशमा कर्जा सम्बन्धी कालोसूची वा त्यस्तै प्रकारको सूचीमा परे वा नपरेको स्वघोषणा, स्वार्थको द्वन्द्व हुनसक्ने अवस्था विद्यमान रहे वा नरहेको विवरण, नेपाली नागरिक भए निजको नेपाल बाहिर कुनै सम्पत्ति रहे वा नरहेको वा कुनै सम्पत्तिमा वास्तविक धनी वा हिताधिकारी भए वा नभएको स्वघोषणा, विगतमा संलग्न भएको कार्य, संस्था, प्राप्त भएको जिम्मेवारी, पुरस्कार, सजायको अवस्था, कार्य सफलताको उदाहरण लगायतका विषय खुल्ने सम्बन्धित क्षेत्रको कार्य अनुभव सम्बन्धी विवरण, वित्तीय आचरणसम्बन्धि विवरण पनि शेयर खरिद तथा नामसारी गर्दा चाहिने भएको छ ।
शेयरधनी संस्था भएको खण्डमा सो लगानीकर्ता संस्थामा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा एकल, संयुक्त वा समूहगत गरी १५ प्रतिशत वा सोभन्दा बढी शेयर वा पुँजी लगानी गरेको वास्तविक धनी वा हिताधिकारीको समेत यस्तो विवरण लिनुपर्ने केन्द्रीय बैंकले जनाएको छ । अहिले कुल पाँच प्रतिशत वा कुल २५ लाखभन्दा बढीको शेयर धारण गरेका तथा वास्तविक धनी वा हिताधिकारीको हकमा समेत उक्त विवरण लिएर राष्ट्र बैंकमा पेश गर्नुपर्नेछ ।





About Us
प्रतिक्रिया