चिया निर्यातको समस्या समाधानमा कूटनीतिक प्रयास जारी छः मन्त्री यादव


काठमाडौं – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले इलाम तथा झापामा उत्पादित चिया भारत निर्यातमा देखिएको समस्या समाधानका लागि कूटनीतिक प्रयास भइरहेको बताएकी छन्। प्रतिनिधिसभाको बुधबारको बैठकमा विनियोजन विधेयक, २०८३ अन्तर्गत उद्योग मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएकी हुन्।

मन्त्री यादवले चिया तथा अलैँचीलगायत कृषि उपजको भण्डारण र बजारीकरणमा विशेष योजना बनाइएको बताइन्। ‘स्थानीय कृषि उपजको बजारको पहुँच अभिवृद्धि गर्न सम्बन्धित क्षेत्रका व्यवसायीसँगको लागत साझेदारीमा गोदाम घर निर्माणका लागि स्रोत व्यवस्थापन भइरहेको छ’ मन्त्री यालवले भनिन्।

दैलेखस्थित पेट्रोलियम अन्वेषण परियोजनाको ड्रिलिङ पूरा भई अन्तिम प्रतिवदेन प्राप्त हुने क्रममा रहेको जानकारी दिँदै उनले प्रतिवेदनको सुझाव अनुरुप सरकारले थप कार्य अघि बढाउने प्रतिबद्धता जनाइन्। ‘धौवादी फलाम खानी सञ्चालनका लागि ‘मोडालिटी’ तय गरी विस्तृत अध्ययन प्रतिवेदन तयार गर्ने कार्य अघि बढाइनेछ’, उनले भनिन्। मन्त्री यादवले तीन महिनाको माग धान्ने गरी पेट्रोलियम पदार्थको भण्डारण क्षमता अभिवृद्धि गर्ने लक्ष्यअनुसार काम भइरहेको स्पष्ट पारिन्।