काठमाडौं – नेपाल राष्ट्र बैंकले सरल बैंकिङ्गसम्बन्धी व्यवस्थामा हेरफेर गरेको छ। केन्द्रीय बैंकले सरल बैंकिङ्गसम्बन्धी व्यवस्थामा हेरफेर गर्दै ज्येष्ठ नागरिक, अपाङ्ग र साक्षर नभएका व्यक्तिलाई विशेष प्राथमिकता दिएर सहज रूपले बैंकिङ्ग सुविधा उपलब्ध गराउन इजाजतपत्रप्राप्त संस्थाले त्यस्ता ग्राहकहरूका लागि विशेष काउन्टर तोकी सेवा प्रदान गर्नुपर्ने बताएको हो।
केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थालाई निर्देशन जारी गर्दै इजाजत पत्र प्राप्त संस्थाले एक आपसमा सहकार्य गरी प्रत्येक स्थानीय तहमा कम्तीमा एक शाखा अपाङ्गमैत्री बनाउनुपर्ने बताएको छ। यस प्रकारको शाखाको विवरण आफ्नो वेबसाइटमा राख्नुपर्ने बताएको हो।
संस्थाले एक आपसमा सहकार्य गरी एटिएम लाउञ्ज भएका स्थानमा ब्रेल साइन्स नियन्त्रण बटनहरू र अडियो सपोर्ट सहितको कम्तीमा एक अपाङ्गमैत्री एटिएम राख्नुपर्ने जनाएको छ। यस प्रकारको एटिएमको विवरण आफ्नो वेबसाइटमा राख्नुपर्नेछ। अपाङ्गगता भएका व्यक्तिले एटिएम, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग जस्ता वित्तीय सेवाहरू व्यक्ति स्वयंले उक्त सेवा उपयोग गर्न सक्ने स्वघोषणा गरेको खण्डमा संस्थाले त्यस्तो सेवा निज व्यक्तिलाई उपलब्ध गराउनु पर्नेछ।
बैंक तथा वित्तीय संस्थाले आफ्नो वेबसाइट तथा मोबाइल बैंकिङ्ग एप दृष्टि सम्बन्धी अपाङ्गता भएका व्यक्तिहरूले समेत प्रयोग गर्न सकिने गरी विकास गर्नुपर्ने समेत जनाएको छ। संस्थाले आफूले जारी गर्ने डेबिट/क्रेडिट कार्डमा दृष्टिविहीनमैत्री स्पर्श सुविधाहरू राख्नुपर्ने समेतको व्यवस्था निर्देशिकामा उल्लेख छ।






About Us
प्रतिक्रिया