एक मात्रै डेपुटी गभर्नर नियुक्तिप्रति कर्मचारीको आक्रोश, तत्काल अर्का डेपुटी नियुक्त गरेर सुशासन कायम गर्न आग्रह


काठमाडौं – नेपाल वित्तीय संस्था कर्मचारी संघ नेपाल राष्ट्र बैंकका अध्यक्ष हरिकृष्ण भट्टराईले राष्ट्र बैंकको ऐन विपरीत एक मात्रै डेपुटी गभर्नर नियुक्त गरेको बताएका छन्। राष्ट्र बैंक ऐनमा २ जना डेपुटी रहने व्यवस्था रहे पनि राष्ट्र बैंकले एक जना मात्रै डेपुटी नियुक्त गरेको बताएका हुन्। 

केन्द्रीय बैंकद्वारा आयोजित ७१ औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै तत्काल अर्का डेपुटी गभर्नर नियुक्तिका लागी माग गरेका हुन्। उनले एक डेपुटी गभर्नर पद रिक्त रहँदा निर्णय प्रक्रियामा बाधा पुगेको उल्लेख गरे। उनले तत्काल डेपुटी गभर्नर नियुक्त गरेर सुशासनको सुरुवात गर्नुपर्ने बताए। ‘राष्ट्र बैंक ऐनले स्वायत्त संस्था भने पनि के हामी स्वतन्त्र छौँ ? उनले भने, ‘ प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा विभिन्न निकायबाट नेपाल राष्ट्र बैंकलाई प्रहार भइरहेको छ।’ उनले बैंकको स्वायत्ततामाथि चौतर्फी प्रहार भइरहेको भन्दै राष्ट्र बैंक सरकारको विभाग, शाखा र कार्यालय नभएको समेत टिप्पणी गरे। 

उनले केन्द्रीय बैंकको निर्णय प्रक्रियामा हस्तक्षेप बढ्दै जाने हो भने देशको अर्थतन्त्र कहिल्यै सुरक्षित बन्न नसक्ने बताउँदै हस्तक्षेप रोकिनु्पर्ने बताए। उनले अवकाश कोषलाई व्यवस्थित बनाउन भनेका छन्। उनले आफूहरूको कोष आफ्नो अधिकार रहेको भन्दै अवकाश कोषमा बजेटले नै सम्बोधन गर्ने बताए।

उनले वित्तीय क्षेत्रमा कार्यरत कर्मचारीले उचित सम्मान पाउन नसक्दा कर्मचारी पलायन हुने अवस्था सिर्जना भएको बताएका छन्। उनले राष्ट्र बैंकमा बढुवा पनि नभएको बताए। उनले संस्थामा राम्रा कर्मचारीले बढुवा नपाउँदा कर्मचारी टिक्नै मुस्किल हुने अवस्था आउँदा बौद्धिक आकर्षणको रूपमा संस्था नहुनेप्रति चिन्ता समेत व्यक्त गरे।