काठमाडौं – गभर्नर प्रा.डा. विश्वनाथ पौडेल संयुक्त राज्य अमेरिकाको वासिङ्गटन डीसीमा आयोजित अन्तर्राष्ट्रिय मुद्रा कोष र विश्व बैंक समूहको स्प्रिङ्ग मिटिङ २०२६ मा सहभागी भएका छन् । उक्त बैठकमा आईएमएफ र समूहका सदस्य राष्ट्रका अर्थमन्त्री, केन्द्रीय बैंकका गभर्नर र वित्त तथा मौद्रिक अधिकारीहरूको सहभागिता थियो । बैठकको क्रममा आयोजित आईएमएफसीको परिचयात्मक सत्र तथा आईएमएफसी पूर्ण बैठक बैठकमा गभर्नर पौडेलले सहभागिता जनाएका हुन् ।
बैठकका क्रममा उनले अन्तर्राष्ट्रिय मुद्रा कोषका उप-प्रबन्ध निर्देशक बो लीसँग भेटवार्ता गरे । भेटका अवसरमा उनीहरूबीच नेपालको आर्थिक तथा वित्तीय स्थिति र पछिल्लो समय पश्चिम एसियामा जारी युद्धका कारण नेपालको अर्थतन्त्रमा परेको असर लगायतका विषयमा छलफल भयो । सो अवसरमा उप-प्रबन्ध निर्देशक लीले मूल्य स्थिरता, विदेशी विनिमय सञ्चितिलगायतका परिसूचक सन्तोषजनक रहेको भन्दै नेपाल राष्ट्र बैंकको सरहाना गरे ।

उनीहरूबीच नेपालले कोषबाट लिएको विस्तारित कर्जा सुविधा अन्तर्गतका कार्यक्रमको प्रगति समीक्षा र भावी योजनाबारे छलफल भएको थियो । सो अवसरमा गभर्नर पौडेलले नेपाललाई गरेको सहयोगका निम्ति कोषलाई धन्यवाद दिए । भेटका अवसरमा अर्थ मन्त्रालयका अधिकारीहरूको समेत सहभागिता थियो । बैठकका क्रममा गभर्नर पौडेलले कोषको एसिया एण्ड प्यासिफिक डिपार्टमेन्टका निर्देशक कृष्ण श्रीनिवासन, नेपालका लागि मिसन प्रमुख सरवत जहान र मनिटरी एण्ड क्यापिटल मार्केट डिपार्टमेन्टका पदाधिकारीहरूसँग छुट्टाछुट्टै भेटवार्ता गरे ।
त्यस क्रममा उहाँहरुबीच विस्तारित कर्जा सुविधा कार्यक्रमको समीक्षा भई आगामी दिनमा कोषबाट उपलब्ध हुने प्राविधिक सहयोगका सम्बन्धमा छलफल भएको थियो । साथै, गभर्नर पौडेलले साउथ इस्ट एशिया भोटिङ ग्रुपका कार्यकारी निर्देशक इदवान सुहार्दी विन हकिमसँग भेटवार्ता गरे । भेटका क्रममा उनीहरूबीच नेपालको वित्तीय क्षेत्रको सबलीकरणका निम्ति कोषबाट उपलब्ध हुन सक्ने प्राविधिक सहयोग र आर्टिफिसियल इन्टेलिजेन्स (एआई)का विषयमा समेत छलफल भएको थियो ।
बैठकका क्रममा गभर्नर पौडेलले एशिया प्यासिफिक ग्रुप अन मनी लाउन्ड्रिङका अधिकारी डेभिड शाननसँग पनि भेटवार्ता गरे । सो अवसरमा उनीहरुबीच नेपालमा सम्पत्ति शुद्धीकरण निवारणको विद्यमान अवस्था र ‘ग्रे लिस्ट’बाट बाहिर निस्कनका निम्ति भइरहेका प्रयासबारे छलफल भएको थियो । साथै, गभर्नर पौडेलले मलेसियाको केन्द्रीय बैंकका गभर्नर अब्दुल रसिद गाफरसँग
भेटवार्ता गरे । उनीहरुबीच एआई र बिग डाटा प्रयोगको सन्दर्भमा छलफल भएकाे हाे ।
सो अवसरमा गभर्नर पौडेलले राष्ट्र बैंकको ‘तथ्याङ्क महाशाखा’ लाई एआई र बिग डाटा उपयोगमा केन्द्रित गरिएको सन्दर्भ उल्लेख गर्दै यस विषयमा मलेसियाको अनुभवबारे चासो राखे । यस क्रममा गभर्नर गाफरले बिग डाटा उपयोगका सन्दर्भमा राष्ट्र बैंकलाई सहयोग गर्न मलेसियाको केन्द्रीय बैंक तयार रहेको धारणा राखे । बैठककै क्रममा गभर्नर पौडेलले अन्तर्राष्ट्रिय वित्त निगम र निजी क्षेत्रका विभिन्न संस्थाका प्रतिनिधिसँग पनि भेटवार्ता गरे ।

बैठकका दौरान गभर्नर पौडेलले नेपलिज अमेरिकन चेम्बर अफ कमर्शद्वारा डलास, टेक्ससमा अप्रिल १८ मा आयोजित ‘युएसए– नेपाल ग्रोथ ब्यापिटल एण्ड इनोभेशन डायोलग’ तथा अप्रिल १९ मा म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजी र हार्वर्ड विश्वविद्यालय नेपाली विद्यार्थी संघद्वारा बोस्टनमा आयोजित फायरसाइड च्याट विषयक कार्यक्रममा प्रमुख वक्ताको रूपमा सहभागी भई नेपालको आर्थिक तथा वित्तीय स्थिति, लगानीको सम्भावना र एआई लगायतका प्रविधिको उपयोगबारे धारणा राखे । साथै, गभर्नर पौडेल विश्व बैंक समूहद्वारा अप्रिल २० र २१ मा वासिङ्गटन डीसीमा आयोजित एक्जुकेटिभ फोरम कार्यक्रममा सहभागिता जनाए । सो कार्यक्रममा हार्वर्ड विश्वविद्यालयका प्राध्यापक केनेथ रोगोफ प्रमुख वक्ताको रूपमा रहेका थिए ।
बैठकमा आर्थिक अनुसन्धान विभागका कार्यकारी निर्देशक डा. रामशरण खरेल र गभर्नरको कार्यालयका निर्देशक शरणकुमार अधिकारीको समेत सहभागिता थियो । हाल विश्व बैंक समूहमा १८९ र अन्तर्राष्ट्रिय मुद्रा कोषमा १९१ राष्ट्रहरू आवद्ध छन् ।



About Us
प्रतिक्रिया