राष्ट्र बैंकका दुई निर्देशकको बढुवा, बने डेपुटी गभर्नरको दाबेदार


काठमाडौं – नेपाल राष्ट्र बैंकका दुई निर्देशकहरू कार्यकारी निर्देशकमा बढुवा भएका छन्। राष्ट्र बैंकका निर्देशक हिम प्रसाद न्यौपाने र मुक्तिनाथ सापकोटा कार्यकारी निर्देशकमा बढुवा भएका हुन्।

राष्ट्र बैंकको मानव संसाधन व्यवस्थापन विभागले एक सूचना जारी गर्दै दुई निर्देशकलाई कार्यकारी निर्देशकमा बढुवा गरेको जानकारी दिएको हो। बैंकमा प्रशासन सेवातर्फ रिक्त रहेको कार्यकारी निर्देशक पदसंख्या दुई पूर्ति गर्ने सन्दर्भमा नेपाल राष्ट्र बैंक कर्मचारी सेवा विनियमावली, २०६८ (संशोधन समेत) को विनियम ५२ बमोजिम सम्भाव्य भएका निर्देशक (अधिकृत प्रथम) पदमा कार्यरत अधिकृतहरूमध्येबाट सोही विनियमावलीको विनियम ६५ को उपविनियम (२) अनुसार निर्देशकलाई कार्यकारी निर्देशक पदमा बढुवा गरेको हो।

राष्ट्र बैंकका कार्यकारी निर्देशकमा बढुवा भएका न्यौपाने र सापकोटा अब बन्ने डेपुटी गभर्नरको समेत दाबेदार हुन्। गत मंगलबार सरकारले एक मात्रै डेपुटी गभर्नर नियुक्त गरेको छ। राष्ट्र बैंकका कार्यकारी निर्देशक किरण पण्डितलाई डेपुटी गभर्नरमा नियुक्त गरेपनि अर्को एक पद भने अझै रिक्त छ। केन्द्रीय बैंकमा दुई डेपुटी गभर्नर हुने व्यवस्था छ।

हिजो मात्रै कार्यकारी निर्देशकमा बढुवा भएका दुई कार्यकारीहरू समेत अब एक डेपुटी गभर्नरको दाबेदार बनेका छन्।