क्रिप्टोकरेन्सी कारोबार गर्ने चार जना ३० लाख नगदसहित प्रहरीको फन्दामा 


काठमाडौं – अभौतिक मुद्रा (क्रिप्टोकरेन्सी) तथा हुण्डी कारोबार गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा  चितवनका सवन अधिकारी र रबिन जि.आर, काठमाडौंका आशिष अधिकारी र ललितपुरका अनित्य शाक्य रहेका छन्। 

काठमाडौंको नयाँ बानेश्वर एरियामा उनीहरूले नेपाल राष्ट्र बैंकको निर्देशन विपरीत हुने गरी हुण्डी तथा क्रिप्टो करेन्सी कारोबार गरिरहेका थिए। सो घटनाको गोप्य सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नयाँ बानेश्वरबाट पक्राउ गरेको हो।

उनीहरूलाई नेपाली नगद तीस लाख र युएसडिसी कारोबार गर्ने विद्युतीय उपकरणसहित पक्राउ गरिएको प्रहरीले बताएको छ। उनीहरूलाई मुलुकी अपराध संहिता, २०७४ को दफा १२५ क बमोजिम हुण्डी सम्बन्धी कारोबार गर्न नहुने कसुर तथा दफा १६२(क) बमोजिम अभौतिक मुद्राको प्रयोग गर्न नहुने कसुरमा आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर भद्रकाली काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।