काठमाडौं – बैंक तथा वित्तीय संस्थाबाट नीजि क्षेत्रमा प्रवाह हुने कर्जा बढेको छ । नेपाल राष्ट्र बैंककाअनुसार निजी क्षेत्रमा प्रवाहित कर्जा ४.४ प्रतिशत बढेको हो । राष्ट्र बैंककाअनुसार २ खर्ब ४३ अर्ब ५४ करोडले बढेसँगै बैंक तथा वित्तीय संस्थाले नीजि क्षेत्रमा गरेको लगानी ५७ खर्ब ४१ अर्ब २४ करोड पुगेको हो ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा ६.० प्रतिशत ३ खर्ब ४ अर्ब ८२ करोडले बढेको थियो । वार्षिक विन्दुगत आधारमा २०८२ फागुन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ६.७ प्रतिशतले बढेको छ । राष्ट्र बैंककाअनुसार २०८२ फागुन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैर–वित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६२.७ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३७.३ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ६३.२ प्रतिशत र ३६.८ प्रतिशत रहेको थियो।
यस्तै, समीक्षा अवधिमा निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरूको ४.६ प्रतिशत, विकास बैंकहरूको ३.५ प्रतिशत र वित्त कम्पनीहरूको १.९ प्रतिशतले बढेको छ । साथै, २०८२ फागुन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहेको कर्जामध्ये चालु सम्पत्ति (कृषि तथा गैर– कृषिजन्य वस्तु) को सुरक्षणमा १५.० प्रतिशत रहेको छ भने घरजग्गा धितो सुरक्षणमा ६३.८ प्रतिशत रहेको छ । २०८१ फागुन मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अंश क्रमशः १४.५ प्रतिशत र ६५.२ प्रतिशत रहेको थियो।
केन्द्रीय बैंककाअनुसार फागुनसम्ममा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहेको कर्जामध्ये उपभोग्य क्षेत्रतर्फको कर्जा १०.५ प्रतिशत, निर्माण क्षेत्रतर्फको कर्जा ८.८ प्रतिशत, यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा ७.७ प्रतिशत, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा ५.६ प्रतिशत र सेवा उद्योग क्षेत्रतर्फको कर्जा १.८ प्रतिशतले बढेको छ भने कृषि क्षेत्रतर्फको कर्जा २.० प्रतिशत र वित्त बीमा तथा अचल सम्पत्ति क्षेत्रतर्फको कर्जा २.७ प्रतिशतले घटेको छ ।
यसैगरी, ट्रष्ट रिसिट (आयात) कर्जा २३.२ प्रतिशत, मार्जिन प्रकृतिको कर्जा ११.१ प्रतिशत, हायर पर्चेज कर्जा ८.६ प्रतिशत, माग तथा अन्य चालु पुँजी कर्जा ३.९ प्रतिशत, रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जासमेत) ३.५ प्रतिशत, आवधिक कर्जा ३.२ प्रतिशत र क्यास क्रेडिट कर्जा १.६ प्रतिशतले बढ्दा अधिविकर्ष कर्जा २.७ प्रतिशतले घटेको छ ।



About Us
प्रतिक्रिया