बैंक तथा वित्तीय संस्थामा ६ प्रतिशतले बढ्यो निक्षेप


काठमाडौं – बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप ६.० प्रतिशत (४ खर्ब ३३ अर्ब ७१ करोड रुपैयाँ) ले वृद्धि भई ७६९७ अर्ब ५९ करोड रुपैयाँ पुगेको छ। नेपाल राष्ट्र बैंककाे तथ्यांकअनुसार अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप ३.८ प्रतिशत (२ खर्ब ४५ अर्ब ३४ करोड रुपैयाँ) ले बढेको थियो।

वार्षिक विन्दुगत आधारमा २०८२ माघ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप १४.९ प्रतिशतले बढेको छ। माघ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दती निक्षेपको अंश क्रमशः ६.५ प्रतिशत, ४२.८ प्रतिशत र ४१.६ प्रतिशत रहेको छ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ५.२ प्रतिशत, ३४.८ प्रतिशत र ५२.४ प्रतिशत रहेको थियो। २०८२ माघ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ३४३ प्रतिशत रहेको छ। २०८१ माघ मसान्तमा यस्तो निक्षेपको अंश ३५.३ प्रतिशत रहेको थियो।