काठमाडौं – चालु आर्थिक वर्ष २०८२/८३ को ६ महिनाको अवधिमा नेपाल राष्ट्र बैंकले विदेशी विनिमय बजारमा सक्रिय रूपमा हस्तक्षेप गरेको देखिन्छ। राष्ट्र बैंकले वाणिज्य बैंकहरूबाट ३ अर्ब ४७ करोड अमेरिकी डलर खुद खरिद गरेको छ। यसबापत केन्द्रिय बैंकले बजारमा ४ खर्ब ९३ अर्ब ४ करोड रुपैयाँ बराबरको तरलता प्रवाह गरेको छ। अर्थात बैंकहरूले ल्याएको डलर राष्ट्र बैंकले किनेर त्यसको साटो नेपाली रुपैयाँ बजारमा पठाएको हो।
गत वर्षको यही अवधिमा भने २ अर्ब ५२ करोड अमेरिकी डलर मात्र खरिद गरिएको थियो। यसका लागि ३ खर्ब ४० अर्ब ६ करोड रुपैयाँ बजारमा प्रवाह गरिएको थियो। तुलना गर्दा यस वर्ष डलर खरिद र बजारमा पठाइएको रुपैयाँ दुवै उल्लेखनीय रूपमा बढेको देखिन्छ। रेमिट्यान्स र अन्य स्रोतबाट विदेशी मुद्रा आपूर्ति बढेकाले केन्द्रिय बैंकको डलर खरिदमा पिन वृद्धि भएको देखिन्छ।
त्यस्तै राष्ट्र बैंकले २ अर्ब ६ करोड अमेरिकी डलर बिक्री गरी २ खर्ब ९२ अर्ब ९१ करोड रुपैयाँ बराबरको भारतीय रुपैयाँ खरिद गरेको छ। अघिल्लो वर्ष सोही अवधिमा १ अर्ब ९० करोड अमेरिकी डलर बिक्री गरी २ खर्ब ५६ अर्ब ५१ करोड रुपैयाँ बराबरको भारतीय रुपैयाँ खरिद गरिएको थियो। राष्ट्र बैंकले डलर र भारतीय रुपैयाँ व्यवस्थापनमा अघिल्लो वर्षभन्दा बढी कारोबार गरेको छ। यसले विनिमय दर स्थिर राख्न र विदेशी मुद्रा सञ्चिति सन्तुलित राख्न भूमिका खेल्ने केन्द्रिय बैंकको भनाइ छ।



About Us
प्रतिक्रिया