सेवा तथा वस्तु विक्रेताले क्युआर बाट भुक्तानी लिँदा सचेत बन्न राष्ट्र बैंकको आग्रह


काठमाडौं – नेपाल राष्ट्र बैंकले सेवा तथा वस्तु विक्रेताले क्युआर बाट भुक्तानी लिँदा सचेत रहन अग्रह गरेको छ । केन्द्रीय बैंकको वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखाले वित्तीय चेतनाका लागि एक सूचना जारी गर्दै सतर्क बन्दै सुरक्षित कारोबार गर्न भनेको हो ।

विद्युतीय माध्यमबाट भुक्तानी कारोबार बढ्‌दै गएसँगै क्युआर भुक्तानीमा ठगीका केही घटनाहरू पनि भएको राष्ट्र बैंकले बताएको छ । विक्रेताले ग्राहकले देखाएको स्क्रिनसटमा मात्र भर परेर करोबार गर्दा ठगीमा पर्न सक्ने जोखिम रहन्छ किनभने सो स्क्रिनसट पुरानो भुक्तानीको रसिद वा नक्कली पनि हुन सक्ने भन्दै सचेत रहनुपर्ने बताएको छ ।

यस्तो जोखिमबाट बच्नका लागि ग्राहकले भुक्तानी गरेको सूचना दिएपछि वा भुक्तानीको स्क्रिनसट देखाएपछि स्क्रिनसटमा उल्लेखित मिति, समय, रकम र तोकिएको खातामा रकम जम्मा भएको अन्य विवरण रुजु गर्ने वा सम्बन्धित विक्रेतारसेवा प्रदायकले आफ्नो मोबाइल बैंकिङ्ग एप, मोबाइल बैंकिङ्ग सेवा वा एसएमएस/नोटिफिकेशन जाँच गरी वास्तवमै खातामा रकम जम्मा भयो कि भएन भनेर यकिन गर्नुपर्ने बताएको छ । भुक्तानी प्राप्त भएको सम्बन्धमा सुनिश्चित नगर्दा पछि ठूलो आर्थिक नोक्सानी व्यहोर्नुपर्ने हुन सक्ने भन्दै विद्युतीय माध्यमबाट भुक्तानी लिँदा रकम प्राप्त भएको यकिन गरेर मात्र कारोबार गर्न केन्द्रीय बैंकले सुझाव दिएको छ ।