राष्ट्र बैंकले जारी गर्यो २५ अर्बको ऋणपत्र, प्रस्ताव पेस गर्न आह्वान


काठमाडौं – नेपाल राष्ट्र बैंकले आज अर्थात् पुस ३० गते २५ अर्बको ऋणपत्र जारी गरेको छ । केन्द्रीय बैंकले बैंकिङ्ग प्रणालीमा अत्यधिक तरलता थुप्रिएपछि लगातार रुपमा ऋणपत्र जारी गर्दै आएको छ । यसैक्रममा केन्द्रीय बैंकले आजपनि १ वर्ष अवधिको २५ अर्बको राष्ट्र बैंक ऋणपत्र जारी गरेको हो ।

राष्ट्र बैंकले नेपाल राष्ट्र बैंक ऋणपत्र २०८३ ‘झ’ नामक ऋणपत्र जारी गरेको हो । यस ऋणपत्रको ब्याजदर बोलकबोलका ेमाध्यमबाट निर्धारण हुनेछ भने ब्याज भुक्तानी अर्धवार्षिक रुपमा हुनेछ । यस्तै, यस ऋणपत्रको साँवा भुक्तानी २०८३ पुस ३० गते हुनेछ । यस ऋणपत्रमा न्यूनतम ५ करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्मका लागी आवेदन दिएको छ ।

ऋणपत्रको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ । बहुब्याजदरमा पनि बोलकबोल गर्न सकिनेछ । आह्वान गरिएको ऋणपत्रको रकम बाँडफाँट गर्दा बोलकबोलको ब्याजदरलाई सानोदेखि ठूलो क्रममा राखी आह्वान रकमसम्म वा समितिले निर्धारण गरेको बाँडफाँट रकमसम्मको विन्दुमा कायम हुने ब्याजदरलाई एकल ब्याजदर कायम गरी सोही एकल ब्याजदरमा सो दर र सो दरभन्दा कम बोलवालालाई नेपाल राष्ट्र बैंक ऋणपत्र बिक्री गरिने उल्लेख छ ।

ऋणपत्र निष्कासन मितिमा काउण्टरपार्टीको खातामा पर्याप्त मौज्दात नभएमा त्यस्ता काउण्टरपार्टीको स्वीकृत बोल रकम रद्द गरी सोको २.५० प्रतिशत दरको हर्जाना सहित ६ महिनासम्म खुला बजार कारोबार तथा ब्याजदर करिडोर अन्तर्गतका कुनै पनि बोलकबोलमा सहभागी हुन बन्देज लगाइने ताएको छ । ऋणपत्रको स्वीकृत बोल रकम सम्बन्धित बोलवालाको लगानी पोर्टफोलियो हुने भएकोले सो रकमलाई अनिवार्य नगद मौज्दातमा गणना गर्न पाइने छैन । तर, यस बैंकको निर्देशनबमोजिम कायम राख्नु पर्ने वैधानिक तरलता अनुपात र खुद तरल सम्पत्ति अनुपातमा उक्त रकम गणना गर्न सकिनेछ ।