अधिक तरलताको बोझ पन्छाउन बैंकहरू कस्सिएः २५ अर्बको ऋणपत्रमा १ खर्ब २० अर्बभन्दा बढी आवेदन


काठमाडौं – बैंकिङ्ग प्रणालीमा थुप्रिएको लगानीयोग्य रकम व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले ऋणपत्र निष्काशन प्रक्रिया सुरु गरेको छ। बैंकिङ्ग क्षेत्रमा अधिक तरलता दीर्घकालसम्म कायम रहने संकेत देखिएपछि केन्द्रीय बैंकले एक वर्षे अवधिको ऋणपत्र जारी गरेको हो।

राष्ट्र बैंकले गत पुस १४ गते र पुस १६ गते गरी दुई चरणमा २५–२५ अर्ब रुपैयाँका ऋणपत्र निष्काशन गरेको छ। पुस १४ गते निष्काशन गरिएको ऋणपत्रमा मागभन्दा निकै बढी आवेदन परेको छ। वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरूले सो ऋणपत्रका लागि १ खर्ब २० अर्ब ५५ करोड रुपैयाँ बराबरको आवेदन दिएका छन्।

नेपाल बैंकर्स संघका पूर्वअध्यक्ष भुवन दाहालका अनुसार बैंकहरू पैसा थन्क्याएर राख्न नचाहने अवस्थामा छन्। ‘सर्वसाधारणको निक्षेपमा ब्याज तिर्नुपर्ने बाध्यताका कारण बैंक तथा वित्तीय संस्थाले आफ्नो पैसा राखिराख्न सक्दैनन्,’ उनले भने, ‘त्यसैले २ देखि ३ प्रतिशतकै ब्याजदरमा भए पनि राष्ट्र बैंकमा पैसा राख्न तयार हुन्छन्।’

बैंक तथा वित्तीय संस्थाबाट हुने कर्जा प्रवाह अपेक्षित रूपमा बढ्न नसक्दा बैंकिङ्ग प्रणालीमा अधिक तरलता थुप्रिने क्रम जारी छ। यसअघि राष्ट्र बैंकले लगातार निक्षेप संकलन उपकरण प्रयोग गर्दै बैंकिङ्ग प्रणालीबाट पैसा खिचिरहेको थियो। पछिल्लो केही महिनामा केन्द्रीय बैंकले निक्षेप संकलनको अवधि पनि बढाउँदै आएको छ । हाल एकैपटक ६ महिनाका लागि निक्षेप संकलन भइरहेको छ।


कोभिड–१९ पछिको कमजोर आर्थिक पुनरुत्थान, वैदेशिक लगानीको कमी, निजी क्षेत्रको कमजोर मनोबल, केही समयअघि भएको जेन–जी आन्दोलन र राजनीतिक तरंगले कर्जा लगानी विस्तारमा असर पारेको देखिन्छ। लगानी नबढे पनि बैंकहरूमा निक्षेप भने निरन्तर बढिरहेको छ। लगानीबाट अपेक्षित प्रतिफल नआउँदा बैंकहरूले सर्वसाधारणलाई दिने निक्षेप ब्याजदर पनि घटाउँदै लगेका छन्। बैंक तथा वित्तीय संस्थाबाट कर्जा लगानी विस्तार हुन नसक्दा बैंकिङ्ग क्षेत्रमा तरलता व्यवस्थापन नै चुनौतीपूर्ण बन्दै गएको छ। राष्ट्र बैंकले पछिल्ला दुई वर्षयता विभिन्न मौद्रिक उपकरण प्रयोग गर्दै ८ खर्ब रुपैयाँभन्दा बढी रकम बैंकिङ्ग प्रणालीबाट खिचिसकेको छ।

राष्ट्र बैंकको तथ्यांकअनुसार पुस १२ गतेसम्म बैंक तथा वित्तीय संस्थामा ७५ खर्ब ९२ अर्ब रुपैयाँभन्दा बढी निक्षेप छ । सोही अवधिमा कर्जा लगानी भने ५६ खर्ब ९० अर्ब रुपैयाँ मात्र पुगेको छ। यस आधारमा हेर्दा हाल बैंकिङ्ग प्रणालीमा करिब ११ खर्ब रुपैयाँ हाराहारी लगानीयोग्य रकम रहेको देखिन्छ। बैंकिङ्ग क्षेत्रमा बढ्दो लगानीयोग्य रकमलाई लिएर नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले बारम्बार चिन्ता व्यक्त गर्दै आएका छन्।

चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै उनले बैंकिङ्ग प्रणालीमा देखिने संरचनागत प्रकृतिको तरलता व्यवस्थापन गर्न आवश्यकताअनुसार राष्ट्र बैंक ऋणपत्र निष्काशन गरिने स्पष्ट पारेका थिए।
तरलता अझै केही समय थुप्रिने देखिएपछि राष्ट्र बैंक नयाँ उपायमार्फत व्यवस्थापनमा जुटेको हो। यता, बैंकिङ्ग क्षेत्रमा तरलता प्रशस्त हुँदा निक्षेप र कर्जाको भारित औसत ब्याजदर घट्दो क्रममा छ।