१ वर्षका लागि २५ अर्ब रुपैयाँको ऋणपत्र जारी गर्दै राष्ट्र बैंक


काठमाडौं – नेपाल राष्ट्र बैंकले एक वर्षे अवधिको ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८३ ‘क’ बोलकबोल प्रक्रियाबाट बिक्री गर्ने भएको छ। कुल २५ अर्ब रुपैयाँ बराबरको उक्त ऋणपत्र धितो राखी कर्जा लिन वा दिनसमेत पाइनेछ। ब्याजदरसमेत बोलकबोल प्रक्रियाबाटै निर्धारण हुने केन्द्रीय बैंकले सूचनामार्फत जानकारी गराएको छ।

बैंक तथा वित्तीय संस्था, गैरबैंक तथा वित्तीय संस्था, बिमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले उक्त ऋणपत्र खरिद गर्न सक्नेछन्। आज अपराह्न २ बजे बोलकबोल हुनेछ।

ऋणपत्रको साँवा भुक्तानी २०८३ पुष १४ गते हुनेछ। अर्धवार्षिक रूपमा ब्याज भुक्तानी हुने र त्यसमा ब्याजकर समेत लाग्नेछ।

ऋणपत्र घटीमा न्यूनतम ५ करोड रूपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म इच्छुक खरिदकर्ता प्रतिस्पर्धी वा अप्रतिस्पर्धी रूपमा सहभागी हुन सक्ने व्यवस्था गरिएको छ।