काठमाडौं – सञ्चालनमा रहेका २० वाणिज्य बैंकको नाफामा उल्लेख्य गिरावट आएको छ । बैंकहरुले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार गत आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा अहिले बैंकहरुको नाफामा गिरावट आएको हो । बैंकहरुले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार २० वटा वाणिज्य बैंकले चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा बैंकहरुले १३ अर्ब १४ करोड बढी नाफा आर्जन गरेका छन् ।
जबकी गत वर्षको असोजसम्ममा बैंकहरुले १६ अर्ब १८ करोड बढी नाफा आर्जन गरेका थिए । साँवा ब्याज भुक्तानी प्रभावित बन्दा बैंकहरुको नाफामा गिरावट आएको यस क्षेत्रका विज्ञहरु बताउँछन् । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको प्रत्यक्ष प्रभाव समेत बैंकको नाफामा परेको उनीहरुको बुझाई छ ।
असोजसम्ममा ५ वटा बैंकहरुको मात्रै नाफा बढेको छ भने १५ वटा बैंकको नाफा घटेको छ । यसले पनि बैंकहरुमा परेको दबाब देखाउँछ । चालु आर्थिक वर्षको असोजसम्ममा सबैभन्दा धेरै नाफा बढाउनेमा राष्ट्रिय वाणिज्य बैंक रहेको छ । बैंकले ५८ करोड ९७ लाख आर्जन गरेको छ । गत वर्षको असोजमा बैंकले १५ करोड १३ लाख मात्रै नाफा गरेको थियो । यस्तै, ग्लोबल आईएमई बैंकको पनि नाफा बढेर १ अर्ब ८५ करोड ८६ लाख, सानिमा बैंकको बढेर ४५ करोड ४९ लाख रुपैयाँ, एनआईसी एशिया बैंकको बढेर १२ करोड २१ लाख रुपैयाँ र एभरेष्ट बैंकको बढेर १ अर्ब १७ करोड ९२ लाख पुगेको छ ।
१५ वटा बैंकको नाफामा गिरावट आउँदा सिटिजन्स बैंकले घाटा ब्यहोरेको छ । हाल बैंकको नाफा २२ करोड ४ लाख ऋणात्मक छ । यस्तै, कृषि विकास बैंकले ५७ लाख ३८ हजार रुपैयाँ, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ४ करोड ५० लाख ५० हजार रुपैयाँ, प्रभु बैंकले ५५ करोड ८४ लाख ८३ हजार, नेपाल एसबीआई बैंकले ५० करोड १५ लाख ६५ हजार खुद नाफा आर्जन गरेका छन् ।
साथै, लक्ष्मी सनराइज बैंकले ३३ करोड २३ लाख ३१ हजार, एनएमबि बैंकले ९१ करोड ५९ लाख ८३ हजार रुपैयाँ, स्ट्यान्डर्ड चार्टर्ड बैंकले ६९ करोड २१ लाख ६९ हजार नाफा कमाएका छन् । यस्तै, माछापुच्छ्रे बैंकले ४१ करोड ७९ लाख ५६ हजार, सिद्धार्थ बैंकले ३२ करोड ४० लाख ९१ हजार, नबिल बैंकले १ अर्ब ७५ करोड ६९ लाख ९१ हजार रुपैयाँ नाफा कमाएका छन् ।
यसैगरी, हिमालयन बैंकले ७० करोड २८ लाख ९४ हजार, नेपाल बैंकले ५८ करोड ८२ लाख ८७ हजार, प्राइम कमर्शियल बैंकले १ अर्ब २५ करोड ८४ लाख ३० हजार, कुमारी बैंकले १ अर्ब ५ करोड ६५ लाख ३१ हजार रुपैयाँ नाफा कमाएको छ ।






About Us
प्रतिक्रिया