सीआईबीले पक्राउ गरेका प्रभु बैंकका पूर्व अध्यक्ष भट्टचनको कसुर प्रमाणित भएमा के सजाय हुन्छ ?


काठमाडौं –  प्रभु मनि ट्रान्सफर प्रालिका अध्यक्ष वा प्रभु ग्रुपका सञ्चालक देवी प्रकाश भट्टचन ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्सटर्सन) र नेपाल राष्ट्र बैंक ऐन, २०५८ अन्तर्गत कसुरमा पक्राउ परेका छन् । प्रहरीका अनुसार उनीविरुद्ध दुई वटा कसुरमा उजुरी परेको हो । 

यदि उनीविरुद्ध परको ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी कसूर प्रमाणित भएकामा उनलाई ३ वर्षसम्म कैद तथा ३० हजार रुपैयाँसम्म जरिवाना हुनेछ । साथै, नेपाल राष्ट्र बैंक ऐन, २०५८ अन्तर्गत कसुर  अनुसन्धान पछि प्रमाणित भएमा भट्टचनको बिगो जफत गरिनेछ र सो बिगोको तीन गुणासम्म जरिवाना गर्न सकिनेछ।

यस्तै, अपराधको गम्भीरता र बिगोको परिमाणका आधारमा उनलाई सात वर्षसम्म कैद, वा जरिवाना र कैद दुवै सजाय हुनसक्छ। नेपाल राष्ट्र बैंक ऐन, २०५८ अन्तर्गतको कसुरमा संलग्न व्यक्तिलाई ऐन अनुसार यस्ता अपराधमा संलग्न कसुरदारलाई तीन वर्षसम्म कैद तथा रु ३० हजार रुपैयाँसम्म जरिवाना गर्न सकिने कानुनी प्रावधान रहेको छ ।  

यसबाहेक, ऐनको दफा ९५ अन्तर्गत बैंक तथा वित्तीय क्षेत्रसँग सम्बन्धित गम्भीर आर्थिक अपराध -जस्तै ठगी, नक्कली कागजात प्रयोग वा बैंकको स्वीकृति बिना अनधिकृत कारोबार गर्ने व्यक्तिलाई झन् कडा सजाय तोकिएको छ।

उक्त प्रावधान अनुसार, यस्तो कसूर गर्ने व्यक्तिको बिगो जफत गरिनेछ र त्यसको तीन गुणासम्म जरिवाना वा सात वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।यदि बिगो (अपराधबाट प्राप्त लाभ) निर्धारण गर्न नसकिने अवस्था भएमा, अदालतले कसूरको मात्रा हेरी दश लाख रुपैयाँसम्म जरिवाना वा तीन वर्षसम्म कैद वा दुवै सजाय दिन सक्नेछ।