सय किलो सुन तस्करीमा धेरै चिनियाँ नागरिकको सहभागिता, सुनकाण्डले नयाँ मोड लिँदै, हालसम्ममा को–को परे प्रकाउ ?

सय किलो सुन तस्करीमा धेरै चिनियाँ नागरिकको सहभागिता, सुनकाण्डले नयाँ मोड लिँदै, हालसम्ममा को–को परे प्रकाउ ?


बैंकिङ्ग समाचार,काठमाडौं ।

विमानस्थल बाहिरबाट बरामद भएको ६० किलो सुनको अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले छानबिनको दायरालाई फराकिलो बनाउँदै लगेको छ। उक्त सुनकाण्डका मुख्य योजनाकार दावा छिरिङ रहेको र उसको सम्बन्ध खास गरी नेकपा माओवादी केन्द्रका नेताहरूसँग देखिएकाले उक्त सुनकाण्डले नयाँ मोड लिने देखिएको छ । सोअनुसार सीआईबीले आफ्नो अनुसन्धान पनि केही माओवादी नेतातर्फ केन्द्रित गरेको स्रोतले जनाएको छ । सीआईबीको हिरासतमा रहेका दावाले छानबिनमा सहयोग नगरेपछि सीआईबीले दावाको कलडिटेल सीडीआर मगाएर अनुसन्धान शुरू गरेको छ । 

सय किलो सुन तस्करी प्रकरणमा थप चार जना चिनियाँ नागरिक पक्राउ परेका छन् । सय किलो सुन प्रकरण भनेर प्रख्यात भएको यस काण्डमा हालसम्म पक्राउ पर्नेको संख्या २२ पुगेको छ । सय किलो पक्राउ परेको सुन गालेर हेर्दा ६० किलो ७ सय १६ ग्राम मात्र भएको थियो ।  नेपालबाट तस्करी भएर भारततर्फ सयौं किलो गइसकेको पुष्टि भइसकेको छ ।

अन्तर्राष्ट्रिय गिरोहकै सक्रियतामा भइरहेको सुन तस्करीमा चिनियाँ नागरिकको सहभागिता अत्यधिक हुन थालेपछि अनुसन्धानको जिम्मा पाएको सिआइबीले नेपालमा बसिरहेका र ओहोरदोहोर गरिरहेका चिनियाँहरूमाथि निगरानी बढाएको छ । गत साता पनि दुई जना चिनियाँ नागरिकसहित प्रमुख नेपाली अभियुक्तको आरोप लागेका राकेश अडुकियाका छोरा रोहन अडुकिया पक्राउ परे पनि आवश्यक प्रमाण अपुग भएपछि पुनः बोलाउनेगरी छोडिएको थियो ।

बुधबार पक्राउ परेका चिनियाँ नागरिकहरूमा लिविन ताई, टिमिङ मी, डिङ सेङ्फा र ली नेङ्काई रहेका छन् । यसअघि पक्राउ परेका व्यक्तिहरूसँगको बयानका आधारमा उनीहरूलाई पक्राउ गरिएको  सीआईबीले जनाएको छ । यसअघि राजस्व अनुसन्धान विभागले १५ नेपालीसहित १८ जनालई पक्राउ गरी  सीआईबीलाई हस्तान्तरण गरेको थियो । जसमा भन्सार अधिकृत सन्तोष चन्द र भन्सार एजेन्ट राजकुमार भुजेल पनि छन् । स्वास्थ्यमा समस्या देखिएपछि भन्सार एजेन्ट रूक्मिना सुब्बालाई तारिखमा छोडिएको छ ।

यसैगरी, ट्याक्सी चालक अशोक लामासहित अन्य सरोज श्रेष्ठ, नरेश तामाङ, कृष्णकुमार श्रेष्ठ, राजनकुमार श्रेष्ठ, कुमार ढकाल, राजेन्द्रबहादुर राई, यादव पराजुली, सुदर्शन गौतम र हर्कराज राई अहिले पनि प्रहरी हिरासतमा नै रहेका छन् ।तस्करीमा तिब्बत मूलका भारतीय नागरिक ५३ वर्षीय थाप्तेन छिरिङ, चिनियाँ नागरिक जिक्वाङ लिन र तिब्बत मूलका बेल्जियन नागरिक दावा छिरिङको मुख्य भूमिका देखिएको अनुसन्धानमा संलग्न ब्युरोका अधिकारीहरू बताउँछन् । 

सीआईबी स्रोतका अनुसार पछिल्लो समय नेपालको बाटो भई भारततर्फ तस्करी हुँदै आएको सुन तस्करीमा माओवादी केन्द्रका नेताहरू कुनै न कुनै रूपमा जोडिँदै आएको अनुसन्धानको क्रममा फेला परेको छ ।