‘ऋण नतिरेरभन्दा ‘चेक बाउन्स’ले कालोसूचीमा पर्ने धेरै छन्’

२०८३ सालसम्म सेन्ट्रल केवाईसीको काम सक्ने कर्जा सूचना केन्द्रको लक्ष्य छ – प्रवक्ता कुँवर


बैंक तथा वित्तीय संस्थाबाट हुने सम्पूर्ण कर्जाको सूचना तथा ‘चेक बाउन्स’ कर्जा सूचनासँग सम्बन्धित सूचनालाई मिहिनढंगले राख्दै आइरहेको कर्जा सूचना केन्द्रकाअनुसार कूल १९ लाख ६१ हजारभन्दा बढी ‘ऋणी’मध्ये १ लाख २९ हजार जनाभन्दा बढी कालोसूचीमा छन् । तर, यसमध्ये ७० प्रतिशत कर्जाको सावा र ब्याज १ वर्षसम्म भुक्तानी नगरेरभन्दा पनि चेक बाउन्सका कारण कालोसूचीमा सूचीकृतहरू भएका हुन् । र, यो तथ्यांक २०७२ सालको भूकम्पयता निरन्तर बढ्दो अवस्थामा रहँदा केन्द्रको आम्दानी र कारोबार नै बढ्न थालेको छ ।

यसबाहेक, नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको ‘नो योर कस्टमर’लाई केन्द्रीकृत गर्ने र यसका लागि राष्ट्रिय परिचयपत्रको साहारा लिने निर्णयसहित केन्द्रलाई ‘सेन्ट्रल केवाईसी’को आवश्यक पूर्वाधार र संयन्त्र निर्माणको जिम्मेवारी दिएको छ । यो काम २०८३ को अन्तिमसम्म सक्ने लक्ष्य छ र त्यसपछि सम्पूर्ण वित्तीय संस्थाका सेवाग्राहीको सूचना केन्द्रीकृत हुनेछ । यही विषयहरूसँग सम्बन्धित रहेर बैंकिङ्ग बहसमा केन्द्रका प्रवक्ता विजय कुँवरसँग गरेको कुराकानीको सम्पादित अंशः–

कर्जा सूचना केन्द्रका अनुसार कालोसूचीमा पर्नेको संख्या ह्वात्तै बढेको छ । २०७६ को अन्त्यमा ८ हजार हाराहारीको संख्यामा रहेको यो सूची अहिले १ लाख २९ हजार पुगेको छ । यसले तपाईँहरूको व्यस्तता बढाएको छ ? कस्तो प्रभाव छ ?

विगत ६/७ वर्षयता कालोसूचीमा पर्नेको संख्या बढ्दै आएको छ । तपाईँले कोरोना महामारीयता भन्नुभयो तर तथ्यांकले भूकम्पयता नै कालोसूचीमा पर्नेको संख्या बढेको देखाउँछ । २०७२ सालको भूकम्प अघि वर्षमा १ हजार जना पनि कालोसूचीमा पर्दैनथे । तर, भूकम्पपछिको १/२ वर्षपछि गुणात्मकरुपमा बढ्दै आएको छ । भूकम्प अघि ८ सयदेखि ९ सय हाराहारी प्रतिवर्ष कालोसूचीमा पर्थे । भूकम्पपछि दोब्बरले संख्या बढ्न थाल्यो र कोरोना अघिसम्म ८ हजार जना कालोसूचीमा पुगे ।

कोरोना लगत्तै प्रतिवर्ष १५ हजार जनासम्म कालोसूचीमा पर्न थाले । त्यसपछि एकै वर्ष ३० हजार जना र यसबाट पनि बढेर ५० हजार जनासम्म एकै वर्ष कालोसूचीमा पर्न थाले । २०८०/८१ मा एकै वर्षमा ५० हजारभन्दा बढी कालोसूचीमा परे र २०८१/८२ मा पनि यो क्रम कायमै रह्यो । जससँगै, कूल १ लाख २९ हजार जना कालोसूचीमा छन् ।

भूकम्पपछि त देशको अर्थतन्त्रले उल्लेख्य प्रगति गरेको भनिन्छ । एकै वर्षमा ७ प्रतिशतसम्मको आर्थिक वृद्धि हासिल पनि भएको थियो । तर, व्यवसायको हिसाबकिताब बिग्रन थालेको त भूकम्पपछि नै रहेछ ?

हो । भूकम्पले देशको आर्थिक कारोबार र व्यवसायीक कारोबारको हिसाब बिग्रन थालेको देखाउँछ । त्यसमा २०१९ को महामारी र त्यसपछिको रुस–युक्रेन युद्ध, इजरायल–प्यालेसटाइन युद्धसँगै अहिलेको विश्व्यापी ‘ट्यारिफ’ले थप मलजल गर्‍यो । यसबाहेक, २०७७/७८ देखि लघुवित्तले पनि कालोसूचीमा राख्न पाउने व्यवस्था गरेसँगै कालोसूचीमा पर्नेको संख्या बढाउन सहयोगी भूमिका खेल्यो । यस्तै, ज्वाइन्ट भेञ्चर कम्पनीलाई समेत कालोसूचीमा राख्न पाउने प्रावधानले यो संख्या बढेको हो ।

यही गतिमा कालोसूचीमा पर्नेको संख्या बढ्यो भने कूल ‘लोन एकाउन्ट’को आधा जति नै पर्छन् जस्तो देखिन्छ त ?

कालोसूचीमा पर्नेहरु मात्रै छैनन् । सूचीबाट हट्नेहरूको संख्या पनि बढ्दै छ । कालोसूचीमा पर्नेको संख्या उल्लेख्य रहे पनि पछिल्ला दुई वर्षयता यो सूचीबाट हट्नेको संख्या पनि बढ्दो छ । २०८०/८१ मा १४ हजारभन्दा बढी र २०८१/८२ मा १८ हजारभन्दा बढी ऋणी कालोसूचीबाट हटेका छन् । तर, तुलनात्मकरुपमा हट्नेहरूको संख्या न्यून छ । यद्यपि, वर्षेनी कालोसूचीबाट हट्ने ऋणीको संख्या बढ्दा अर्थतन्त्र चलायमान बनेर बजार मन्दीबाट माथि उठ्न थालेको जस्तो देखिन्छ ।

वर्षेनी हजारौँको संख्यामा ऋणीलाई कालोसूचीमा राखेपछि तपाईँहरूलाई कर्जा सूचना केन्द्रको साटो कालोसूची केन्द्र पनि भन्छन् । तपाईँहरूको शेयर स्वामित्व बैंक, विकास बैंक र वित्त कम्पनीसँग छ । यसले तपाईँहरूले बढी बैंक तथा वित्तीय संस्थाको पक्षमा काम गर्ने हो कि भन्ने संशय पनि त छ ?

बजारमा धेरैले यसै भन्छन् । तर, कर्जा सूचना केन्द्रको मुख्य काम ऋणीलाई कालोसूचीमा राख्ने होइन । यो नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ८८ अन्तरगत स्थापना भएको हो । यसले आफूले गर्ने काम, कारबाही र कर्तव्य नेपाल राष्ट्र बैंकको एकीकृत निर्देशन बमोजिम क, ख, ग र घ वर्गका वित्तीय संस्थासँगको सहकार्यमा हुन्छ । यहीकारण, केन्द्रले वित्तीय संस्था र सरकारको हितमा नभएर नियमसंगत ऐन र कानून बमोजिम गर्दै आइरहेको छ ।

निवर्तमान गभर्नर महाप्रसाद अधिकारीज्यूले कालोसूचीमा धेरै पर्नुको कारण वर्तमान कानुनी व्यवस्था पनि एक कारण भएको बताउनुभएको थियो । के हो खास कारण नीति नियम नै गलत हो वा अर्थतन्त्रको चक्र ?

निवर्तमान गभर्नरज्यूले भनेअनुसार वर्तमान कानूनी व्यवस्था पनि एक हो । तर, योभन्दा धेरै ऋणीहरूमा वित्तीय चेतना र ऋणको चेतना नहुनु मुख्य कारण हो । आर्थिक कारोबार एकदमै संवेदनशील विषय हो । यसलाई सानोरुपमा लिन्छौँ । जसको दीर्घकालमा प्रभाव पार्छ । खाली चेक काट्दा समस्या आइपर्छ भन्ने जानकारी नहुनु पनि यसको समस्या हो ।

ऋणीहरू धेरै कारण कालोसूचीमा पर्छन् । तर, तीमध्ये मुख्य गरी बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋणको सावाँ ब्याज एक वर्षसम्म नर्तिदा वित्तीय संस्थाको सिफारिसअनुसार र भुक्तानी गर्नुपर्ने रकम चेकमार्फत दिँदा ‘बाउन्स’ भएमा पर्छन् ।

यीमध्ये कुन कानुनी व्यवस्था परिवर्तन आवश्यक छ ? निवर्तमान गभर्नरज्यूले कुनमा इङ्गित गर्नु भएको होला ?

ऋणको सावा र ब्याज नतिरेर कालोसूचीमा पर्नेको संख्या ३० प्रतिशत हाराहारी छ । जबकि, ‘चेक बाउन्स’का कारण कालोसूचीमा पर्नेको संख्या ७० प्रतिशतभन्दा बढी छ । कर्जा नतिरेका व्यक्ती वा संस्था कालोसूचीमा प्रतिशतका आधारमा धेरै छैनन् । कालोसूचीमा पर्ने मुख्य कारण नै चेक अनादर हो ।

अब ‘चेक बाउन्स’का घटना प्रहरीले हेर्ने गरी व्यवस्था भएको छ । अब कालोसूचीमा पर्नेको संख्या घट्छ ?

‘चेक बाउन्स’को उजुरी प्रहरीमा पुगेर मिलापत्र वा कारोबारको हिसाब मिलान भएमा कालोसूचीमा पर्ने घट्न सक्छन् । तर, प्रहरीमा पनि जाने र कर्जा सूचना केन्द्रमा पनि आउने भयो भने नघट्न पनि सक्छ ।

कालोसूचीमा पर्नेको संख्या बढ्दा कर्जा सूचना केन्द्रको आम्दानी पनि बढेको छ नै। यता १९ लाख ६० हजारभन्दा बढी ‘लोन एकाउन्ट’का कारण पनि तपाईँहरूको आम्दानी बढ्न थालेको छ, हैन ?

हो बढेको छ । तर, अहिले यति नै बढेको छ भन्ने तथ्यांक नभए पनि हाराहारी १ अर्बको कारोबार कर्जा सूचना केन्द्रले गर्न थालेको छ । यो बढ्दो अवस्थामा छ ।

कालोसूचीमा पर्नेको संख्या बढेपछि तपाईँहरू मध्यम करदाताबाट बढुवा भएर ठुला करदाता बन्नुभयो हैन ?

हो । मध्यकरदाताबाट केन्द्र ठुला करदातामा परिणत भएको छ ।

केन्द्रको मुख्य काम कर्जा सूचना उपलब्ध गराउने हो । यसको निश्चित सेवा शुल्क लाग्छ नै । तर, ऋणीहरूबाट बढी शुल्क असुलेको गुनासो आउँछ । केन्द्रले लिने शुल्क निश्चित रहेपनि बढी लिइएको खण्डमा कारबाहीको व्यवस्था छ कि छैन ?

केन्द्रमा पनि यस खालको गुनासो आइरहन्छ । तर, हामीले कर्जा सूचनामा लाग्ने सेवा शुल्क वेबसाइटमार्फत राख्दै आएका छौँ । बैंक तथा वित्तीय संस्थाले कर्जा सूचनाका लागि सेवाग्राहीको जानकारीका लागि ५५० रुपैयाँ र भ्याट लिँदै आइरहेको छ । तर, वित्तीय संस्थाहरूले तोकिएको शुल्कभन्दा बढी शुल्क लिइरहेको गुनासो आइरहेको छ । यस्तो अवस्थामा नेपाल राष्ट्र बैंक समक्ष उजुरी गर्दा कारबाही हुन्छ ।

नेपाल राष्ट्र बैंकले १० लाखभन्दा माथिको कर्जाको सूचना र सावा ब्याज भुक्तानी रोकिएको ९० दिनभन्दा माथिका कर्जाको सूचना केन्द्रलाई बुझाउनुपर्ने व्यवस्था गरेको छ । यसको प्रभाव कस्तो रहला ?

यो पहिलादेखि नै कायम रहेको व्यवस्था हो । यसको मुख्य उद्देश्य तथ्यांकको ‘रियलटाइम’ जानकारी पाउनका लागि गरिएको हो । अहिले ९० दिनको सूचना मात्रै उपलब्ध गराउनुपर्ने व्यवस्था वित्तीय संस्थालाई केन्द्रीय बैंकले गरेको छ । तर यो अझै रियलटाइम छैन । जसकारण आजको भोलि नै रियलटाइम तथ्यांक उपलब्ध भने हुँदैन । यो व्यवस्था हेर्दा र सुन्दा कडा लागे पनि केही हदसम्म लचिलो पनि हो ।

त्यसो हो भने रियलटाइम सूचना केन्द्रलाई पठाउन कसले कस्तो भूमिका खेल्नुपर्‍यो ?

कर्जा सूचना केन्द्रलाई रियलटाइम सूचना उपलब्ध गराउनका लागि सबैजसो सरोकारवालाहरूले आफ्नो ठाउँबाट भूमिका खेल्नुपर्छ । आवश्यकताअनुसारको पूर्वाधार निर्माणमा लाग्नुका साथै केन्द्रीय बैंकले समेत आवश्यक प्रबन्ध गर्नुपर्छ । सोहीकारण, सबैजसो निकाय पूर्णरुपमा लाग्नुपर्छ । अहिले ९० दिनमा उपलब्ध हुने व्यवस्था अब ६० हुँदै ३० दिनसम्म झार्ने गरी अघि बढ्नुपर्छ ।

यही कर्जाको रियलटाइम सूचना संकलन र व्यवस्थापन गर्नै हामीले सकेका छैनौँ । तर यतिबेला हाम्रो परिकल्पना सेन्ट्रल केवाईसीमा केन्द्रित छ । यसको अर्थ केन्द्रसँग राष्ट्रिय परिचयपत्रसँग सम्बन्धित सम्पूर्ण जानकारी राख्ने भनिएको छ । यसले थप चुनौती थप्दैन ?

सेन्ट्रल केवाईसीका लागि तपाईँले भनेजस्तो चुनौती र मुस्किल त छ । तर, कर्जा सूचना केन्द्रको मूल्य काम नै तथ्यांक संकलन र आवश्यकताअनुसार बैंक तथा वित्तीय संस्थालाई उपलब्ध गराउने नै हो । तथ्यांक राख्नका लागि आवश्यक सबै स्रोत तथा साधन केन्द्रसँग छ । यहीकारण, नेपाल राष्ट्र बैंकले केन्द्रलाई यसको जिम्मेवारी दिएको हो । अहिलेसी–केवाईसीकाे दोस्रो चरण सकिएको छ । अब तेस्रो चरणको काम सुरु हुन्छ र यो चरण सकिएपछि पूर्णरुपमा सेन्ट्रल केवाईसी कार्यान्वयनमा आउँछ । तेस्रो चरणका कामहरू पहिलो र दोस्रो चरणकोभन्दा वृहत् कामहरू हुन्छन् ।

तेस्रो चरणको काम सकिएपछि बैंक तथा वित्तीय संस्थाको तथ्यांक मात्रै होइन । यसमा राहदानी विभाग, टेलिकम, खानेपानी, बीमा, यातायात र शिक्षा लगायत तथ्यांक केन्द्रीकृत हुन्छन् । यहीकारण, सेन्ट्रल केवाईसी भनिएको हो । तेस्रो चरणको काम २०८३ को अन्त्यसम्म सक्ने कर्जा सूचना केन्द्रको लक्ष्य छ । यससँगै सेन्ट्रल केवाईसी पूर्णरुपमा कार्यान्वयनमा आउँछ ।