क्रेडिट कार्डबाट हुने कारोबार बढेर ६ अर्ब २२ करोड नाघ्यो


काठमाडौं- नेपाल राष्ट्र बैंकको आर्थिक वर्ष ०८१/८२ को तथ्याङ्कअनुसार नेपालमा क्रेडिट कार्ड प्रयोग उल्लेखनीय रूपमा बढ्दै गएको छ। क्रेडिट कार्डको माध्यमबाट नगद बिना सामान वा सेवा किन्न सकिने भएकाले पछिल्लो समय यसको प्रयोग बढेको हो । बैंक वा वित्तीय संस्थाले क्रेडिट लिमिट (उधारो करोबारको सीमा) दिन्छ, जस भित्र रहेर पैसा खर्च गर्न सकिन्छ । नगद प्रयोगभन्दा डिजिटल भुक्तानी सुरक्षित र सहज मानिने भएकाले उपभोक्ताको आकर्षण वर्षेनि बढ्दो क्रममा रहेको देखिएको छ।

राष्ट्र बैंकका अनुसार आव ०७९/८० मा क्रेडिट कार्ड कारोबार ४ अर्ब ६३ करोड रुपैयाँ बराबर थियो। अघिल्लो आर्थिक वर्ष ०८०/८१ मा कारोबार बढेर ५ अर्ब ६७ करोड रुपैयाँ पुगेको छ। ०८१/८२ सम्ममा क्रेडिट कार्डबाट ऋण प्रवाह ६ अर्ब २२ करोड रुपैयाँ नाघेको तथ्याङ्कले देखाएको छ।

विज्ञहरूका अनुसार पछिल्ला वर्षहरूमा मोबाइल बैंकिङ, अनलाइन सपिङ र इ–कमर्श प्लेटफर्मको विस्तारले क्रेडिट कार्ड प्रयोगलाई अझ प्रोत्साहित गरेको छ। साथै, वाणिज्य बैंकहरूले आकर्षक ‘क्यासब्याक’ योजना, किस्ताबन्दी सुविधा र अन्तर्राष्ट्रिय प्रयोगका लागि सहज सेवा उपलब्ध गराएपछि पनि यसको प्रयोग बढेको हो।

डिजिटल भुक्तानीतर्फको यो वृद्धिले एकातर्फ उपभोक्ताको वित्तीय पहुँच र पारदर्शिता बढाएको छ भने अर्कोतर्फ नगदप्रतिको अत्यधिक निर्भरता क्रमशः घट्दै गएको छ। राष्ट्र बैंकले पनि सुरक्षित र पारदर्शी डिजिटल वित्तीय प्रणालीलाई प्रोत्साहन गर्न लगातार नियम तथा संरचना सुधार गरिरहेको छ।

यसरी, केही वर्षयता क्रमशः वृद्धि भइरहेको क्रेडिट कार्ड कारोबारले नेपालको वित्तीय प्रणाली डिजिटल अर्थतर्फ उन्मुख हुँदै गएको स्पष्ट संकेत गरेको देखिन्छ।

देशका वाणिज्य बैंकहरूमा क्रेडिट कार्डको प्रयोग गत केही वर्षमा लगातार वृद्धि भएको छ। राष्ट्र बैंकको तथ्यांक अनुसार, वाणिज्य बैंकमा क्रेडिट कार्डबाट गरिएको कारोबार रकम ०७९/८० मा करिब ४ अर्ब ५२ करोड रुपैयाँ थियो भने ०८०/८१ मा यो ५ अर्ब ६६ करोड रुपैयाँ र ०८१/८२ मा ६ अर्ब २० करोड रुपैयाँ पुगेको छ।

त्यसैगरी, विकास बैंकहरूमा क्रेडिट कार्ड प्रयोग सीमित देखिएको छ। ती बैंकमा कारोबार रकम ०७९/८० मा ३ करोड ६३ लाख रुपैयाँ, ०८०/८१ मा १६ करोड १० लाख रुपैयाँ र ०८१/८२ मा १६ करोड ९८ लाख रुपैयाँ मात्र पुगेको तथ्यांकले देखाएको छ।

क्रेडिट कार्डले बढाएको चुनौती

क्रेडिट कार्ड कारोबार बढ्दै जाँदा विभिन्न चुनौतीहरू पनि देखापर्ने सम्भावना विज्ञहरूले औंल्याएका छन्। डिजिटल भुक्तानीमा वृद्धि भएसँगै ह्याकिङ, फिसिङ र अन्य प्रविधिगत जोखिम पनि बढ्न सक्ने जोखिम उत्तिकै छ । यसलाई नियन्त्रण गर्न निरन्तर प्रविधि अपडेट र उपभोक्ता सचेतना आवश्यक छ। क्रेडिट कार्ड सुविधा सजिलो भए पनि समयमै भुक्तानी गर्न नसके व्याज भार र ऋण चक्रमा पर्न सक्ने जोखिम रहन्छ।  ग्रामीण क्षेत्रमा अझै पर्याप्त वित्तीय साक्षरता नभएकाले कार्ड प्रयोगको दुरुपयोग हुने सम्भावना छ।

डिजिटल भुक्तानीतर्फको यो वृद्धिले नेपालको वित्तीय प्रणाली क्रमशः नगदबाट डिजिटल अर्थतर्फ उन्मुख हुँदै गएको स्पष्ट संकेत दिएको छ। राष्ट्र बैंकले पनि सुरक्षित, पारदर्शी र उपभोक्तामैत्री प्रणाली विकास गर्न नीति सुधारलाई प्राथमिकतामा राखेको छ। विशेषज्ञहरूको भनाइमा, यदि बैंकहरूले प्राविधिक सुरक्षा, उपभोक्ता शिक्षा र जिम्मेवार ऋण संस्कृति प्रवर्द्धनमा जोड दिए भने क्रेडिट कार्ड बजार अझै दिगो र सन्तुलित रूपमा विस्तार हुने छ।