काठमाडौं – आइएमई हस्पिटालिटिले आजदेखि सञ्चालनमा आएको यस होटल सँगै पाँचवटा होटल तथा रिसोर्ट सञ्चालनमा ल्याएको छ । समूहले केही महिना अघि बागलुङमा इला होटलको औपचारिकरुपमा सञ्चालनमा ल्याएको थियो । यसका साथै काठमाडौँको चन्द्रागिरिमा चन्द्रागिरि रिसोर्ट तथा लाजिम्पाटमा होटल ले हिमालय र पोखराको लेकसाइटमा लेक साइट रिट्रिट सञ्चालन गरिरहेको छ ।
मुलुकको विकास र सम्मृद्धिको प्रमुख आधार पर्यटन भएकाले होटलमा लगानी बढाइरहेको अध्यक्ष चन्द्र ढकाल बताउँछन् । ‘त्यसैअनुसारका पर्यटन पूर्वाधारहरु निर्माण गर्ने क्रममा हामीले मुलुकका सातवटै प्रदेशमा केबलकारसहितका होटल तथा रिसोर्ट निर्माण आयोजनाको सुरुवात गरेका हौँ,’ उनले भने । समूहको लगानीमा हालसम्म तीनवटा प्रदेशमा केबलकार निर्माण भई सञ्चालनमा आइसकेका छन् ।
आजको यस होटल सञ्चालनसँगै दुई वटामा होटलसहितका आयोजना नै सञ्चालनमा आइसकेका छन् । लुम्बिनी केबलकारको टप स्टेसन बसन्तपुरमा होटल निर्माण प्रक्रिया अघि बढेको छ भने सुदूरपश्चिमको कैलालीमा होटल, रिसोर्ट र केबलकार निर्माणको काम एकसाथ अघि बढिरहेको छ । त्यहाँ अबको एक वर्षभित्र केबलकार सञ्चालनमा आउनेछ भने त्यसको केही समयपछि नै होटल र रिसोर्ट पनि सञ्चालनमा आउने छन् ।
‘मुलुकमा पर्यटन पूर्वाधारको कमी छ । नेपाल आउने विदेशी पर्यटकको औषत खर्च तथा बसाई अहिले निकै कम छ र यो प्रतिदिन झन घट्दोक्रममा देखिन्छ । विदेशी पर्यटकहरु औषत १२ दिन नेपाल बस्ने र दैनिक औषत ५० डलर भन्दा कम खर्च गर्ने गरेको पछिल्लो तथ्याङ्क हामीसँग छ,’ अध्यक्ष ढकालले भने ।
प्रतिक्रिया