भोजपुर – भोजपुर नगरपालिका–८ पोखरेस्थित सरस्वती आधारभूत विद्यालयमा ‘इलर्निङ कक्ष’सञ्चालनमा ल्याइएको छ । यसका लागि १० थान कम्प्युटर र आवश्यक उपकरण जडान गरिएको छ । पूर्वअर्थमन्त्री शंकरप्रसाद कोइराला संरक्षक रहेको ईश्वर मन्दिर काठमाडौं नामक सस्थाले आवश्यक कम्प्युटरसहितका सामग्री विद्यालयलाई सहयोग गरेको थियो ।
सो सस्थाले यहाँका डेढ दर्जन विद्यालयमा ‘इलर्निङ कक्ष’का लागि कम्प्युटर, स्मार्ट टिभीलगायत आवश्यक सामग्री सहयोग गरिसकेको छ । किताबी ज्ञानभन्दा पनि समयानुकूल प्राविधिक शिक्षा पनि आवश्यक रहेकाले आफ्नो टिमले सामुदायिक विद्यालयमा इलर्निङ कक्ष स्थापनामा सामग्री सहयोग गर्दै आएको पूर्वअर्थमन्त्री कोइरालाले बताए । उनले यसबाट विद्यार्थी, शिक्षक कर्मचारीले पनि फाइदा लिनुपर्छ भने । इलर्निङ कक्षको दिगो र अधिकतम उपयोग गरेर गुणस्तरीय कम्प्युटर शिक्षा प्रदान गर्ने प्रतिबद्धता विद्यालयले जनाएको छ ।
ईश्वर मन्दिरका महासचिव सङ्केत कोइरालाले कम्प्युटरको ज्ञान नभई अघि बढ्न नसकिने भएकाले विद्यालयस्तरबाट नै यो अनिवार्य भएको बताए । उनले भने, ‘कपी र पेन्सिलले मात्र प्रविधिको युगमा अगाडि बढ्न नसकिने भएकाले अनलाइन कक्षाका लागि पनि इलर्निङ कक्ष आवश्यक देखिएको छ ।’
प्रतिक्रिया