भावना अवस्थी
सन् २०२३ सुरु हुँदा पर्यटकको आगमन बढेको देखिन्छ । विश्वव्यापी कोभिड महामारीबाट थला परेको पर्यटन क्षेत्रमा बिस्तारै सुधार हुँदै गएको छ । पर्यटक आगमन, मुख्य सिजन र नयाँ बर्षको सुरुवातसँगै
पर्यटन व्यवसाय र व्यवसायीमा उत्साह थपिएको देखिन्छ ।
सन् २०२२ को ११ महिनामा पाँच लाख ४६ हजार तीन सय ४२ विदेशी पर्यटक नेपाल भित्रिएको नेपाल पर्यटन बोर्डको तथ्याङ्कले बताउछ । कोभिड महामारीका कारण घटेको विदेशी पर्यटकको सङ्ख्या सन् २०२२ मा बढ्दो क्रममा रहेको तथ्याङकले देखाउँछ । सन् २०१९ मा ११ लाख ९७ हजार ९१ जना पर्यटक नेपाल आएका थिए भने सन् २०२० मा दुई लाख ३० हजार पर्यटक मात्रै नेपाल भित्रिएका थिए । त्यस्तै २०२१ मा एक लाख ५० हजार नौ सय पर्यटक नेपाल आएका थिए ।
विगत केही वर्ष यताको पर्यटन विभागको तथ्याङ्क अनुसार भने २० लाख पर्यटक भित्र्याउने उद्देश्यका साथ सञ्चालन गरिएको नेपाल भ्रमण वर्ष २०२० सुरुवाती चरणमै स्थगित हुन पुग्यो । नेपाल भ्रमण वर्षका लागि राज्यले लगानी गरे तापनि त्यसको प्रतिफल भने लिन सकेन ।
कोरोना महामारीले नेपालको पर्यटन क्षेत्रमा निकै असर प¥यो । बन्दाबन्दीको घोषणाले सडक तथा हवाई यातायात आवातजावतका क्षेत्रमा समेत असर पर्दा होटेल, रेस्टुरेन्ट, हाइकिङ, ट्रेकिङ, पर्वतारोहण तथा अन्य साहसिक पर्यटनमा समेत अवरोध हुँदा विषेश त अघिल्लो दुई वर्षको तुलनामा सन् २०१९ मा विदेशी पर्यटक आगमनमा २.१ प्रतिशतले बढेकोमा सन् २०२० मा यस्तो आगमन ८०.८ प्रतिशतले घटेको पर्यटन विभागको अध्ययन प्रतिवेदनले देखाउछ । तुलनात्मक रूपमा अघिल्लो वर्षमा भन्दा यो वर्पमा मात्रै ८० प्रतिशतले यो संख्यामा कमी आएको छ ।
अर्थतन्त्रको विकासका लागि उच्च सम्भावना बोकेको क्षेत्र हो पर्यटन क्षेत्र । प्राकृतिक एवं सांस्कृतिक सम्पदा र विविधताको कारण यस क्षेत्रमा तुलनात्मक लाभ रहेको छ । पर्यटन प्रर्वधनको माध्यमबाट रोजगारीका अवसर वृद्धि, गरिबी निवारण र आर्थिक समृद्धिको लक्ष्य हासिल गर्न यस क्षेत्रको महत्वपूर्ण भूमिका रहेको देखिन्छ ।
नेपाली अर्थतन्त्रको एउटा बलियो खम्बाका रूपमा रहेको पर्यटन क्षेत्रमा भएको यो नोक्सानीको असर सिंगो अर्थतन्त्रमा परेको छ ।
चुनौतीहरू
पर्यटन विकासमा स्थानीय सरकारहरूले व्यवस्थापकीय, नीतिगत र कानुनी व्यवस्था गरी जिम्मेवारी र स्वामित्व सिर्जना गर्न सक्नुलाई चुनौतीको रुपमा बुझ्न सकिन्छ ।
सबै पर्यटकीय स्थलहरूमा सूचना प्रविधिको विस्तार र आधुनिक प्रविधिको पहुँच पु¥याउनु, जलवायु परिवर्तनबाट सिर्जना भएका जोखिमहरूको न्यूनीकरण गर्नु, कोभिड बाट पर्न गएको मूलतः आर्थिक क्षति र व्यावसायिक नोक्सानीलाई द्रुत गतिमा न्यूनीकरण गरी पर्यटनको पुनरुत्थान गर्नुजस्ता विविध चुनौतीहरू रहेका छन् ।
पर्यटनको भविष्य
नेपाल पर्यटनको हिसाबले संसारका उत्कृष्ट गन्तव्यहरूमध्येमा पर्दछ । महामारीका कारण सीमित भूगोलमा थुनिएका मानिसहरू घुम्न निस्कने बेला नेपालले यस क्षेत्रलाई व्यवस्थित गर्न सक्नुपर्दछ । पर्यटन क्षेत्रको पूर्वाधार विकासमा लगानी बढाउनुपर्दछ । सुरक्षा व्यवस्था मजबुत बनाउनुपर्दछ ।
नेपालका पर्यटकीय सम्भावना भएका धेरै स्थानहरू अझै चर्चामा आउन सकेका छैनन् । ती स्थल, सम्पदाहरूको खोजीनिती गरी प्रचारमा ल्याउनुपर्दछ । पर्यटकीय क्षेत्रको प्रचारप्रसारका लागि राज्यले लगानी बढाउन आवश्यक छ ।
स्थानीय सरकारले आ–आफ्नो भूभागमा रहेका पर्यटकीय सम्भावना भएका स्थल, धार्मिक, सांस्कृतिक सम्पदाहरूको खोजी गर्दै प्रचारमा ल्याउने कामको सुरुवात गर्नु आवश्यक देखिन्छ । नेपालमा बाह्य पर्यटकलाई मात्र बढी महत्व दिएकोमा आन्तरिक पर्यटकहरूप्रति पनि ध्यान दिन आवश्यक छ । अब कोरोना महामारी पछिका आउँदा दिनहरूमा आन्तरिक पर्यटकहरूलाई पनि बाह्य पर्यटकहरूलाई जस्तै महत्व दिनुपर्छ ।
प्रतिक्रिया