विश्व बैंकिङ्ग इतिहाससँग नेपालको बैंकिङ्ग इतिहासलाई तुलना गर्दा हाम्रो देशको बैंकिङ्ग गतिविधि निकै ढिलो गरी विकास भएको देखिन्छ । अमेरिका, बेलायत, फ्रान्स, इटली जस्ता देशहरूमा बैंकिङ्ग गतिविधि व्यापक भइसक्दा समेत हामी नियन्त्रित अर्थ व्यवस्थामा गुम्सिएर बसिरह्यौ । यसको एउटा कारण थियो शिक्षामा जनताको न्यून पहुँच ।
जनता शिक्षित भए शासन सत्ता थाम्न गाह्रो हुन्छ भन्ने कुण्ठित मानसिकता भएका शासकहरूले नागरिकलाई दास बनाइरहे अनि निरङ्कुशताको खोल ओढिरहे। आफ्ना सन्तान मात्र पढुन् भनी देव शमसेरले दरबार हाइ स्कुल खोले । तर, पढाउनको लागि नेपालमा शिक्षक नभएर विदेशबाट शिक्षकहरू बोलाए । इज्जत जोगाउनकै लागि चन्द्र शमशेरले त्रिचन्द्र कलेज स्थापना गरे ।
जतिखेर देशमा जहानियाँ राणा शासन थियो । तिनै राणा र भाइ भारदारका सन्तानले स्वदेशमै उच्च शिक्षा पाउन् भन्ने इरादाले कलेज स्थापना गरिएको थियो । बिस्तारै जनताका छोरा छोरीको लागि शिक्षा खुकुलो हुँदै गयो । नागरिक भारतमै गएर समेत पढ्न थाले । शासकहरू आफू र आफ्ना सन्तानले खान पाए पुग्छ भन्ने सोचले वित्तीय क्षेत्रको विकासको परिकल्पना त छाडौँ बैंकिङ्ग क्षेत्रको पहिलो बैंक नेपाल बैंक स्थापना हुन वि.स. १९९४ सालसम्म पर्खिनुपर्यो ।
थोरै पछाडि फर्किदा तेजारत अड्डा र टक्सार विभागको स्थापना भएता पनि सहर केन्द्रित कारोबार मै सीमित रह्यो । मुद्राको प्रचलन मानदेवकै पाला देखि भएको भए तापनि मुद्राको व्यवस्थित बजार स्थापित हुन सकेन । युग फेरिँदासम्म देश फेरिएन भने त्यो देशहरूको सूचिमा नेपाल पनि पर्छ । जसमा शासकको स्वभाव नै प्रमुख कारण बन्यो । मुख्य त लिच्छवि काल, मल्लकाल अनि शाहाकालिन इतिहास ठुलो देखिन्छ । पृथ्वीनारायण शाहले नेपाल एकीकरण गरे । तर, राजा गीर्वाणयुद्द शाहको पालामा सुँघौली सन्धिमार्फत देशको ठुलो भु–भाग गुम्यो । यसले पनि देखाउँदछ कि शासकले न त भूगोल जोगाउन सके न त आर्थिक पहिचान बनाउन सके ।
थुप्रै शासक जन्मिए तर नेपालमा आर्थिक क्रान्तिको लहर जन्मिएन । शासक फेरिए तर दुर्भाग्य देशको मुहार फेरिएन शासकहरूको व्यवहार नै फेरियो । लामो समय सम्म भारतमा शासन गरेका बेलायतीबाट व्यापार गर्नु पर्छ, नागरिकलाई शिक्षा दिनुपर्दछ । अनि मात्र मुलुक समृद्ध बन्छ भन्ने हाम्रा शासकले सिकेनन् । अनि मुलुकमा छाइरह्यो गरिबीको दुशचक्र र बेरोजगारीको लहर, न्यून औसत आयु, उच्च बाल शिशु मृत्युदर अनि यसैगरी अन्य समस्याहरू ।
शासकहरुले शासन गरिरहे । आफ्नो वंश जोगाउनेबाहेक विकास निर्माणका कार्य राजा त्रिभुवन भन्दा पहिले जनताको लागि केही गरौँ भन्ने सोच कमै शासकमा देखियो । राजाहरूभन्दा अझ कठोर शासक त राणाहरू देखिए । पछिल्लो समयको यही एउटा ठुलो दुर्भाग्य थियो मुलुकमा जहानियाँ राणा शासनले जरो गाडी रहनु ।
बिस्तारै जहानियाँ राणा शासनको जरो उखेलियो । बि.स. २००७ सालमा प्रजातन्त्र आयो अनि मात्र अर्थतन्त्र केही खुकुलो बन्दै गएता पनि नियन्त्रित अर्थ व्यवस्थाको परम्पराले ठाउँ छोडेन । नेपाल राष्ट्र बैंक, राष्ट्रिय बाणिज्य बैंक, कृषि बिकास बैंक स्थापना भएतापनी निजी क्षेत्रले स्थान पाउन चालिसको दशक कुर्नु पर्यो । बि.स. २०४१ सालमा निजी क्षेत्रको बैंकको रुपमा नबिल बैंकको स्थापना भयो ।
मुलुकमा आर्थिक उदारीकरणको नीति अवलम्बनसँगै निजी क्षेत्रका बैंक तथा वित्तीय संस्थाको उपस्थिति बाक्लिँदै गयो । प्राय बन्द प्रणालीमा सञ्चालित रहेको अर्थव्यवस्था एकाएक खुला गरिदा वित्तीय क्षेत्रको गतिविधिमा व्यापकता छायो । निजी क्षेत्रका बैंक तथा वित्तीय संस्थाको उपस्थिति बाक्लिँदै जादा बैंकिङ्ग क्षेत्र एकताका अस्तव्यस्त जस्तै देखिन्थ्यो ।
नेपाल राष्ट्र बैंक ऎन र छाता कानुन बाफियाको आगमनले बैंकिङ्ग क्षेत्रलाइ व्यवस्थित मात्र तुल्याएन बैंकिङ्ग क्षेत्रकोलागी कोसे ढुङ्गा साबित भयो । शान्ति प्रक्रियासँगै गणतन्त्र स्थापना भयो । कानुन निर्माणको कार्यले तिव्रता पायो । आर्थिक गतिविधिहरू बढ्न थाले । वित्तीय बजारमा बैंक तथा वित्तीय संस्थाको उपस्थिति बाक्लिँदै गयो ।
तिव्ररुपमामा भएको बैंक तथा वित्तीय संस्थाको वृद्धिले अस्वस्थ प्रतिस्पर्धा बढ्ने र अर्थतन्त्रको स्वास्थ्यको लागि हानिकारक हुने भएकोले नेपाल राष्ट्र बैंकको २०७२ सालको मौद्रिक नीतिमार्फत पुँजी वृद्धिको नीतिमार्फत अप्रत्यक्षरुपमा मर्जरमा जान दबाब सृजना गरेको देखिन्छ । नयाँ बैंक तथा वित्तीय संस्थाको स्थापनाकोलागि अनुमति स्थगन र मर्जर तथा एक्विजिसन विनियमावलिको व्यवस्थाले वित्तीय क्षेत्रमा नयाँ आयाम नै थपिदियो ।
बैंकिङ्ग क्षेत्रको विस्तार मात्र होइन विकास पनि उत्तिकै जरुरी छ र वित्तिय स्थायित्व हासिल गर्न गरिएका यी प्रयासले अर्थतन्त्रको सबलिकरणको लागि नेपाल राष्ट्र बैंकको बिशेष भूमिका झल्किने उदाहरणीय कार्य मान्न सकिन्छ । जसले नेपालको बैंकिङ्ग क्षेत्रमा संख्यात्मक वृद्धि नियन्त्रण गरी पुँजीको गुणस्तर वृद्धि गरी वित्तीय स्थायित्व हासिल गर्ने ठूलो प्रयासको थालनी भयो ।
हाल मर्जरको माहौल चलिरहेको वित्तीय बजारमा वाणिज्य बैंकहरुकै चुक्ता पुँजीको बिचमा ठूलो अन्तर कायम गएको देखिन्छ । वाणिज्य बैंक र विकास बैंकबीच सीमित कार्य र चुक्ता पुँजीको आधार बाहेक खासै ठूलो भिन्नता देखिँदैन । यसरी सरकारी, अर्ध सरकारी, निजी क्षेत्रका वाणिज्य बैंक, विकास बैंक तथा वित्त कम्पनीहरूलाई लाई एउटै डालोमा हाले जस्तो देखिएकाले आगामी दिनमा नेपाल सरकार, नेपाल राष्ट्र बैंक अनि अन्य निकायबाट बैंकिङ्ग क्षेत्रको नीतिगत सुधारमार्फत वित्तीय क्षेत्रको सुदृढीकरण आगामी दिनको प्रस्थान बिन्दु बनाउनु पर्ने देखिन्छ ।
प्रतिक्रिया