प्रभु बैंकका सीईओले दशक अघि गरेको २ अर्ब ऋण अपचलनको त्यो उजुरी…

प्रभु बैंकका सीईओले दशक अघि गरेको २ अर्ब ऋण अपचलनको त्यो उजुरी…


काठमाडौं – प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचन शक्ति र सम्बन्धको आडमा निरन्तर पदको दुरुपयोग गर्दै आइरहेका छन् । उनी शक्ति र सत्ताको आडमा प्रभु बैंकको ऋण अपचलन, राष्ट्र बैंकको ऐनविपरित पदमा निरन्तर बस्नेदेखि विभिन्न विवादित गतिविधिमा संलग्न छन् ।

तर, यो विवादको शृङ्खला हालसालै वा भर्खरै सुरुवात भएको भने होइन । उनी २०७१ सालदेखि अर्थात् आजभन्दा एक दशक अघिदेखि नै प्रभु बैंकको पद दुरुपयोग गर्न र शक्ति र सम्बन्धका आडमा सार्वसाधारणको रकम अपचलन र हिनामिना गर्न माहिर देखिन्छन् । हुन त शेरचन योभन्दा पहिलादेखि नै प्रभु फाइनान्सको प्रमुख कार्यकारी अधिकृतमा २०६४ सालमा नियुक्त भएका थिए ।

त्यतिबेलादेखि नै यस प्रकारका घटनाक्रममा आबद्ध रहे पनि सीआईबीमा नै उजुरी परेपछि छर्लङ्ग भएको थियो । खासमा उनले २०७१ सालमै प्रभु बैंकको २ अर्ब ऋण प्रवाहमा घोटाला गरेका थिए । यो आरोप मात्रै नभएर केन्द्रीय अनुसन्धान ब्यूरोमा परेको उजुरी नै थियो । उनीविरुद्ध तत्कालीन समयमा ब्युरोमा जानकी मेडिकल कलेजका सञ्चालक अर्थात् नातामा ससुरा पर्नेलाई अर्बौं रुपैयाँ ऋण प्रवाह गरेको विषयमा सीआईबीमा सामान्य छानबिन भएको थियो ।

शेरचन २०६२ सालमा स्थापित प्रभु फाइनान्सको सीईओकाे रुपमा २०६४ मा नियुक्त भएयता निरन्तर प्रमुखकै भूमिकामा छन् । उनको प्रभु बैकको कार्यकाल नै विवादमा रहेको छ । बैंकको कार्यकारी पदमा रहेर आफ्ना नातेदारलाई कमजोर धितोमा कर्जा प्रवाह गर्नु अवैधानिक हो । तर, उनले नियमन निकायबाटै जारी भएको नियमको धज्जी उडाउँदै यसो गर्न पछाडि हटेनन् ।

बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐनका अनुसार बैकका सीईओ एवं बैंकका सञ्चालकहरुले नातेदारलाई कर्जा प्रवाह गरेमा बैंकिङ्ग कसुर मानिन्छ । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का केन्द्रीय प्रवक्ता सुधीर राज शाहीका अनुसार सीआईबीले सूचनाको आधारमा अनुसन्धान बढाएको थियो । तर, यसबारे सीआईबीले थप अनुसन्धान अघि बढाएको छैन ।

‘शेरचनले जानकी मेडिकल कलेजलाई ऋण दिएको विषयमा ब्यूरोले कुनै अनुसन्धान थप अघि बढाइएको छैन,’ उनले भने ‘२०७८ सालमा प्रभु बैंकका सीईओविरुद्ध २०७१ साल तिर ऋण प्रवाह गरेको प्रहरीमा उजुरी परेको थियो ।’ त्यसपछि, विभिन्न कागजातका आधारमा छानबिनलाई सामान्यरुपमा अघि समेत बढाइएको थियो ।

खासगरी, २०७१ को साउनमा राम जनकी हेल्थ फउण्डेशनद्वारा सञ्चालित जानकी मेडिकल कलेजका अध्यक्ष ओम प्रकाश पाण्डेविरुद्ध प्रहरीमा उजुरी परेको थियो । कलेजका विद्यार्थीसँग रकम लिएर उनी फरार भएको विषयमा प्रहरीमा उजुरी परेको थियो । २०७२ सालमा हरिमान लामा, हरिकृष्ण भट्टचन र धनबहादुर शेरचनले उक्त कलेजको शेयर खरिद गरेका थिए । धनबहादुर शेरचन प्रभु बैंकका सीईओ शेरचनका आफन्त हुन भने हरिकृष्ण भट्टचन सीईओ शेरचनका ससुरा हुन् ।

बैंकले जानकी मेडिकल कलेजमको नाममा १ अर्ब ५० करोड लगानी गरेको थियो । तर, उक्त रकमको साँवा ब्याज भने बैंकलाई एक पैसा आएको थिएन । यसअनुसार ‘बैकिङ्ग कसुर ऐन, २०६४’ बमोजिम उनलाई सजाय हुनु पर्ने थियो । तर, उनीविरुद्ध परेको सम्पूर्ण उजुरी नै रद्द भएको थियो । यसबाहेक, शक्ति र प्रभावका आडमा केन्द्रीय अनुसन्धान ब्यूरोको अनुसन्धान समेत रोकिइरहेको छ ।