केन्द्रीय बैंकले सीमा बढाएपछि बढ्यो बैंकहरुको खराब कर्जा, अझै लुकाएको आशंका

केन्द्रीय बैंकले सीमा बढाएपछि बढ्यो बैंकहरुको खराब कर्जा, अझै लुकाएको आशंका


काठमाडौं – नेपाल राष्ट्र बैंकले २०८१ को मध्य फागुनमा खराब कर्जाको नयाँ सीमा तोकेको थियो । त्यसअघि ५ प्रतिशत कायम खराब कर्जाको सीमा राष्ट्र बैंकले ८ प्रतिशत पुर्‍याएको थियो । तत्कालीन समयमा बैंक वित्तीय संस्थाको मुद्दती निक्षेपमा लगानी गर्नका लागि ८ प्रतिशतसम्म खराब कर्जा भएका बैंकले आवेदन दिन पाउने व्यवस्था गरेको थियो ।

यससँगै, बैंक तथा वित्तीय संस्थाहरूले धमाधम बढेको खराब कर्जाको प्रतिवेदन सार्वजनिक गर्न लागेका हुन् । त्यस अघिसम्म राष्ट्र बैंकले नै खराब कर्जाको सीमा ५ प्रतिशत कायम गरेको थियो । जसअनुसार बैंक तथा वित्तीय संस्थाले सोही सीमामा खराब कर्जा देखाउनका लागि ५ प्रतिशतभन्दा तल राख्दै आएका थिए । तर, राष्ट्र बैंकले ८ प्रतिशत पुर्‍याएपछि बैंकहरू खराब कर्जाको विवरणमा ५ प्रतिशतभन्दा माथि उक्लन थालेका हुन् ।

तर, सरोकारवालाहरू यो विवरण समेत सही नभएको आशंका गर्छन् । किनभने राष्ट्र बैंकले खराब कर्जाको सीमा १० प्रतिशत वा योभन्दा बढी तोकेमा बैंकहरुले सोहीअनुसारको विवरण सार्वजनिक गर्नेछन् । नेपाल राष्ट्र बैंककै पूर्व कार्यकारी निर्देशक नरबहादुर थापा बैंकहरुको वास्तविक खराब कर्जाको विवरण १० प्रतिशतभन्दा बढी रहेको बताउँछन् ।

बैंकिङ्ग समाचारसँगको कुराकानीमा उनी भन्छन्, ‘बैंकहरुको खराब कर्जाको वास्तविक विवरण १० प्रतिशतभन्दा माथि हुन सक्छ । तर, राष्ट्र बैंकले यसमा खुला छाड्नुपर्छ । र, वास्तविकता बाहिर ल्याउनुपर्छ ।’ राष्ट्र बैंकले लचिलो नीति लिएसँगै दोस्रो त्रैमाससम्म लुकाएका बैंकले तेस्रो त्रैमासमा धमाधम खराब कर्जाको सीमा बढाउन थालेका हुन् ।

राष्ट्र बैंकले एकै पटक ५ प्रतिशतको सीमालाई ८ प्रतिशत पुर्‍याउँदा नै चालु आर्थिक वर्ष (आव) २०८१/८२ को तेस्रो त्रैमाससम्मको अवधिमा बैंकहरुको खराब कर्जा बढ्नेछ भनेर सबैले आंकलन गरिसकेका थिए । त्यतिबेला नै राष्ट्र बैंकका एक निर्देशकले राष्ट्र बैंकले नै यस्तो व्यवस्था गर्दा खराब कर्जा बढ्दैछ भन्ने संकेत देखिएको बताएका थिए । विज्ञ र बैंकरहरुले खराब कर्जा र निष्क्रिय कर्जा बढ्दै गएकाले सीमा बढाउन निरन्तर दबाब बढाएपछि केन्द्रीय बैंकले सीमा बढाएको थियो ।

त्यतिबेला कतिपयले केन्द्रीय बैंकले आफ्नो स्वार्थका लागि खराब कर्जाको सीमा हेरफेर गरेको आरोप समेत लगाएका थिए। बैंकहरुसँग तरलता फालाफाल भएको समयमा बैंकहरुले केन्द्रीय बैंकको विभिन्न कोषमा रहेका निक्षेप लिनेहरू नहुँदा धेरै खराब कर्जा भएकालाई पनि सो निक्षेप लिन सहभागी गराउन चाहेको उनीहरूको भनाई थियो ।

बैंकहरुले सार्वजनिक गरे बढेको खराब कर्जा

कोरोना महामारीयता बैंकिङ्ग क्षेत्रले विभिन्न किसिमका चुनौती सामना गर्दै आइरहेको छ । अर्थतन्त्र चलायमान हुन नसक्दा, आर्थिक शिथिलता, ‘रिकभरी’मा समस्या र व्यवसायीमा मनोबल घटेका कारण खराब कर्जा बढेको बढ्यै छ । खराब कर्जाको ओरालो यात्रा सुरु हुनुपर्नेमा उकालो यात्रा नै जारी छ । आज बैंकहरुले सार्वजनिक गरेका चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरणले खराब कर्जा तथ्यांकमा थप निराशा जगाएको छ ।

बैंकहरुले सार्वजनिक गरेको विवरणमा बैंकहरुको खराब कर्जा दरमा अत्यधिक वृद्धि देखिएको हो । चालु आवको तेस्रो त्रैमाससम्ममा अत्यधिक खराब कर्जा हुने बैंकको सूचिमा पहिलोमा हिमालयन बैंक देखिएको छ । यो बैंकको खराब कर्जा अनुपात (एनपीएल) ७.६८ प्रतिशत पुगेको छ । अघिल्लो त्रैमाससम्म (६ महिना)मा यो बैंकका एपीएल ४.९८ प्रतिशत थियो ।

त्यस्तै, अत्यधिक खराब कर्जा हुने बैंकको सूचिको दोस्रोमा कुमारी बैंक रहेको छ । बैंकको एनपीएल ६.९८ प्रतिशत छ । जुन अघिल्लो त्रैमास (६ महिना)मा ६.९६ थियो । यसबाहेक, अत्यधिक खराब कर्जा हुने बैंकको तेस्रो नम्बरमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक छ । बैंकको एनपीएल ६.०६ प्रतिशत रहेको छ । जुन दोस्रो त्रैमाससम्ममा ५.८६ प्रतिशत थियो ।

तेस्रो त्रैमासम्मको अवधिमा ५.८६ प्रतिशत रहेको लक्ष्मी सनराइज बैंकको एनपीएल ५.६७ प्रतिशत थियो भने ५.७५ प्रतिशत रहेको एनआईसी एशियाको दोस्रो त्रैमासमा ४.६१ प्रतिशत कायम थियो । यसैगरी, हाल ५.७१ प्रतिशत रहेको सिटिजन्स बैंकको दोस्रो त्रैमासम्मको अवधिमा एनपीएल ४.८५ प्रतिशत, ५.६५ प्रतिशत रहेको प्राइम कमर्सियल बैंकको ४.९६ प्रतिशत, ५.४५ प्रतिशत रहेको नेपाल बैंकको ४.९९ प्रतिशत एनपीएल रहेको थियो ।

तेस्रो त्रैमासमा ५.०९ प्रतिशत एनपीएल पुगेको प्रभु बैंकको ५.०६ प्रतिशत, यसैगरी ४.९८ प्रतिशत रहेको कृषि विकास र ग्लोबल आईएमई बैंकको क्रमशः ४.९० प्रतिशत र ४.८६ प्रतिशत थियो । यसैगरी, तेस्रो त्रैमासमा ४.९६ प्रतिशत एनपीएल पुगेको नबिलको दोस्रो त्रैमासमा ४.९३ प्रतिशत थियो भने हाल ४.६९ प्रतिशत रहेको राष्ट्रिय वाणिज्य बैंकको एनपीएल दोस्रो त्रैमासमा ४.९६ प्रतिशत थियो ।

हाल ४.५९ प्रतिशत एनपीएल रहेको माछापुच्छ्रे बैंकको दोस्रो त्रैमासमा ४.५४ प्रतिशत, हाल ४.४७ प्रतिशत रहेको एनएनबीको ३.९६ प्रतिशत, ४.०६ प्रतिशत रहेको नेपाल एसबीआई बैंकको ३.५५ प्रतिशत, हाल ३.४२ प्रतिशत एनपीएल पुगेको सानिमाको ३.२२ प्रतिशत छ भने १.४४ प्रतिशत एनपीएल रहेको स्ट्याण्डर्ड चार्टर्ड बैंकको दोस्रो त्रैमासमा १.७१ प्रतिशत थियो ।

सार्वजनिक वित्तीय विवरणअनुसार सबैभन्दा न्यून खराब कर्जा हुने बैंकको सूचीमा एभरेष्ट बैंक छ । तेस्रो त्रैमाससम्मको अवधिमा यो बैंकको एनपीएल ०.६४ प्रतिशत छ । जुन, चालू वर्षको ६ महिना (दोस्रो त्रैमास)सम्मको अवधिमा ०.६६ प्रतिशत थियो । तथ्यांकअनुसार दोस्रो त्रैमासदेखि तेस्रो त्रैमाससम्मको अवधिमा आइपुग्दा ३ वटा बैंकको खराब कर्जा अनुपात घटेको देखिएको छ ।

राष्ट्रिय वाणिज्य बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक र एभरेष्ट बैंकको खराब कर्जा घटेको आज प्रकाशित सम्बन्धित बैंकहरुको वित्तीय विवरणले देखाएको छ । यसबाहेक केन्द्रीय बैंकले निर्माण व्यवसायीलाई लगानी भएको कर्जामा दिएको पुर्नसंरचना, पुन तालिकिकरणले मौकाले कतिपय बैंकको खराब कर्जाको अनुपात घटेको हुन सक्ने आँकलन समेत गरिएको छ ।

बैंकहरुको खराब कर्जा बढिरहेको समयमा राष्ट्र बैंकले निर्माण व्यवसायीलाई दिएको सहुलियतले अर्को त्रैमासमा बैंकको वित्तीय विवरण सुध्रिने एनएमबि बैंकका ‘वेटिङ्ग’ प्रमुख कार्यकारी अधिकृत (सीईओ) गोबिन्द घिमिरे बताउँछन् । उनकाअनुसार खराब कर्जाको वृद्धिले बैंकहरुको ‘प्रोभिजनिङ्ग’ पनि बढ्दो रहेको छ । ‘अबको एक दुई त्रैमासपछि बैंकहरुको वित्तीय विवरणमा सुधार आउन सक्छ,’ उनले बैंकिङ्ग समाचारसँगको कुराकानीमा भने ।