वाणिज्य बैंक छाडेर विकास बैंकको शेयरमा झुम्मिँदै लगानीकर्ता

वाणिज्य बैंक छाडेर विकास बैंकको शेयरमा झुम्मिँदै लगानीकर्ता


काठमाडौं – वाणिज्य बैंकको तुलनामा विकास बैंकको शेयरमा लगानीकर्ताको आकर्षण देखिएको छ । दोस्रो बजारमा सूचीकृत विकास बैंकहरुको शेयरको तुलनामा वाणिज्य बैंकहरुको शेयरमा लगानीकर्ताको रुची कम देखिएको हो । वाणिज्य बैंक समूहमा कारोबार भइरहेको १९ वटा बैंकहरुको अधिकांश शेयर मूल्य २०० को आसपासमा कायम छ । वाणिज्य बैंकहरुको शेयर मूल्य २०० देखि ६०० को हाराहारीमा छ भने विकास बैंक समूहमा कारोबार भइरहेको १५ वटा बैंकहरुको अधिकांश शेयर मूल्य ३०० सय देखि १९ सय रुपैयाँ प्रतिकित्तासम्म कारोबार भइरहेको छ।

यसरी वाणिज्य बैंकको शेयर मूल्यमा लगानीकर्ताको न्यून चासो देखिनु र प्राथमिकतामा नपर्नुमा बैंकहरुले दिने लाभांश मुख्य कारण बन्न थालेको छ । केही समय अघिसम्म वाणिज्य बैंकहरु लगानीकर्तालाई उत्कृष्ट लाभांश दिने कम्पनीहरूको सूचीमा गनिन्थे । तर, पछिल्लो समय वाणिज्य बैंकहरुको वित्तीय सूचक खराब बन्दै जाँदा लगानीकर्तालाई दिने लाभांश समेत खुम्चिन थालेको छ।

पछिल्लो समय वाणिज्य बैंकहरुको औसत लाभांसदर १०० रुपैयाँमा १० रुपैयाँ हाराहारीमा आइपुगेको तथ्यांकले देखाउँछ । यससँगै, दोस्रो बजारमा लगानीको प्रतिफल खोज्ने लगानीकर्ताको रुचि वाणिज्य बैंकको शेयरमा पर्न छाडेको हो । लगानीकर्ताको रोजाइमा पर्न छाडेसँगै माग घट्न जाँदा वाणिज्य बैंकहरुको शेयर मूल्य २०० रुपैयाँदेखि अधिकतम ६०० रुपैयाँसम्म कायम छ ।

तर, विकास बैंकहरुको शेयर मूल्य बढ्नुको मुख्य कारण प्रतिफल भने होइन । किनकि, विकास बैंकहरुले समेत आफ्ना लगानीकर्तालाई उल्लेख्यरुपमा प्रतिफल बाँड्न सकेका छैनन् । तर, पनि विकास बैंक समूहका कम्पनीमा लगानीकर्ताले रुची देखाउँदा शेयर मूल्यमा आफूभन्दा कयौँ गुणा ठुलो पूँजीकोष भएका वाणिज्य बैंकले पछाडि छाडेका हुन् ।

जबकि, सूचीकृत १५ वटा विकास बैंकहरुको शेयर मूल्य प्रतिकित्ता ३०० रुपैयाँदेखि १९ सय रुपैयाँसम्म कारोबार भइरहेको छ । यसमा वाणिज्य बैंकको तुलनामा बढी लाभांश मात्रै कारण भने होइन । विभिन्न समूह र शेयर गिरोहको चंगुलमा परेसँगै ती कम्पनीहरूको शेयर ‘कर्नरिङ’ हुँदा मूल्य १९ सय रुपैयाँसम्म पुगेको हो ।

कतिपय अवस्थामा नेपाल राष्ट्र बैंकबाट खराब अवस्थामा परेका विकास बैंकको शेयर मूल्य त्यस्ता समूहले कर्नरिङ गरेर उच्च बिन्दुमा समेत पुर्याएका छन् । केही समय अघि समस्याग्रस्त घोषणा भएको कर्णाली विकास बैंकको शेयर मूल्यमा यस्तै देखिएको थियो । समस्याग्रस्त घोषणा भएको केही दिनसम्म यो कम्पनीको शेयर मूल्य निरन्तर उकालो लागेपछि कारोबार नै बन्द गर्नुपरेको थियो।

१५ मध्ये ११ विकास बैंकले दिए लाभांश
सूचीकृत १५ वटा विकास बैंक मध्ये एक्सेल, सप्तकोशी, सिन्धु र ज्योति विकास बैंकहरु बाहेक अन्य ११ वटा विकास बैंकहरुले लगानीकर्ताका लागि लाभाश घोषणा गरेका छन् । बैंकहरुले ३.८५ प्रतिशतदेखि १५ प्रतिशतसम्म लाभांश घोषणा गरेका छन् । मितेरी विकास बैंकले १५ प्रतिशत लाभांश घोषणा गरेको छ । यो नै विकास बैंकहरुकोतर्फबाट सबैभन्दा बढी लाभांश हो । त्यसैगरी कर्पाेरेट विकास बैंकले १२.८३ प्रतिशत लाभांश घोषणा गरेको छ भने नारायणी विकास बैंक सबैभन्दा न्यून अर्थात् ३.८५ प्रतिशत लाभांश घोषणा गरेको छ ।

११ वाणिज्य बैंकले घोषणा गरे लाभांश
सूचीकृत १९ वाणिज्य बैंकहरुमध्ये ११ वटा बैंकहरुले मात्र लाभांश बाँडेका छन् । लाभांश क्षमता खुम्चिँदै गएपछि वाणिज्य बैंकहरुको स्तर माथि नै देखिन्छ । वाणिज्य बैंकहरुले आफ्ना लगानीकर्तालाई अधिकतम २५.५ प्रतिशतदेखि ४ प्रतिशतसम्म लाभांश घोषणा गरेका छन् । स्ट्याण्डर्ड चार्टर्ड बैंकले सबैभन्दा धेरै अर्थात २५.५० प्रतिशत लाभांश बाँडेको छ । यसपछि, एभरेष्टले १५.५३ प्रतिशत र सिद्धार्थ बैंकले सबैभन्दा थोरै ४ प्रतिशत लाभांश घोषणा गरेको छ ।

नेपाल शेयरधनी संघका अध्यक्ष घनश्याम पाण्डे वाणिज्य बैंकहरुको हाइक्याप बढी भएका कारण मूल्य उच्च बिन्दुमा पुग्न नसकेको बताउँछन् । ‘हाइक्याप कम्पनीकारुपमा वाणिज्य बैंकहरु छन्,’ उनले बैंकिङ्ग समाचारसँगको कुराकानीमा भने, ‘यहीकारण थोरै थोरै फाइदामा पनि धेरै सेलरहरु आउने हुदाँ वाणिज्य बैंकहरुको शेयर मूल्य कम छ ।’ यस्तै, यता विकास बैंकहरुको हाइक्याप र चुक्तापूँजी न्यून कमजोर अवस्थाका विकास बैंकहरुको पनि शेयर मूल्य बढिरहेको पाण्डेले बताए ।