काठमाडौं – नेपाल राष्ट्र बैंकबाट अनुमतिप्राप्त भुक्तानी प्रणाली सञ्चालक नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) र भुक्तानी प्रविधि क्षेत्रमा कार्यरत विश्वप्रसिद्ध कम्पनी मास्टरकार्डबीच नेपाल भ्रमण गर्ने अन्तर्राष्ट्रिय पर्यटकहरूका लागि मास्टरकार्ड प्रयोग गरेर क्युआर भुक्तानी गर्न सहमति भएको छ ।
दुबै संस्थाले एनसीएचएलको नेपालपे क्यूआर र इन्टरअपरेबल क्युआर मर्चेन्टहरूमार्फत अन्तर्राष्ट्रिय मास्टरकार्ड प्रयोगकर्ताहरूलाई स्थानीय जस्तै भुक्तानी गर्न सहज र सुगम बनाउने उद्देश्यले सहमति गरेका हुन् । यो सहकार्यले अन्तर्राष्ट्रिय पर्यटकहरूलाई स्थानीय क्युआर मर्चेन्टहरूमा मास्टरकार्ड प्रयोग गरी डिजिटल भुक्तानी गर्ने अतिरिक्त सुविधा प्रदान गर्नेछ ।
नेपालपे क्यूआर र इन्टरअपरेबल क्युआर नेटवर्कमा हाल करिब १० लाख मर्चेन्टहरू आबद्ध छन् भने मास्टरकार्डले ३.१ अर्बभन्दा बढी कार्डहरू विश्वभर जारी गरिसकेको छ । यो सहकार्यले नेपालमा भित्रिने अन्तर्राष्ट्रिय कारोबारमा पर्यटन क्षेत्रलाई ठूलो सहयोग पुर्याउने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया