२०८१ मा बीमा क्षेत्र : स्वास्थ्य बीमामा सकसदेखि अध्यक्षलाई मुद्दासम्म

२०८१ मा बीमा क्षेत्र : स्वास्थ्य बीमामा सकसदेखि अध्यक्षलाई मुद्दासम्म

नमुना के. सी.
196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – बीमा क्षेत्रका लागि वर्ष २०८१ सकसपूर्ण रह्यो । यो वर्ष बीमा उद्योगमा विभिन्न प्रकारका विवाद, उपलब्धि र उत्साहको सम्मिश्रण देखा पर्‍यो । यो वर्ष बीमा क्षेत्रले प्राधिकरणका अध्यक्षमाथि अख्तियारको मुद्दादेखि नयाँ अध्यक्षको योग्यतामा प्रश्न समेत झेल्नुपर्‍यो । यस्ता गतिविधिले बीमा क्षेत्रको नियामकीय क्षमता माथि नै मजाक बन्यो भन्न सकिन्छ ।

धेरै समयपछि आर्थिक मन्दी पछि सुधारिएको बीमा बजारमा असोजमा आएको बाढी र पहिरो र राजावादीको आन्दोलनको कारण अर्बौं क्षतिसमेत बेहोर्न बाध्य भयो । समग्रमा बीमा क्षेत्रको अवस्थामा केही उतारचढाव भयो ।

नीतिगत फेरबदल
बीमा नियामकले यो वर्ष धेरै सुधारको काम गरेको छ । यो वर्ष बीमकको सुशासन सुदृढ गर्नेदेखि बिमितको हित संरक्षणसम्मको नीतिगत विषय समेटिएका निर्देशन जारी भएका छन् । मेलमिलाप तथा मध्यस्थतासम्बन्धी कार्यविधि–२०८१, विदेशी पुनर्बीमक तथा पुर्नबीमक ब्रोकरहरुका लागि सूचीकरण दिशानिर्देश–२०२४, बीमकको संस्थागत सुशासनसम्बन्धी निर्देशिका–२०८० लगायतका नीतिगत व्यवस्था यो वर्ष भए ।

यस्तै, दाबी भुक्तानी मार्गदर्शन–२०८१, जीवन बीमकको घातक रोग पूरक करारसम्बन्धी मार्गदर्शन–२०८१, निर्जीवन बीमकको घातक रोग पूरक करारसम्बन्धी मार्गदर्शन–२०८१ र सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी निर्देशन–२०८१ जारी भएका छन् ।

सन् २०२४ को वर्षको अन्त्यतिर प्राधिकरणले बीमितको हितलाई ध्यानमा राख्दै अनिवार्य रूपमा बीमा दाबी भुक्तानी विद्युतीय माध्यमबाट बिमितको बैंक खातामा गर्न निर्देशन पनि दिएको छ । बीमकको वित्तीय सूचकाङ्क तथा अनुपातसम्बन्धी परिपत्र पनि प्राधिकरणले जारी गरेको छ ।


बजेटको प्राथमिकताबाट हटेको वर्ष
चालू वर्षका लागि तत्कालीन अर्थमन्त्री वर्षमान पुनले बजेट प्रस्तुत गरेका थिए । विशेष गरी बजेटले आगामी आर्थिक वर्षभित्र बीमा क्षेत्रको दायरा वृद्धि गर्ने, लघुबीमामा न्यून आय भएकालाई संलग्न गराउने, स्वास्थ्य बीमा कार्यक्रमलाई विस्तार गरिने, नागरिकको पहुँचलाई सहज बनाइने लगायतका विषय समेटियो । यस्तै, सामाजिक सुरक्षा कोषबाटै योगदानकर्ता स्वास्थ्य बीमाको व्यवस्था गरिने दुर्गम तथा ग्रामीण क्षेत्रमा बीमा सम्बन्धी साक्षरता अभिवृद्धि गरिने विषयहरू समेटेको छ ।

आर्थिक वर्ष २०८०/८१ को बजेटमा सरकारले बीमा क्षेत्रलाई प्राथमिकतामा राखेको थियो भने यस वर्षको बजेटमा बीमा क्षेत्रको अपेक्षाअनुरूपका विषय भने समेट्न नसकेको देखियो । सरकारले बीमा क्षेत्रको दायरा बढाउनुपर्छ भनेर घोषणा गरिरहेको भए पनि बजेटमा त्यो कुरा प्रतिबिम्बित नभएको सरोकारवालाहरूको भनाई छ ।


बीमा कम्पनीमा बाढी पहिरो वितण्डा
बर्सेनि जाने बाढी पहिरोको कारण बीमा क्षेत्रले ठुलो क्षति बेहोर्ने गर्छ । यस वर्ष पनि अर्बौँको दायित्व थपियो । यस वर्ष बीमा कम्पनीहरूको व्यवसायमा केही सुधार गर्दै गर्दा बाढी पहिरोको कारण कम्पनीहरू मर्कामा परेको भन्न सकिन्छ । गत असोज महिनामा परेको बाढी पहिरोको कारण भएको क्षतिपछि परेको दाबीमा निर्जीवन बीमा कम्पनीहरूले तीन अर्ब पाँच करोड ६० लाख भुक्तानी दिएका छन् ।

कम्पनीहरूले फागुन २१ गतेसम्मको अवधिमा उक्त दावी भुक्तानी वितरण गरेको हो । यस अवधिमा निर्जीवन बीमा कम्पनीहरूले दुई हजार ४७८ वटा दावी भुक्तानी गरेको हो । बाढीबाट भएको क्षतिबाट निर्जीवन बीमा कम्पनीहरूमा हालसम्म १२ अर्ब ६४ करोड ३२ लाख रुपैयाँ बराबरको दावी परेको छ ।


अन्तर्राष्ट्रिय बीमा सम्मेलन
यो वर्ष नेपाल बीमक संघको आयोजनामा म्युनिख रि फाउण्डेशनसँगको सहकार्यमा पाँच दिने अन्तर्राष्ट्रिय समावेशी बीमा सम्मेलन भयो । अन्तर्राष्ट्रिय बीमा सम्मेलनका विदेशी पाहुनाहरू नेपाल आएका थिए । नेपालको इतिहासमा विश्वभरका ३०० जना बीमा क्षेत्रका विज्ञ, जानकार, कर्मचारीहरूले भरिएको पहिलो पटक हो । सम्मेलनमा नेपालबाट करिब २०० जना प्रतिनिधि सहभागी थिए । यस्तो सम्मेलनले बीमा बजारलाई प्रोत्साहन गर्याे ।


प्राधिकरण अध्यक्षविरुद्ध मुद्दा
नेपाल बीमा प्राधिकरणको अध्यक्ष पदमा रहेर दर्जनौँ घोटाला काण्डमा संलग्न भएको भन्दै निलम्बित अध्यक्ष सूर्यप्रसाद सिलवालले ३६ लाख भन्दा बढी रकम भ्रष्टाचारको आरोपमा परे । मुद्दामा सिलवालले ३६ लाख ६२ हजार १५४ रुपैयाँ तलब सुविधा गैर कानुनीरुपमा लिई भ्रष्टाचार गरेको ठहर भयो ।

उनको उमेर हदसम्बन्धी व्यवस्थाअनुसार २०८० साउन १४ गतेसम्म मात्रै पदमा बस्न मिल्ने थियो । नेपाल सरकार अर्थ मन्त्रालयले समेत गरेको छानबिनको क्रममा सूर्य सिलवालको पदावधि गैर कानुनी नै भएको भन्दै प्रतिवेदन तयार पारिएको थियो । यही कारण उनले मुद्दा खेप्नुर्पयो । यो घटनाले विश्वास गुमाइरहेको बीमा क्षेत्रमा थप असहजता प्रदान गर्यो ।


दोस्रो ‘इन्स्योरेन्स डिस्कोर्स’ सम्पन्न
यस वर्ष बैंकिङ्ग समाचार र नेपाल बीमा प्राधिकरणको समन्वयमा सेकेण्ड नेश्नल इन्स्योरेन्स डिस्कोर्श सम्पन्न भयो । यही वर्षको पुष २५ गते दोस्रो संस्करणको राष्ट्रिय इन्स्योरेन्स डिस्कोर्श सम्पन्न भएको हो। डिस्कोर्श विभिन्न ५ सत्रमा बीमा क्षेत्रको समस्या, चुनौती र समाधानका उपाएका विषयमा छलफल भएको थियो ।

५ सत्रमा भएको छलफलबाट निस्केको निष्कर्ष समेटेर ६६ बुँदामा प्रतिवेदन बनाएर बैंकिङ्ग समाचारले अर्थमन्त्रालय र बीमा पझाइसकेको छ । डिस्कोर्शको उद्घाटन उपप्रधान एंव अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गरेका थिए भने ‘क्लोसिङ’ सेसनमा पूर्व अर्थमन्त्री डा. प्रकाशसरण महतको सहभागि भएका थिए ।


बीमा क्षेत्र बाहिरबाट प्राधिकरण अध्यक्ष
नेपाल बीमा प्राधिकरणको अध्यक्षमा बीमा ऐन २०७९ को दफा ८ बमोजिमको योग्यता नै नपुगेको व्यक्तिलाई नियुक्त गरियो । नेपाल सरकार मन्त्रिपरिषद्ले गरेको निर्णय बीमा ऐन २०७९ को दफा ८, उपदफा १ खण्ड क बमोजिमको योग्यता नै नपुगेको व्यक्तिलाई अध्यक्षमा नियुक्ती गर्ने निर्णय भयाे जसमा सरद ओझा नियुक्त भए ।

बीमाको विषयमा थाहा नभएको अध्यक्ष नियुक्त भएको कारण केही समय बीमा क्षेत्रमा आश्चर्यको प्रश्न उठेको थियो । केही समय पछि ओझाविरुद्ध उजुरी दर्ता भएको छ । जुन क्षेत्रमा नै विवादित अध्यक्ष छन् त्यस्तो क्षेत्रको आगामी दिन कस्तो होला भन्ने प्रश्न उठेको छ ।


खिन्न अभिकर्ता
बीमा नियमावली २०८१ को प्रावधानले बीमा अभिकर्ताहरुको रोजिरोटी खोसिने र बीमाको विस्तारमा पनि असर पर्ने भनेर अभिकर्ताहरुले बीमा नियमावली २०८१ लाई खारेज गर्न माग समेत गरेका थिए । बीमा नियमावली २०८१ ले अभिकर्ताहरुको हक,अधिकारलाई कुण्ठित गरेको भन्दै उनीहरुले आन्दोलनको तयारी गरेका हुन् ।

नियमनकारी निकाय नेपाल बीमा प्राधिकरणले समेत बीमा क्षेत्रमा कुनै पनि नीति नियम तथा नियमावली ल्याउँदा अभिकर्तासँग आवश्यक समन्वय तथा छलफल बिनै बीमा नियमावली जारी भएपछि बीमा अभिकर्ताहरु आक्रोसित बनेका छन् । बीमा प्राधिकरण, पेशागत बीमा अभिकर्ता संघ, जीवन बीमक संघ, नेपाल बीमक संघ, लघुबीमक संघ र सर्भेयर एशोसिएशनका प्रतिनिधिहरु राखेर कार्यदल गठन गरेर समस्याहरुको समाधान गर्नको लागि अर्थमन्त्रालयमा प्रस्ताव पठाउने सहमति गरेको छ


राजावादी आन्दोलन, बीमामा करोडौंको भार

राजावादी आन्दोलनमा काठमाडौं उपत्यकामा चैत १५ गते भएको तीनकुने घटनामा चार करोड ८७ लाख रुपैयाँ ६८ हजार रुपैयाँ बीमा दावी परेको छ । सम्पत्ति बीमातर्फ १६ वटा बीमालेखका ३ करोड ११ लाख ६६ हजार रुपैयाँको माग दाबी प्राप्त भएको थियो । त्यस्तै, इन्जिनियरिङ बीमातर्फ ३ वटा बीमालेखमार्फत् ३७ लाख रुपैयाँ तथा विविध बीमातर्फ २ वटा बीमालेखमार्फत १० लाख १ हजार १३० रुपैयाँ बराबरको दाबी परेको प्राधिकरणले जनाएको छ ।

विविध बीमा अन्तर्गत ११३० रुपैयाँ भुक्तानी भएको छ । केही कम्पनीहरुले भने दावी दिइसकेका छन् । उक्त आन्दोलनले बीमा क्षेत्रमा पनि असर परेको देखियो ।

सर्भेयर शुल्कको विवाद
बीमा क्षेत्रमा निष्पक्ष निर्णय लिएर बीमितलाई न्याय दिलाउने सर्भेयरहरु नै यो वर्ष अन्यायमा परेको देखियो । बीमा सर्भेयरको शुल्क अन्तिम पटक २०७३ सालमा बढेको थियो । त्यसयता पटक–पटक बढाउन पहल गर्दा पनि शुल्क नबढेपछि सर्भेयर संघले आन्दोलनको तयारी पनि गरेको थियो । बीमा व्यवसायको सुरुवात भएसँगै यो क्षेत्रलाई व्यवस्थित बनाउन सर्भेयर आवश्यक पर्यो। यसपछि नेपालमा नै सर्भेयर उत्पादन गर्नुपर्ने महसुसपछि सर्भेयर सघं नै स्थापना गरेर काम थालियो ।


बढेन बीमाको दायरा
बीमा बजारमा कर्मचारीहरुको संख्या र बीमा कम्पनीहरुको व्यवासयमा वृद्धि भएतापनि दायरमा भने उत्कृष्ट हुन सकेन । बीमा क्षेत्रमा आव २०८०/८१ मा आइपुग्दा बीमाको दायरा ४३.२७ प्रतिशतमा सीमित छ । चालु आवमा आइपुग्दा कुल जनंख्याको ४४ प्रतिशतमा बीमाको दायरा पुगेको बीमा प्राधिकरणको तथ्यांक छ । यसरी तथ्यांक हेर्दा बीमा दायरा बढाउने गरी प्राधिकरणले नयाँ कदम चाल्नुपर्ने देखिन्छ ।

आव ७६/७७ मा बीमाको दायरा २३ प्रतिशतमा पुग्यो । आर्थिक वर्ष २०७७/७८ मा आइपुग्दा बीमाको दायरामा आएको जनसंख्या २५ प्रतिशतमा पुगेको तथ्यांक छ । आर्थिक वर्ष २०७८/७९ मा बीमाको दायरामा आएको जनसंख्या प्रतिशत ४१ प्रतिशतमा पुगेको थियो । आव २०७९/८० मा बीमाको दायरामा आएको जनसंख्याा ४४.२ पुग्यो ।


स्वास्थ्य बीमाको सकस
स्वास्थ्य बीमा बोर्डले चालू आर्थिक वर्ष २०८१/८२ को अन्त्यसम्ममा स्वास्थ्य बीमा कार्यक्रमबापतको भुक्तानी गर्नुपर्ने दायित्व २४ अर्ब रुपैयाँ पुग्ने भएको छ । वर्षैपिच्छे बदनाम हुँदै गइरहेको स्वास्थ्य बीमा यस वर्ष खास राम्रो भने देखिएन । बोर्डले लामो समयदेखि स्वास्थ्य संस्थाको बक्यौता भुक्तानी गर्न नसकेको अवस्था छ । बोर्डले ४५ बुँदे श्वेतपत्रमार्फत आफ्नो वित्तीय अवस्था, बीमा कार्यक्रमको अवस्था, चुनौती र भविष्यको रणनीतिबारे जानकारी गराउँदै आइरहेको छ ।

बोर्डकाअनुसार अहिलेकै अवस्थामा स्वास्थ्य संस्थालाई बीमा वापतको १६ अर्ब ४५ करोड रुपैयाँ सोध भर्ना गर्न बाँकी छ । बोर्डका अनुसार १६ अर्ब रुपैयाँभन्दा बढी दायित्व भए पनि बोर्डसँग गत फागुन मसान्तसम्ममा कोषमा जम्मा १ अर्ब रुपैयाँ बाँकी रहेको थियो। स्वास्थ्य बीमा बोर्डमा ४ महिनादेखि रिक्त रहेको कार्यकारी निर्देशक पदमा डा रघुराज काफ्ले नियुक्त भएका छन्।


छैन कोरोना भुक्तानीमा सरकारको सुर
कोरोना बीमाको भुक्तानी यो वर्ष पनि सरकारले दिन सकेन । २०१९ देखि सुरु भएको कोरोना बीमाको दाबी भुक्तानीमा कम्तीमा पनि ११ अर्ब रुपैयाँ बाँकी छ । तर, यो रकम बीमितहरुले यो वर्ष पनि पाउन सकेनन् ।