काठमाडौं – अर्बौं रुपैयाँ ऋण अपचलन गरेको आरोपमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को छानबिनमा तानिएका अशोक शेरचनले गभर्नर बन्ने दौडबाट पछाडि नहट्ने संकेत देखाएका छन् । शक्तिकेन्द्र र सत्तालाई प्रभावित बनाएर अर्बौं ऋण अपचलन गरेको खुलेपछि उनीमाथि सीआईबीले अनुसन्धान अघि बढाएको थियो ।
तर, उनै शेरचन नेपाल राष्ट्र बैंकको उच्च नेतृत्वमा पुग्ने लक्ष्यसहित गभर्नरको दौडबाट पछाडि नहटेका हुन् । राष्ट्र बैंकको गभर्नर बन्न नैतिक पतन नदेखिने चरित्र चाहिन्छ । तर, सार्वजनिक कम्पनीकारुपमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत रहेको र लाखौं लगानीकर्ताले लगानी गरेको प्रभु बैंकको प्रमुख कार्यकारी अधिकृतको भूमिकामा रहेका शेरचन गभर्नरको दौडमा छन् ।
उनलाई सीआईबीले २०७८ सालको सुरुवातमा अर्बौं रुपैयाँ बराबरको ऋण अपचलनमा छानबिन सुरु गरेको थियो । तत्कालीन समयमा शेरचनमाथि सीआईबीले आफन्तका नाममा रहेको जानकी मेडिकल कलेजलाई पटक–पटक गरी २ अर्ब ऋण प्रवाह गरेको खुलेको थियो । यस्तै, तत्कालीन समयमा चिरायु अस्पताललाई प्रवाह गरिएको कर्जा र कृत्रिम उद्योगी खडा गरी बिना धितो ऋण प्रवाह गरेको आरोप लागेको थियो ।
सीआईबीले यही विषयमा छानबिन अघि बढाएको थियो । तर, सीआईबीले २०७८ को माघ मध्य सातातर्फ प्रभु बैंकबाट शेरचनले अघि बढाएको ऋणको फाइलमाथि अनुसन्धान खोलेको थियो । प्रभु बैंकलाई चिठी लेख्दै सीआईबीले सम्पूर्ण कागजात मगाएको थियो । तर, शेरचनले शक्तिको आडमा सीआईबीले अघि बढाएको छानबिन तत्कालका लागि रोकेका थिए ।
उनै शेरचन गभर्नर बनेर बैंक तथा वित्तीय क्षेत्रको नेतृत्वदायी भूमिकामा जाने योजनामा छन् । तर, सीआईबीको अनुसन्धानमा तानिएका शेरचन यही कारण गभर्नरको दौडमा कमजोर बने पनि शक्तिकेन्द्र रुझाउँदै छन् । ऋण अपचलन गरेको आरोपमा छानबिनको दायरामा आइपुगेका शेरचन समेत मुख्य ५ प्रतिस्पर्धीको सूचीमै छन् ।
तर, लाखौं लगानीकर्ताको लगानी र अर्बौं मूल्य बराबरको सार्वजनिक कम्पनीको पदको दुरुपयोग गरेर अर्बौं ऋण अपचलन गर्ने शेरचन राष्ट्र बैंक पुगेमा शक्तिको दुरुपयोग गर्ने जोखिम बढेको छ ।
प्रतिक्रिया