तीनकुने तोडफोड प्रकरणः श्रीलंका-बंगलादेश मोडलको अभिव्यक्तिसहित पक्राउ परेका एक जनाविरूद्व म्याद थप

तीनकुने तोडफोड प्रकरणः श्रीलंका-बंगलादेश मोडलको अभिव्यक्तिसहित पक्राउ परेका एक जनाविरूद्व म्याद थप


काठमाडौं– काठमाडौं महानगरपालिका वडा नम्बर ३२ स्थित तीनकुने खुल्ला चौरमा भएको प्रदर्शनको क्रममा तोडफोड, आगजनी लगायत आपराधिक गतिविधिमा संलग्न भएको अभियोगमा पक्राउ परेका कमल कुमार विष्टको अनुसन्धानका लागि म्याद थप गरिएको छ।

‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपाल’ले आयोजना गरेको प्रदर्शनमा निजी तथा सार्वजनिक सम्पत्तिमा क्षति पुर्‍याइएको थियो। सोही घटनासँग सम्बन्धित अभियोगमा जिल्ला ललितपुर, ललितपुर महानगरपालिका–२७ बसोबास गर्ने ५३ वर्षीय विष्टलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

काठमाडौं जिल्ला अदालतबाट अनुसन्धानका लागि २० दिनको म्याद थप अनुमति प्राप्त गरिएको प्रहरीले जनाएको छ।

विष्टको फेसबुक आईडी (Kamal Bista) मा ‘नेपाल श्रीलंका, बंगलादेशको मोडलमा अगाडि बढ्नु पर्छ’ भन्ने उत्तेजक अभिव्यक्ति लेखिएको पाइएको छ। उनले उक्त अभिव्यक्तिमा विभिन्न व्यक्तिलाई Tag समेत गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

हाल विष्टमाथि आपराधिक उपद्रवसम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।