अप्रिल-जुनमा दक्षिण एसियाको ११ करोड रोजगारी गुम्यो : आइएलओ

अप्रिल-जुनमा दक्षिण एसियाको ११ करोड रोजगारी गुम्यो : आइएलओ


   
विश्व श्रम बजारमा कोभिड-१९ महाव्याधिको प्रभाव अपेक्षाभन्दा कडा परेको छ । अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ)ले कोभिड-१९ ले श्रम बजारमा पारेको प्रभावमाथि गरेको अध्ययन (पाँचौँ संस्करण)अनुसार महाव्याधिले रोजगारीमा अनुमान गरिएभन्दा निकै बढी क्षति पुर्‍याएको छ ।

महाव्याधिको प्रकोप बढ्न थालेपछि मार्चपछि अधिकांश मुलुक लकडाउनमा पुग्दा केही समय विश्वका ९३ प्रतिशत कार्यस्थल बन्द थिए । जसका कारण आर्थिक गतिविधि ठप्प हुँदा विश्वव्यापी कार्यघन्टामा ठूलो क्षति पर्न गएको हो ।

अर्को चरणको कोभिड–१९ ले ३४ करोड फूल टाइम काम गुम्छ

सन् २०२० को पहिलो तीन महिनामा विश्वव्यापी कार्यघन्टामा ५ दशमलव ४ प्रतिशतको क्षति हुँदा समग्रमा विश्वभरबाट १५ करोड ५० लाख पूर्ण रोजगारी (प्रतिसप्ताह ४८ घन्टाको हिसाबमा)बराबरको खति भएको आइएलओको नयाँ प्रतिवेदनले देखाउँछ । त्यसैगरी, दोस्रो त्रैमासिकमा कार्यघन्टाको क्षति बढेर १४ प्रतिशतमा पुगेको र त्यसबाट विश्व अर्थतन्त्रले कुल ४० करोड पूर्ण रोजगारीको क्षति साक्षात्कार गर्न पुगेको छ ।

विश्वका कुल महिला श्रमिकमध्ये ४० प्रतिशत अर्थात् ५१ करोड महिला कोरोनाको कडा मार परेको क्षेत्रमा कार्यरत थिए । उनीहरूले या त रोजगारी गुमाएका छन्, या पारिश्रमिक कटौती अनुभव गरेका छन् ।

आइएलओले यसअघि मे महिनामा सार्वजनिक गरेको अध्ययन प्रतिवेदनमा यो वर्षको पहिलो त्रैमासमा विश्वव्यापी कार्यघन्टा ४ दशमलव ९ प्रतिशत कमी आई १४ करोड र दोस्रो त्रैमासमा १० दशमलव ७ प्रतिशतले घटेर ३० करोड ५० लाख पूर्ण रोजगारीबराबरको क्षति हुने आकलन गरेको थियो । तर, पाँचाैँ संस्करणको प्रतिवेदनमा विश्वव्यापी कार्यघन्टाको क्षति त्योभन्दा निकै उच्च पाइएको छ ।

अहिले महिला र पुरुषबीच २० प्रतिशतको विश्वव्यापी पारिश्रमिक अन्तर विद्यमान छ । विश्वका कुल महिला श्रमिकमध्ये ४० प्रतिशत अर्थात् ५१ करोड महिला कोरोनाको कडा मार परेको क्षेत्रमा कार्यरत थिए । उनीहरूले या त रोजगारी गुमाएका छन्, या पारिश्रमिक कटौती अनुभव गरेका छन् ।

यो प्रतिवेदनले विश्वव्यापी कार्यघन्टामा सन् २०२० को पहिलो र दोस्रो त्रैमासिकको क्षति क्रमशः ५ दशमलव ४ र १४ प्रतिशत रहेको देखाएको छ । जसअनुसार पहिलो त्रैमासमा १५ करोड ५० लाख र संक्रमण बढेर विश्व नै लकडाउनमा पुगेको दोस्रो त्रैमास अवधिमा ४० करोड पूर्ण रोजगारीबराबरको क्षति भएको उल्लेख छ । 
 
विश्वव्यापी रूपमा १४ प्रतिशतले कार्यघन्टा गुम्दा, क्षेत्रीय रूपमा सबैभन्दा बढी अमेरिकामा १८ दशमलव ३, युरोप एवं मध्य एसियामा १३ दशमलव ९, एसिया प्रशान्त क्षेत्रमा १३ दशमलव ५, अरब मुलुकको १३ दशमलव २ र सबैभन्दा कम अफ्रिकाको १२ दशमलव १ प्रतिशत कार्यघन्टा गुमेको छ । 

विश्व श्रम बजारमा अपेक्षा गरिएभन्दा ठूलो असर देखिएपछि आइएलओले श्रम बजारमा सुधार ल्याउन केही नीति सुझाब सिफारिससमेत गरेको छ । अधिकतम स्रोतहरूको परिचालन गरेर अर्थतन्त्रलाई चलायमान बनाउँदै रोजगारी टिकाउन, उद्यम, रोजगारी एवं आयलाई सहयोग गर्ने कार्यक्रम ल्याउन र कार्यस्थलमा कामदारको सुरक्षा एवं सामाजिक संवादमा ध्यान दिन भनेको छ । 

‘अर्काे हप्ता आइएलओेले कोभिड–१९ र त्यसले श्रम बजारमा पारेको प्रभावमाथि एउटा उच्च स्तरको भर्चुअल ग्लोबल समिट गर्दै छ । हामीले त्यस अवसरलाई समावेशी, समतामूलक एवं दिगो पुनर्बहालीको अवसर बनाउन रोजगारीका नवीन अवधारणा र मिलेर काम गर्ने योजनासहित आउनेछौँ,’ आइएलओका महानिर्देशक गाय राइडरले भनेका छन्, ‘हामीले अहिले लिने निर्णय सन् २०३० पछिसम्म पनि गुन्जिनुपर्छ । मुलुकहरू महाव्याधिको फरक–फरक चरणमा छन् । उनीहरूले थुप्रै काम पनि गरेका छन् । त्यसैले यो संकट टाल्न हामीले हाम्रो प्रयासलाई दुगुना बनाउनु छ ।’

आइएलओले यो वर्षको बाँकी समय तेस्रो र चौथो त्रैमासिकमा समेत विश्व श्रम बजारको पुनर्बहाली अनिश्चित र अपूर्ण हुने आकलन गरेको छ । विश्वले यही बेसलाइनमा बाँकी अवधिमा यो वर्ष विश्वव्यापी कार्यघन्टा ४ दशमलव ९ प्रतिशतले घट्ने र त्यसबाट १४ करोड पूर्ण रोजगारीबराबराको क्षति साक्षात्कार हुनेछ । तर, संक्रमणको दोस्रो लहर आयो भने यस्तो क्षति ११ दशमलव ९ प्रतिशत पुग्ने र ३४ करोड पूर्ण रोजगारीबराबरको क्षति हुनेछ । 

अहिले पनि (जुन १५ को तथ्यांकअनुसार) विश्वका झन्डै एकतिहाइ कामदार (३२ प्रतिशत) अत्यावश्यकबाहेकका कार्यस्थल बन्द भएको मुलुकमा बस्छन् । बाँकी ४२ प्रतिशत कामदार आंशिक बन्दबाट प्रभावित छन् भने १९ प्रतिशत कामदार केही निश्चित वर्ग वा क्षेत्रको कार्यस्थल बन्द भएका मुलुकमा छन् ।

यही बेसलाइन परिदृश्यमा ओइसिडी र इआइयू दुवैले रोजगारीमा उल्लेख्य सुधार हुने र यस्तो क्षति ४ दशमलव ९ प्रतिशतमा सीमित भई १४ करोड पूर्ण रोजगारीबराबरको मात्रै क्षति हुने अनुमान गरेका छन् । तर, अप्टिमिस्टक आउटलुकमा यो १ दशमलव २ प्रतिशतको हुनेछ भने पेसिमिस्टिक आउटलुकमा विश्वव्यापी कार्यघन्टामा लगभग १२ प्रतिशतले कमी आउनेछ । यसले ३४ करोड पूर्ण रोजगारीबराबरको खति हुनेछ । 

कार्यघन्टाको पहिलो त्रैमासिक क्षति सबैभन्दा बढी एसिया प्रशान्त क्षेत्रमा भएको छ । यो अवधिमा एसिया प्रशान्त क्षेत्रका १२ करोड ४० लाख पूर्ण रोजगारीबराबरको क्षति भएको थियो । 

दक्षिण एसिया

दोस्रो त्रैमासमा एसिया प्रशान्त क्षेत्रको कार्यघन्टामा साढे १३ प्रतिशतले कमी आउँदा यो क्षेत्रले २३ करोड ५० लाख पूर्ण रोजगारीबराबरको क्षति भोगेको छ । जुन पहिले १० प्रतिशतको हाराहारीमा हुने आकलन गरिएको थियो ।

त्यसमा पनि सबैभन्दा बढी मार दक्षिण एसियाली मुलुकमा परेको छ । यी मुलुकको कार्यघन्टा १७ दशमलव ९ प्रतिशत कम हुँदा ११ करोड पूर्ण रोजगारीको क्षति भएको छ । दक्षिण एसियाबाट पहिलो त्रैमासमा २ करोड १० लाख पूर्ण रोजगारीबराबरको कार्यघन्टा गुमेको थियो । 

महिला र पुरुषको पारिश्रमिक अन्तर अझै बढ्ने

त्यसैगरी, यो महाव्याधिले महिला र पुरुष कामदारबीचका अन्तरहरू थप फराकिलो बनाउने देखिएको छ । आइएलओका अनुसार सन् २०१९ मा महिला र पुरुष श्रमिकबीच २७ प्रतिशत बिन्दुको अन्तर थियो ।  न्यून एवं न्यून मध्यम आयस्तर भएका मुलुकका ९० प्रतिशत महिला श्रमिक अनौपचारिक क्षेत्रमा कार्यरत छन् । यो संकटले उनीहरूको पारिश्रमिक अन्तरमा समेत वृद्धि गर्नेछ ।

अहिले महिला र पुरुषबीच २० प्रतिशतको विश्वव्यापी पारिश्रमिक अन्तर विद्यमान छ । विश्वका कुल महिला श्रमिकमध्ये ४० प्रतिशत अर्थात् ५१ करोड महिला कोरोनाको कडा मार परेको क्षेत्रमा कार्यरत थिए । उनीहरूले या त रोजगारी गुमाएका छन्, या पारिश्रमिक कटौती अनुभव गरेका छन् ।

त्यसैगरी, विश्वका ५ करोड ५० लाख अर्थात् ७२ दशमलव ३ प्रतिशत घरेलु कामदारको रोजगारी गुम्न सक्ने जोखिम देखिएको छ । जसमध्ये ३ करोड ७० लाख महिला छन् । एसिया प्रशान्त क्षेत्रमा ५८.२ प्रतिशत घरेलु कामदार महिला छन् । युरोप र मध्य एसियाका ८६ प्रतिशत र अमेरिकाका ८८ दशमलव ५ प्रतिशत घरेलु कामदार महिला छन्, जो अधिकांश आप्रवासी कामदार हुने गरेका छन् ।