लैंगिक समानता कायम गर्न महिला कर्मचारी बढाउने बैंकहरु व्यवस्थापनमा पत्याउँदैनन्

लैंगिक समानता कायम गर्न महिला कर्मचारी बढाउने बैंकहरु व्यवस्थापनमा पत्याउँदैनन्


काठमाडौं – २०७८ सालको जनगणनाको तथ्यांक अनुसार नेपालमा महिलाहरूको संख्या १ करोड ४९ लाख र पुरुषहरूको १ करोड ४२ लाखभन्दा बढी छ । अर्थात्, नेपालमा महिलाहरूको संख्या कूल जनसंख्याको २ करोड ९१ लाखमध्ये आधाभन्दा बढी छ । प्रतिशतमा भन्नुपर्दा ५१.०२ प्रतिशत रहेका छन् ।

जनसंख्याका आधारमा आधाभन्दा बढी संख्यामा रहेका महिलाहरूमध्ये उच्च ओहोदामा पुगेर छुट्टै पहिचान बनाउनेहरू भने अझै पनि औँलामा गन्न सकिने अवस्थामा छ । तर, यतिबेला नेपालका महिलाहरूको परिचय र पहिचान यतिमा मात्रै सीमित छैन। चुनौतीलाई अवसरमा बदलेर अघि बढेका लगनशील, मिहिनेती र साहसी महिलाहरू पनि छन्, जो विभिन्न क्षेत्रका उच्च ओहोदामा पुगेका उत्कृष्ट उदाहरण पनि छन् ।

यिनै उदाहरणमध्येकी एक हुन् नेपाल राष्ट्र बैंककी सिनियर डेपुटी गभर्नर डा. नीलम ढुंगाना तिम्सिना । उनी नेपालको वित्तीय क्षेत्रमा छुट्टै पहिचान निर्माण गर्न सफल व्यक्तित्व हुन् । जो राष्ट्र बैंकको इतिहासमा पहिलो महिला डेपुटी गभर्नर बनिन् । केन्द्रीय बैंकको यो पदमा पुगेर देशलाई सेवा गर्ने उनी पहिलो महिला हुन् ।

जसकारण, ढुंगाना धेरै महिलाको प्रेरणाको स्रोत समेत बनेकी छिन् । ढुंगाना मात्रै होइनन् नियामक बैंकमा अन्य धेरै महिला कर्मचारी छन् । करिब २५ प्रतिशतभन्दा बढी महिला कर्मचारी राष्ट्र बैंकमा छन् जबकी तीन दशक अघिसम्म् महिला कर्मचारी ७/८ प्रतिशतको हारहारीमा थिए ।

यतिबेला केन्द्रीय बैंकमा मात्रै नभई अन्य बैंक तथा वित्तीय संस्थामा पनि महिला कर्मचारीको उपस्थिति बाक्लिँदै गएको छ । यता प्राइभेट बैंकहरुले महिला कर्मचारीको संख्या बढाउँदै जाँदा सरकारी बैंकहरुले पनि विभिन्न प्रणालीहरूमार्फत महिला कर्मचारीको सहभागिता वृद्धि गर्दै आएका छन् ।

व्यवस्थापन तहमा पुग्नै ‘सकस’

बैंकहरूले महिला कर्मचारीको संख्या बढाउँदै लैजाँदा महिलाहरूआर्थिकरूपमा सशक्त पनि हुँदैछन् । बैंकहरुले गरेको विभिन्न प्रयासहरूले सङ्ख्यात्मक उपलब्धि हासिल गर्दा गुणात्मक प्रगतिमा भने कमी देखिन्छ । जसको असर बैंकहरुको व्यवस्थापन तहमा महिलाको उपस्थिति न्यून देखिन्छ ।

केही वर्षअघि तत्कालिन मेघा बैंकको प्रमुख कार्यकारी बनेकी अनुपमा खुञ्जेलीले र कार्यवाहक प्रमुख कार्यकारी बनेकी रबिना देशराज जोशी नै वित्तीय क्षेत्रको पहिलो ‘फस्टम्यान’ बने । त्यसयता अहिलेसम्म महिलाहरु ‘फस्टम्यान’ बन्न सकेका छैनन् । हाल कतिपय बैंकहरुमा पुरुष कर्मचारीभन्दा महिला कर्मचारी बढी छन् । तर, व्यवस्थापन तहमा भने एक जना महिला पनि पुग्न सकेका छैनन् ।

बैंकिङ्ग क्षेत्रको व्यवस्थापन तहमा महिलाको सक्रिय सहभागिता नहुनुमा परम्परागत सोचाई समाजमा गहिरो रूपमा जरा गाडेर बसेकाले रहेको विज्ञहरूको बुझाइ छ । महिलाहरूमाथि घरायसी जिम्मेवारीको बोझ अझै पनि बढी हुने हुँदा धेरैले नेतृत्व तहको जिम्मेवारी महिलालाई नदिने गरेको पाइन्छ । नेतृत्व तहमा पुग्न आवश्यक पर्ने तालिम, अनुभव र अवसरहरूको कमीले पनि महिलाहरू बैंकको तल्लो तहमा सीमित रहेको अधिकांशको बुझाइ छ ।

कुन बैंकमा छैनन् महिला व्यवस्थापक ?

सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये आधा दर्जन बैंकको उच्च तहमा महिला व्यवस्थापक छैनन् । नबिल बैंक, सरकारी स्वामित्वको कृषि विकास बैंक, कुमारी बैंक, सिटिजन्स बैंक, एनएमबि बैंक र प्राइम कमर्सियल बैंकमा पनि महिला व्यवस्थापन तहमा छैनन् । विगतमा यीमध्ये कतिपय बैंकको उच्च तहमा व्यवस्थापनमा महिला भएपनि यतिबेला छैनन् ।

यसबाट, बैंकहरुले महिला कर्मचारीको संख्या बढाउँदै लगेपनि उच्च तहमा महिलालाई नपत्याएको वा नभेटेको प्रस्टिन्छ । समय–समयमा यी बैंकहरुले महिला सशक्तीकरण, क्षमता अभिवृद्धि, लैङ्गिक समानता र समावेशिताको प्रवर्द्धन गर्ने लक्ष्यसहित विभिन्न कार्यक्रम गर्दै आइरहेका छन् । यसबाहेक, मार्च महिनाभर देशव्यापी रूपमा विशेष कार्यक्रम आयोजना समेत गरे ।

यस्ता काम गर्दै गर्दा महिलालाई प्राथमिकतामा राख्ने गरेका छन् । तर, विविध कारणले बैंकहरुले नेतृत्व तहमा महिला नराख्नुमा बैंकको सञ्चालक समिति र राष्ट्र बैंकको फितलो नीतिगत व्यवस्था समेत हो । राष्ट्र बैंकले सञ्चालक समितिमा अनिवार्य महिला राख्नुपर्ने व्यवस्था गरेजस्तै व्यवस्थापन तहमा पनि अनिवार्य महिला हुनुपर्ने प्रावधान ल्याउनुपर्ने कतिपय बताउँछन्। कम्पनी ऐनले तीन वर्ष अगाडि पब्लिक कम्पनीमा एक जना महिला सञ्चालक अनिवार्य गरेपछि राष्ट्र बैंकले यसमा कडाइ गरिरहेको छ ।