शिथिल अर्थतन्त्रकाे असर, घरजग्गा बिक्रीको थलो बन्दै बैंक

शिथिल अर्थतन्त्रकाे असर, घरजग्गा बिक्रीको थलो बन्दै बैंक

              'गैह्रबैंकिङ्ग सम्पत्ति बढेको बढ्यै, ३८ अर्ब नाघ्यो' 


काठमाडौं – अर्थतन्त्रको शिथिलता गहिरिँदै जाँदा वाणिज्य बैंकहरु घरजग्गा बिक्री गर्ने थलो बन्न थालेका छन् । कोरोना महामारी, रुस युक्रेन युद्ध र पश्चिम एसियाको अशान्तिका कारण अर्थतन्त्रमा छाएको शिथिलता झनै गहिरिँदै जाँदै छ । फलस्वरूप: ऋणीहरूले ऋणको साँवा ब्याज बुझाउन नसक्दा बैंकहरुले धितो सकार्दै छन् ।

ऋणीबाट धितोकारुपमा सकारेको घरजग्गा लिलामीका लागि पत्रपत्रिका छ्यापछ्याप्ती छन् । तर, पनि किन्नेहरूको तुलनामा बिक्रीको चाप बढ्दा बैंक नै ‘रियलस्टेट’ कम्पनीको काममा व्यस्त बन्न थालेका हुन् । ऋणीबाट सकारेको सम्पत्ति बिक्री नहुँदा बैंकका वेबसाइट र राष्ट्रियस्तरका पत्रिकाहरू भरिभराउ छन् ।

ऋणीहरूले कर्जा समयमा नतिरेपछि बैंकहरुले धितो लिलामी गर्ने गर्छन् । आर्थिक मन्दी नहट्दा बैंकका ऋणीहरूले कर्जा तिर्न नसकेको अवस्थामा बैंकहरुले धितो अचल सम्पत्ति सकार्न र लिलामीको चाप परेको हो । यता बैंकहरु ऋणीबाट लिलामी गरेको धितो नै बेच्न नसकेर तनावमा छन् । धितो बिक्री नहुँदा बैंकहरुको गैह्रबैंकिङ्ग सम्पत्ति बढ्ने क्रम रोकिएको छैन ।

गैह्रबैंकिङ्ग सम्पत्ति बढ्दै जाँदा बैंकिङ्ग क्षेत्रमा एक किसिमको तनाव नै सिर्जना भएको छ । बैंक तथा वित्तीय संस्थाहरूको खराब कर्जा (एनपीएल) बढ्दै जाँदा पनि गैह्रबैंकिङ्ग सम्पत्ति निरन्तर बढिरहेको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाउँछ । बैंकमा थुप्रिँदो अचल सम्पत्तिका कारण वेबसाइट हेर्दा कुनै घरजग्गा कारोबार गर्ने कम्पनीको वेबसाइट हेरेको जस्तै अनुभूति पाइन्छ ।

नेपाल राष्ट्र बैंककाअनुसार एक वर्षको अवधिमा नै बैंक तथा वित्तीय संस्थाको गैरबैंकिङ्ग सम्पत्ति १६ अर्ब ३४ करोड थपिएको छ । केन्द्रीय बैंकका अनुसार कात्तिकसम्मको तथ्यांकअनुसार बैंक तथा वित्तीय संस्थाहरूको कुल गैह्रबैंकिङ्ग सम्पत्ति ३८ अर्ब २६ करोड नाघिसकेको छ । गत वर्षको कात्तिकसम्म भने बैंक वित्तीय संस्थाको गैह्रबैंकिङ्ग सम्पत्ति २१ अर्ब ९१ करोड रुपैयाँ बराबर रहेको थियो ।

अर्थतन्त्रमा गहिरिएको शिथिलताले धितो सकार्नुपर्ने स्थितिमा सकारेको घरजग्गा बिक्री हुने सम्भावना न्यून छ । यसैपनि पछिल्लो समय घरजग्गाको कारोबारमा मन्दी छाएको छ । ‘बैंकहरुको चिन्ताको विषय नै रिकभरी, खराब कर्जा र गैह्रबैंकिङ्ग सम्पत्ति बढ्नु हो,’ एक वाणिज्य बैंकका उच्च पदस्थका कर्मचारी भन्छन्, ‘घरजग्गाको बिक्री नहुँदा बैंकहरुले सकारेको लिलामी बिक्रीका लागि ‘रियलस्टेट’ कम्पनीको भूमिकामा देखिनुपर्ने बाध्यता आइलागेको छ ।’

नाफामा देखिएन गैह्रबैंकिङ्ग सम्पत्तिको प्रभाव

बैंकहरुको गैह्रबैंकिङ्ग सम्पत्ति बढ्दै जाँदा नाफामा पनि प्रभाव पर्ने गरेता पनि पछिल्लो तथ्यांकले भने यस्तो देखाएको छैन । वाणिज्य बैंकहरुले सार्वजनिक गरेको दोस्रो त्रैमासको वित्तीय विवरणअनुसार २० मध्ये ११ वटा बैंकको नाफामा सुधार आएको छ। यस्तै, ९ वटा बैंकको नाफाका गिरावट आएको छ ।

दोस्रो त्रैमासमा सबैभन्दा धेरै नाफा बढाउने बैंकमा प्रभु रहेको छ भने धेरै नाफा घट्ने बैंकमा एनआईसी एशिया बैंक रहेको दोस्रो त्रैमासको विवरणले देखाएको छ । नाफा वृद्धि गर्ने बैंकहरुमा प्रभु बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, ग्लोबल आईएमई बैंक, एनएमबी बैंक, एभरेष्ट बैंक, लक्ष्मी सनराईज बैंक, नेपाल एसबीआई बैंक, सानिमा बैंक, नबिल बैंक, हिमालयन बैंक र माछापुच्छ्रे बैंक रहेका छन् ।

नाफा घट्नेहरुमा स्ट्याण्डर्ड चार्टर्ड बैंक, प्राइम कमर्सियल बैंक, सिटिजन्स बैंक, नेपाल बैंक, कृषि विकास बैंक, सिद्धार्थ बैंक, राष्ट्रिय वाणिज्य बैंक, कुमारी बैंक र एनआईसी एशिया बैंक रहेका छन् । चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमासमा सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरुले २७ अर्ब ३६ करोड नाफा कमाएका छन् ।

राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार सबैभन्दा धेरै गैह्रबैंकिङ्ग सम्पत्ति हुने बैंकमा ग्लोबल आईएमई बैंक हो । बैंकको गैह्रबैंकिङ्ग सम्पत्ति ५ अर्ब ११ करोड रुपैयाँ बराबर रहेको छ भने सबैभन्दा थोरै गैह्रबैंकिङ्ग सम्पत्ति हुने बैंकमा नेपाल बैंक रहेको छ । यो बैंकको २० करोड गैरबैंकिङ्ग सम्पत्ति रहेको छ भने स्ट्याण्डर्ड चार्टर्ड बैंकको गैह्र बैंकिङ्ग सम्पत्ति शुन्य छ ।

राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेल बैंकहरूको निष्क्रिय कर्जा बढ्दै जाँदा प्रोभिजन पनि वृद्धि भएको बताउँछन् । पौडेलले भने, ‘बैंकहरूको निष्क्रिय कर्जा बढेर गएको छ, प्रोभिजन पनि बढ्दै गएको छ,’ कार्यकारी निर्देशक पौडेल भन्छन्, ‘वित्तीय प्रणालीबाट कर्जा लिएपछि कर्जा लिने पनि जिम्मेवार हुनुपर्छ ।’ पौडेलले बैंकहरूको निष्क्रिय कर्जा बढ्दै गैह्रबैंकिङ्ग सम्पत्ति पनि बढेको बताउँछन् ।