काठमाडौं – बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारीहरूले वित्तीय अस्पतालको तालमेल मिलाउन केन्द्रीय बैंकमा दौडधुप तीव्र बनाएका छन् । वित्तीय क्षेत्रमा कार्यरत कर्मचारीहरूले राष्ट्र बैंकलाई अर्थ मन्त्रालयसँग सहकार्य गरी वित्तीय अस्पताल सञ्चालनमा सहयोग गरिदिन आग्रह गर्दै केन्द्रीय बैंकको दौडधुप तीव्र पारेका हुन् ।
निजामती कर्मचारी, सेना/प्रहरी र उनीहरूका परिवारका लागि छुट्टै अस्पताल सञ्चालन तथा सेवा प्रदान हुँदै आइरहेको छ । यही उदाहरणलाई लिँदै बैंक तथा वित्तीय क्षेत्रका कर्मचारीलाई ‘फाइनान्सियल हस्पिटल’को माग राख्दै ‘लविइङ’ अघि बढाएका हुन् ।
नेपाल राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष गोविन्द प्रसाद सुवेदी वित्तीय क्षेत्रमा कार्यरत कर्मचारीका लागि वित्तीय अस्पताल सञ्चालनमा ल्याउनुपर्ने बताउँछन् । बैंकको संस्थागत सामाजिक उत्तरदायित्व (सिएसआर) को रकम परिचालन गरेर वित्तीय अस्पताल निर्माण गर्न सकिने भएकाले सरकार र केन्द्रीय बैंकले यसतर्फ सोच्नुपर्ने उनको भनाई छ ।
‘निजामती अस्पताल भनेर निजामती क्षेत्रका कर्मचारीको अस्पताल छ । यसरी नै बैंक तथा वित्तीय संस्थामा काम गर्ने कर्मचारीका लागि वित्तीय अस्पताल सञ्चालन गर्न केन्द्रीय बैंकले सहकार्य गर्नुपर्छ,’ उनले भने । वित्तीय अस्पताल निर्माण गरे सो क्षेत्रमा काम गर्ने कर्मचारी र कर्मचारीका परिवारले केही सुविधा पाउने उनको भनाई छ ।
वित्तीय अस्पताल किन ?
बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारीहरूलाई पेसागत तनाव, मानसिक दबाब र कार्यक्षेत्रका विभिन्न चुनौतीहरू हुने भएकाले सोहीअनुरूपको वित्तीय अस्पताल कर्मचारीले माग गरेका हुन् । वित्तीय क्षेत्रमा काम गर्नेहरूलाई सधैँजसो दबाब र तनावको सामना गर्नुपर्ने र आर्थिक निर्णयहरूको जिम्मेवारी राम्रोसँग पुरा गर्नुपर्दा व्यक्तिको मानसिक स्वास्थ्यमा नकारात्मक प्रभाव पर्छ ।
बैंकिङ्ग क्षेत्रमा काम गर्नेहरूले लामो समयसम्म संस्थाको काममा ध्यान दिनुपर्ने हुन्छ । काम गर्दै गर्दा कर्मचारीले आफ्नो स्वास्थ्यमा ध्यान दिन पाउँदैनन् । तर, यस क्षेत्रका लागि छुट्टै अस्पताल निर्माण गर्दा भने अस्पतालले उनीहरूको स्वास्थ्यमा सोहीअनुरूपको चेकजाँच गर्ने उनीहरूको बुझाई छ ।
के सम्भव छ वित्तीय अस्पताल ?
अधिकांशले वित्तीय अस्पताल सञ्चालन गर्न सम्भव भएको बताउँदै आएका छन् । यता बैंकिङ्ग विज्ञहरुले भने वित्तीय अस्पतालका लागि छुट्टै किसिमका स्रोत साधन आवश्यक पर्ने हुँदा सोको जोहो गर्न असहज हुने बताउँछन् । सबै क्षेत्रको लागि छुट्टाछुट्टै अस्पताल बनाउँदा सरकारलाई भार पर्ने हुनाले वित्तीय अस्पतालको अवधारणा राम्रो भए तापनि स्थापना गर्न नसक्ने बताउँदै आएका हुन् ।
क्षेत्रपिच्छे अलग अस्पताल निर्माण गर्दा अस्पतालले दिने सेवा सुविधाको गुणस्तर पनि खस्किँदै जाने उनीहरूको बुझाई छ । वित्तीय अस्पतालले वित्तीय क्षेत्रमा काम गर्नेहरूको कार्यसम्पादन सुधार गर्न र जीवनको गुणस्तर वृद्धि गर्न मद्दत पुर्याउने कर्मचारीको बुझाई छ ।
पूर्व गभर्नर भन्छन्, – वित्तीय अस्पताल चाहिँदैन
यता अधिकांशले भने नेपाल जस्तो मुलुकको लागि वित्तीय अस्पताल आवश्यक नभएको बताएका छन् । पूर्व गभर्नर दिपेन्द्र बहादुर क्षेत्री नेपालमा निजामती र प्रहरीका लागि बनाइएका अस्पताल पनि बढी भएको बताउँछन् । उनले नेपालमा ३ करोड मात्रै जनसंख्या भएकाले विभिन्न आधारमा अस्पताल निर्माण गर्न आवश्यक नरहेको बताएका हुन् ।
‘सबै क्षेत्रकालाई भिन्दाभिन्दै अस्पताल निर्माण गरिदिने हो भने कुनै पनि क्षेत्रमा आबद्ध नभएका सर्वसाधारणले चाहिँ कहाँबाट सेवा लिने,’ उनले बैंकिङ्ग समाचारसँग भने, ‘हरेक क्षेत्रलाई छुट्टै अस्पताल मलाई लाग्छ त्यो सम्भावना नै हुँदैन ।’
प्रतिक्रिया