ग्लोबल आईएमई बैंक १८ वर्षमा प्रवेश : मर्जरसँगै बैंकिङ्ग सेवा र पुँजीमा नम्बर वान्

ग्लोबल आईएमई बैंक १८ वर्षमा प्रवेश : मर्जरसँगै बैंकिङ्ग सेवा र पुँजीमा नम्बर वान्


काठमाडौं – ‘ग्लोबल आईएमई बैंक सबैका लागि बैंक’ मूल नारासहित स्थापना भएको ग्लोबल आईएमई बैंक १८ वर्षमा प्रवेश गरेको छ । सञ्चालनमा आएको १८ औँ वर्षमा प्रवेश गर्दै गर्दा आईएमई समूहले स्थापना गरेको ग्लोबल आईएमई बैंक बैंकिङ्ग सेवा तथा पुँजीको हिसाबले नेपालको नम्बर वान् बैंक बन्न पुगेको हो ।

ग्लोबल आईएमई बैंक नेपालको नम्बर वान् बैंक कसरी बन्यो भन्ने कौतुहलता सबैको मनमा जगाएको छ । बैंकको सफलताको कुरा गर्दै गर्दा बैंकको उदय कसरी भयो भनेर बुझ्नुपर्ने हुन्छ । जो कोहिले बैंकको बैंकिङ्ग करिअर थाहा पाउन सन् २००१ मा फर्किनुपर्ने हुन्छ । २००१ मा नेपालबाट वैदेशिक रोजगारीको लागि धेरै नेपाली मलेसिया गएका थिए । मलेसियामा बैंकिङ्ग सेवा भएपनि त्यतिबेला नेपाल पैसा पठाउन सहज थिएन ।

सोही समयमा बैंकका संस्थापक अध्यक्ष चन्द्र प्रसाद ढकालले वैदेशिक रोजगारीमा रहेका नेपालीले सहज रूपमा पैसा पठाउन सक्ने, नेपाल राष्ट्र बैंकमा विदेशी मुद्रा पनि आउने र केही मुनाफा समेत आर्जन हुने भएपछि आईएमई नाम गरेको रेमिट्यान्स कम्पनी स्थापना गर्ने सोच बनाएर कम्पनी स्थापना गरे । रेमिट्यान्स कम्पनी स्थापना गरेर काम गर्दै जाँदा रेमिट्यान्सको काम गर्न बैंक तथा वित्तीय संस्था चाहिने रहेछ भन्ने महसुस भएर ग्लोबल आईएमई बैंक स्थापना भएको ढकाल बताउँछन्। बैंक स्थापनाको समयलाई संस्थापक अध्यक्ष चन्द्र ढकाल यसरी सम्झिन्छन् ।

बैंकले काठमाडौंमा नै केन्द्रीय कार्यालय रहने गरी २०६३ सालमा १८ औँ वाणिज्य बैंकको रुपमा १ अर्ब ५० करोड चुक्ता पुँजीसहित स्थापना भएको हो । यतिबेला भने बैंकले आर्थिक वर्ष २०८०/८१ मा १२ अर्ब ४८ करोड रुपैयाँ सञ्चालन मुनाफा र ६ अर्ब १३ करोड रुपैयाँ करपछिको मुनाफा आर्जन गरेको थियो । बैंकले बोनस शेयर वितरणपछि बैंकको चुक्ता पुँजी ३८ अर्ब ११ करोड ५८ लाख रुपैयाँ पुग्ने आंकलन पनि गरेको छ ।

ग्लोबल आइएमई बैंकले हालसम्म धेरै वटा अवार्ड पनि प्राप्त गरेको छ । बैंकले ‘ग्लोबल फाइनान्स’ को ‘बेष्ट बैंक अवार्ड २०२४’ र ‘युरो मनी अवार्ड फर एक्सलेन्स २०२४’ अन्तर्गत दुई विधामा नेपालको सर्वश्रेष्ठ बैंकको रूपमा सम्मानित भएको छ । बैंकले अन्य विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ–संस्थाबाट समेत विशेष सम्मान प्राप्त गरेको छ ।

बैंकले स्थापना यतादेखि हालसम्म तत्कालीन ५ वटा वाणिज्य बैंक, १० वटा विकास बैंक र ६ वटा फाइनान्स कम्पनी गाभेको छ । बैंकको मर्जरको इतिहास २०६८ माघ २० देखि सुरु भएको थियो । ग्लोबल बैंकमा आईएमई फाइनान्स मर्जर भएर बनेको ग्लोबल आईएमई बैंकलाई नेपाली बैंक तथा वित्तीय संस्थामा मर्जरको उदाहरणको रूपमा लिइँदै आएको छ ।

बैंकले तत्कालीन आईएमई फाइनान्सिएल इन्स्ट्यिुटसँगै लर्डबुद्ध फाइनान्सलाई पनि गाभेको थियो । तीन संस्था गाभिएपछि संस्थाको नाम २०६९ असार २५ गतेदेखि ग्लोबल आईएमई रहेर एकीकृत कारोबार भएको थियो । बैंकले सोसल डेभलपमेन्ट बैंक र गुल्मी विकास बैंक पनि गाभ्यो । त्यसपछि कमर्स एन्ड ट्रस्ट बैंकलाई गाभेको बैंकले सन् २०१६ मा प्यासिफिक डेभलपमेन्ट बैंक र रिलायबल विकास बैंक पनि मर्ज भए । मर्ज भएको रिलायबल बैंकमा त्यसअघि नै कन्जुमर डेभलपमेन्ट बैंक लगायत तीन वटा विकास बैंक मर्ज भइसकेका थिए ।

त्यसपछि बैंकसँ हाथवे फाइनान्स गाभियो । त्यससँगै जनता बैंक ग्लोबल आईएमईमा मर्ज भयो । नेपालको बैंकिङ्ग इतिहासमा जनता र ग्लोबलको मर्जरलाई सबैभन्दा ठुलो र सफल मर्जरका रूपमा लिने गरिएको छ । त्यसपछि ग्लोबलले बैंक अफ काठमान्डुलाई गाभेर नेपालकै नम्बर वान बैंकको नाम कमाउन सफल भयो ।

बैंक अफ काठमान्डु पनि साबिकको बैंक अफ काठमान्डु र लुम्बिनी बैंक गरी २ वटा वाणिज्य बैंक आपसमा गाभेर बनेको थियो। ग्लोबल आईएमई बैंकले बैंकिङ्ग क्षेत्रमा भएको प्रविधिको विकासलाई पनि आत्मसात् गर्दै आइरहेको छ । बैंकले डिजिटल युगलाई मध्यनजर गर्दै आफ्ना ग्राहकका आवश्यकताअनुसारको सेवालाई डिजिटल पनि प्रदान गर्दै आइरहेको छ।